विकास, स्वयंसेवक र विदेशी विज्ञ

मेरो जीवनको तिन दसकभन्दा बढि समय बिभिन्न अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाहरुमा काम गरेर हालै मात्र नियमित जागिरबाट बिश्राम लिएको छु । अलिकति मानव सेवा र दाम पनि राम्रै हुने भएकोले मैले आफ्नो उर्जाशील समयको ठूलै भाग गैह्र सरकारी विकासे सस्थामै रमाए र बिताए । बितरणमुखी विकासको मोडल देखि सशक्तिकरण, क्षमता विकास, वकालत र पैरवी हुदै रुपान्तरण सम्मका आयातित विकासे मोडलमा काम गरें ।

मेरो अलिकति राजनीतिक चेतना र प्राय ब्यबस्थापकीय जिम्मेवारी भएको पदमा रहेको हुदा अन्तरास्ट्रिय विकास सस्थाहरुलाई बुझ्ने अवसर मिल्यो त्यसमा पनि सरकार, स्थानीय गैह्र सरकारी सस्थाहरु र निजि क्षेत्रसंग विकासे भाषामा “साझेदारीमा” काम गर्ने मौका मिल्यो । जागिरकै दौरानमा एशियाका अन्य देश, अफ्रिका र यूरोपका देशहरुमा भ्रमण र काम गर्ने अवसर समेतबाट अन्तरास्ट्रिय विकासे सस्थाहरुलाई नजिक बाट चिन्ने, बुझ्ने र अनुभूति समेत प्राप्त भयो । मेरा विकाशे अनुभवहरुको छुट्टै प्रकाशन हुनेछ र यहा मेरा केहि अनौठा प्रसगं स्मरण मात्र प्रस्तुत गर्ने अनुमति चाहन्छु । यी प्रसंगहरु लाई नै आधार बनाएर सबै बिदेशी विज्ञहरु लाई एउटै डालोमा राखेर मुल्यांकन चाहि नगर्नु हुन् समेत अनुरोध गर्दछु । किनकी एकाध विज्ञहरुले नेपालको विकासमा साच्चिकै योगदान पनि पुर्याएका छन ।

मैले आफ्नो जागिरको सुरुवात धार्मिक विश्वासमा आधारित (faith based) सस्थाबाट सुरु गरे । सो सस्थामा काम गर्न आउने सबै बिदेशीहरु प्रभुको आदेश अनुसार नेपालीको सेवा गर्न आएको बताउनु हुन्थ्यो । सबै फरर अंग्रेजी बोल्ने, झट्ट हेर्दा उमेर पनि अड्कल गर्न नसकिने, हाकिम भएपनि आफ्नो चिया, कफी आफै बनाउने र कप समेत आफै सफा गरेको देख्दा छक्क लाग्दथ्यो । सबै बिध्द्वान र अलौकिक लाग्थ्यो । उनीहरुको सेवा-भाव र लगनशीलता प्रसंशा योग्य हुन्थ्यो । आफु हिन्दु परिवार र समाजमा जन्मी हुर्केको भौतिकवादि भएको हुदा मलाई को हनुमान को प्रभु कुनै फरक थिएन तर पनि ति बिदेशी विश्वासीहरुको काम, गरिव र हिन्दु सस्कारको जातीय विभेदले गर्दा कथित तल्लो जात प्रतिको माया र सेवाभाव देख्दा सायद उनीहरुका “प्रभु” हाम्रा “देवी देवता” भन्दा असल हुन् कि जस्तो लाग्दथ्यो ।

बेलायतको कुनै जंगलमा रुख काट्दा काट्दै करौती र बन्चरो जंगलमै छोडेर नेपालमा सामाजिक विकास विज्ञ भएर आएका रहेछन ।

जव म कार्यालय गए त्यो महिनाको पहिलो दिन थियो र कर्मचारीहरुको तलव बितरण गर्ने दिन । कर्मचारीहरुको तलवी बिबरणमा नाम देख्दा म त छक्कै परे । सबै नाम अनौठा र कहिल्यै नसुनेका म्याथु, साईमन, पिटर, टिट्स, मिसेल, एडम, ईमा, सोफिया, डेनियल, थोमस, ओलिभर, अमेलिया, जोएल, डान, आदि ईत्यादि । मान्छे हेर्दछु सबै नेपाली जस्ता तर नाम चाहि उच्चारण गर्ने कठिन, कुरो बुझ्नै सकिन । हाम्रा नेपालीको नामको आधारमा को महिला हो को पुरुष हो छुट्याउन सकिने तर ति नाम मेरो लागि अपरिचित भएको हुदा छुट्याउन सकिन । मलाई लाग्यो कम्युनिष्ट पार्टीमा जस्तै विकासे सस्थामा पनि टेक नाम हुदो रहेछ । मैले पनि आफ्नो नाम राख्नु पर्दछ होला भनि मन-मनै सोचे । कुरो बुझ्दा हिन्दुहरुले देवी देवताको नामबाट नाम राखे जस्तै ति नाम पनि बाईवलबाट साभार गरिएका रहेछन । पछि बुझ्दै जादा थाहा भयो ति कुनै टेक नाम रहेनछन, कतिले जागिर खान, कतिले हिन्दु सस्कारको विभेद र अपहेलनाबाट जोगिन र कति चाही प्रभुको चमत्कारमा पानीमा चोपलिएरै प्रभुले बुझ्ने नाम राखेका रहेछन ।

