पोखरा १७ को खेलकुद सप्ताह १२ देखि १७ गतेसम्म

पोखरा महानगरपालिका वडा नं १७ ले खेलकुद यही जेठमा सप्ताह आयोजना गर्दै छ । खेलकुदमार्फत प्रतिभा पहिचान गर्न आयोजित सप्ताह मंगलबार १२ गतेदेखि १७ गतेसम्म चल्नेछ ।

खेलकुद सप्ताह मंगलबार बिहान वडा कार्यालय परिसर डेमसाइडमा पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गर्ने तय छ । वडाध्यक्ष राधिकाकुमारी शाहीले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिँदै खेलकुदका क्रियाकलापमा सहभागिताका लागि खेलाडीसहित दर्शकका रुपमा टोल विकास संघ, खेलकुदका संघ, संस्था, विद्यार्थी, महिला तथा आमा समूहसहित वडाबासीलाई अनुरोध गरेकी छन् ।

खेल सप्ताहमा ५ खेलमा प्रतिस्पर्धा हुँदै छ । खेलकुद सप्ताह अन्तर्गत पाँचौ वडाध्यक्ष कप फुटबल, दोस्रो सडक दौड, दोस्रो वडा अध्यक्ष कप खुला पुरुष डबल्स मिलीजुली ब्याडमिन्टन प्रतियोगिता, विद्यालय छात्र, छात्रा ब्याडमिन्टन, विद्यालयस्तरीय हाजिरी जवाफ र चौथो वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता तय छन् ।

प्रतियोगिताका लागि ड्यामसाइड क्लब, पोखरा स्पोर्ट्स एण्ड ब्याडमिन्टन क्लब, छहारी टोल विकास संस्था, माइण्ड फ्रेस चेस क्लब र वडा बाल मञ्च र छहारी टोल विकास संस्थाले सहआयोजकका रुपमा सहकार्य गरेको प्रतियोगिताका सञ्चार संयोजक वडा सदस्य विक्रम गुरूङले बताए ।

प्रतियोगितामा विजेतालाई नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । सप्ताहव्यापी खेलकुद कार्यक्रममा वडाभित्र रहेका २४ विद्यालयहरुको सहभागिता रहने भएको छ ।

खेल सप्ताह गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएकोमा १० लाख वडा कार्यालयले विनियोजन गरेको छ भने बाँकी ५ लाख सहआयोजकहरुले व्यवस्थापन गर्ने वडा सचिव सुरेन्द्रप्रसाद शर्माले बताए । प्रदेश प्रहरी गणको खेल मैदानमा हुने फुटबल प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र प्रोत्साहन स्वरुप क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगदका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

चेस र हाजिरीजवाफ प्रतियोगिता वडा कार्यालयको सभाहलमा हुने छन् भने ब्याडमिन्टन पोखरा स्पोर्ट एन्ड ब्याडमिन्टन क्लमा हुनेछ । दोस्रो सडक दौड प्रतियोगिताका चार विधाका दौड भने तीनकुने चोक घारीपाटनदेखि छोरेपाटनसम्म हुने छन् । खुला महिला, खुला पुरुष, विद्यालय छात्र र छात्राका दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ८ हजार, ५ हजार र २ हजार पाउनेछन् ।

खुला पुरुष डबल्स ब्याडमिन्टनमा पहिलो हुने जोडीले ८ हजार, दोस्रोले ५ हजार र तेस्रो हुने २ टिमलाई २५ सयका दरले पुरस्कार दिइनेछ । छात्र, छात्रा ब्याडमिन्टनका विजेताले भने गिफ्ट ह्याम्पर पाउनेछन् । हाजिरीजवाफमा पहिलो, दोस्रो, तेस्रो र प्रोत्साहन पुरस्कार क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार छ । यस्तै चेस प्रतियोगिताका छात्र र छात्र विधामा प्रथम, द्धितीय, तृतीय र प्रोत्साहन पुरस्कार क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।