एक पटक मैले काम गर्ने कार्यालयका कर्मचारीको नारायणप्रसाद गौतमको बुढि आमाको एपेण्टिसाईटिस बढ्यो र तत्काल अस्पताल लैजानु पर्ने भयो तर कार्यालयको सवारी साधन दिन मिलेन । त्यसपछिको शनिवार तिनै नारायणप्रसाद लाई स-परिवार चर्चमा आउने हो भने अफिसबाट सवारी साधन उपलब्ध हुने प्रस्ताव आयो । प्रभु प्रतिको आस्था कति जब्बर हुदो रहेछ मलाई अहिले सम्म झक-झकाई रहन्छ । जति संगति बढायो उति उनीहरुका प्रभु खुसि हुदा रहेछन र “पून्य” प्राप्त हुदो रहेछ । मैले कतै पढेको थिए पश्चिमाहरू गरिव देशहरुमा बाईबल बोकेर आउदछन् र फर्किदा त्यहाका जनतासंग बाईबल हुन्छ तर चलायमान सम्पति गायव हुन्छ । यसो गहिरिएर सोच्दा हो कि जस्तो लाग्यो । मैले यहा प्रवृतिको कुरो मात्र गरको हु र कसैको धार्मिक आस्थामा चोट पुगेमा क्षमा चाहन्छु ।

विकसित देशमा बेरोजगार भई बसेका र कतै कुनै प्राकृतिक विपत्ति होस् र ज्याक जस्ता लठ्ठकलाई रोजगारी सृजना होस् भनी ढुकेर बस्नेको समूह नै हुँदो रहेछ ।

मैले माथि नै उल्लेख गरिसके कि त्यो कार्यालयमा आउने बिदेशी स्वयं-सेवक (आफुलाई बिना तलवको स्वयं सेवक भन्थे र उनीहरुको सबै कारोवार छुट्टै मिसन कार्यालयबाट हुन्थ्यो) जस्तो सुकै कठिन परिस्थितिमा पनि प्रभुको निगाहा र सम्रक्षण हुन्छ र विश्वासीहरु सबै दिन-दुखीको सेवामा लाग्नु पर्दछ भन्थे । उनीहरु साच्चिकै न्युनतम भोतिक सुविधासमेत नभएको कठिन भौगोलिक क्षेत्रमा पनि काम गर्दथे । तिनै मध्येका एक हुन् माईक जोन्सन । उनि अमेरिकन नागरिक थिए र आफ्नो दुई नाबालक छोरी र श्रीमती सहित नेपालको एउटा दुर्गम बस्तीमा स-परिवार बसी सेवा गर्ने गरि नेपाल आएका थिए । मलाई अनौठो र आश्चर्य लाग्यो म आफु बाग्लुङ्गको गल्कोटमा जन्मी, हुर्की बढेको मान्छे पोखरा बस्न सुरु गरे देखि गल्कोट जादा कतै बच्चाहरु बिरामी हुन्छन कि जस्तो लाग्थ्यो । यी अमेरिकन परिवार त्यो पनि स-साना बच्चाहरुसंग त्यही बिकट भूगोलमा कसरि बस्दा हुन? यी त साच्चिकै कम्युनिष्ट भन्दा पनि प्रतिवद्द रहेछन । मैले उनलाई सोधे र उनको उत्तर सरल र सहज थियो यो सबै प्रभुको आज्ञा हो र उहाले नै पठाउनु भएको हुदा सबै उहाकै कृपाले ठिक गर्नु हुन्छ ।

दुर्गम क्षेत्रमा गएको झन्डै दुई हप्तापछि माईक हतारिदै मेरो अफिसमा आए र तुरुन्त मोटर आउने बाटोसम्म एउटा मोटरको ब्यबस्था गर्न अनुरोध गरे किनकी उनकी श्रीमति सिकिस्त बिरामी भएकी रहेछिन । भरियामार्फत मोटर सम्म र त्यसपछि काठ्माण्डौ ल्याएर उपचार गर्नु पर्यो । पछि उनको श्रीमति निको भै फर्केर आए पछि मैले सोधे, खै त तपाइको प्रभुले तपाई बसेकै ठाउमा उपचार गर्दिनु भएन? पहिले त प्रभुको कृपाले हामीलाई केहि हुदैन र भैहाल्यो भने उहाले नै सब ठिक गर्नु हुन्छ भन्नु हुन्थ्यो । मेरो प्रश्नले उनि रिसाए र थप कुरो गरेनन । त्यसको एक महिना पछि उनि आफ्नै देश फर्किए ।

मैले काम गर्ने सस्थाहरुमा मेरा हाकिमहरु प्राय सबै बिदेशीहरु नै थिए । मलाई के विस्वास थियो भने कुनै पनि सस्थामा हाकिम भएर आउने सबै पढे-लेखेका, अन्तरास्ट्रिय ज्ञान र अनुभवले खारिएका, देश-विदेश बुझेका हुन्छन जस्तो लाग्दथ्यो । नेपालमा आफ्नो छुट्टै पहिचान बनाएको एउटा ठूलो अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाको प्रमुखको प्रवेश आज्ञा (भिसा) लिनु पर्यो । सरकारी अधिकारीले उनको शैक्षिक योग्यताको प्रमाण खोजे जुन स्वाभाविक थियो । जब हामीले उनको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि माग्यौ उनि त स्टाण्डर आठ पासमात्र रहेछन ।

आफ्नै थात-थलोको जोहोसम्म गर्न नसक्नेले अझ फरक भौगोलिक, सामाजिक, सास्कृतिक र आर्थिक परिवेशको गरिवी र त्यसको निवारण कसरि गर्दिने होलान ?

बेलायतको कुनै जंगलमा रुख काट्दा काट्दै करौती र बन्चरो जंगलमै छोडेर नेपालमा सामाजिक विकास विज्ञ भएर आएका रहेछन । हामीले आफ्नो शिप, दक्षता, ज्ञान, प्रबिधि जस्ता आफ्नै मौलिक र पराम्परागत कुराहरु छोड्दै जादा खाली ठाउ भर्ने भनेको यस्तै विज्ञहरुले नै हो । गाउ-घरको ताजा मोही पिउन छोडेर कोक पिउदा ईज्जत र सम्मान महसुस गर्ने हामीले पाउने विज्ञ पनि यस्तै हो जस्तो लाग्यो ।

मलाई लाग्थ्यो पश्चेमेलीहरु धरै धनि हुन्छन र छन् पनि । एकपटक एक जना गरिवी निवारण विज्ञको रुपमा नेपाल आएकी एउटी बिदेशी आफ्नो कार्यकाल सकाएर फर्कने बेला भयो । सस्थाको नियम अनुसार उनको फिर्ता हुने हवाई टिकट सस्थाले नै व्यवस्था गर्नु पर्दथ्यो । हामीले उनि फर्कने उनको देशको हवाई अड्डाको ठेगाना माग्यौ तर अचम्मको कुरो आफ्नो देशमा उनको कुनै सम्पति र ठेगाना नै रहेनछ । जसको आफ्नै देशमा आफ्नो ठेगाना छैन उ हाम्रो देशको गरिवी निवारण विज्ञ ! उनी संग बर्गीय माया त थियो होला तर आफ्नै थात-थलोको जोहोसम्म गर्न नसक्नेले अझ फरक भौगोलिक, सामाजिक, सास्कृतिक र आर्थिक परिवेशको गरिवी र त्यसको निवारण कसरि गर्दिने होलान ? तर पनि हामि नेपाली यस्तै विज्ञबाट हाम्रो गरिवी निवारण गराउने आशाको पछि लागिरहेका छौ ।

भुईबर्गका जनताको उन्नतिको लागि आय आर्जन एक प्रमुख बिकल्प हो । युरोपको एक देशको आर्थिक र त्यहाको एक प्रसिद्ध विश्वविधालयको प्राबिधिक सहयोगमा नेपालमा एउटा परियोजना संचालन गरिएको थियो । जतिसुकै अवस्थाको विश्नेषण गरे पनि अन्तमा संचालन गरिने क्रियाकलाप चाहि सिलाई-कटाई र बाख्रा पालन हुन्थे । नेपालको सुदुर पश्चिममा बाख्रा पालनको कार्यक्रम संचालन गरियो । त्यसको अनुगमन गर्ने युरोपबाट बाख्रा विज्ञको टोलि आयो । त्यो टोलि फिल्ड अनुगमनको लागि जव समुदायमा गयो अनि तिनीहरुको विज्ञता देखियो । बाख्रा पालक किसानले बाख्रा देखाए र विज्ञको टोलीले बाख्राको कान, सिङ्ग, मुख आदिको सुक्ष्म निरक्षण र नाप-जाच गरे र अर्को किसानको घरमा बाख्रा हेर्न गए ।

यसरी तिन वटा घरमा बाख्रा हेरेर नाप-जाच गरेपछि तिनीहरु छक्क परे र “हाउ आईडेण्टिकल” भनि टिप्पणी गरे । कुरो खासमा त्यो गाउमा एउटा मात्र बाख्रा पालिएको रहेछ र अनुगमन टोली घुमाउरो बाटो जादै गर्दा त्यही एउटा बाख्रा छोटो बाटो मार्फत अनुगमन टोलि आउनु अगाडी नै त्यहा पुर्याईदो रहेछ । तीन वटा घरमा एउटै बाख्रो पुर्याईदा समेत चाल नपाउने विज्ञहरुले परियोजना सफल-उन्मुख रहेको प्रतिवेदन दिएर फर्किय ।

बिकसित देशमा बेरोजगार भै बसेका र कतै कुनै प्राकृतिक विपत्ति होस् र ज्याक जस्ता लठ्ठकलाई रोजगारी सृजना होस् भनि ढुकेर बस्नेको समुह नै हुदो रहेछ ।

जुनबेला नेपालमा माओबादी सशत्र सस्सत्र जनयुद्द थियो त्यो बेला नेपालमा सुरक्षा विज्ञको बाढिनै हुन्थ्यो । मैले काम गर्ने सस्थामा एक जना खारिएका भनिएका सुरक्षा विज्ञ आए । लामो अनुसन्धान, अन्तरक्रिया, विश्लेषण पछि के गर्ने के नगर्नेको फेरिहस्त रिपोर्ट दिए । जसमा मानौ सबै मानिस आतङ्गकारी हुन् र सबैबाट सुरक्षा खतरा हुन्छ, टोपी लगाएको संग पनि जोगिनु पर्ने टोपी नलागेको संग पनि जोगिनु पर्ने, बाटोमा अगाडि पनि नहिड्नु, बिचमा पनि नहिडनु, पछाडी पनि नहिड्नु, कच्ची बाटोमा पनि नहिडनु, पिच बाटोमा पनि नहिडनु जस्ता सिफारिस थिए । पछि बुझ्दै जादा ति विज्ञ त भर्खर आफ्नो देशको सेनाबाट बर्खास्त गरिएका सिपाही मात्र रहेछन ।

नेपालमा सन् २०१५ को महा भूकम्पपछि विदेशी राहत सगै विदेशीहरुको पनि ओईरो लाग्यो र त्यही ओईरोमा आउने मध्येका एक थिए ज्याक । उनी नेपालमा आपतकालीन सहायता विज्ञको रुपमा नेपाल आएका थिए । बिस्तारै बुझ्दै जादा ज्याकलाई कम्प्युटर संचालनको सामान्य ज्ञान पनि रहेनछ । पढाई पनि भर्खर ईतिहासमा स्नातक पढेर नतिजाको प्रतिक्षामा रहेछन । बिगतमा आपतकालीन सहयोगको कुनै पनि ज्ञान वा अनुभव रहेनछ । बिकसित देशमा बेरोजगार भै बसेका र कतै कुनै प्राकृतिक विपत्ति होस् र ज्याक जस्ता लठ्ठकलाई रोजगारी सृजना होस् भनि ढुकेर बस्नेको समुह नै हुदो रहेछ ।

विदेशी विज्ञको हैसियतमा नेपालमा आउनलाई केहि मापदण्ड छन् तर विकासे सस्था संगै आउने पैसा र पैसाले पार्ने प्रभावले गर्दा प्रभावकारी कार्यान्वयन भएको पाइदैन । नेपालका गरिव र पछाडी पारिएका समुदायको नाममा आएको रकमबाट महिनाको लाखौ खर्चेर अझै पनि कति माथि उल्लेख गरीए जस्ता विदेशी विज्ञहरु नेपालमा कार्यरत छन् त्यसको हिसाव-किताव न सरकार संगै छ न कुने गैह्र सरकारी सस्था संग ।

नेपाललाई आवश्यक पर्ने र नेपालमा उपलब्ध नभएका वा अपुग विज्ञ मात्र नेपालमा काम गर्न आउन पाउने ब्यबस्थालाई कडाईका साथ् पालन गरे नेपालको नाममा आएको अर्बौ रुपिया नेपालमै रहने र हाम्रा नेपाली जतिसुकै विज्ञता भए पनि पनि विदेशी विज्ञहरुको झोला बोक्नबाट मुक्तभै परिष्कृत हुने अवसर हुने थियो ।
Twitter: @KhadagaPandey