त्रिभुवन विश्वविद्यालयले पोखरास्थित पृथ्वीनारायण (पिएन) क्याम्पसलाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्न सक्ने संस्थाका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ ।
विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरेको तीनमहिने कार्यप्रगति विवरणमा पिएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने तयारी भइरहेको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयको ठूलो आकार र विद्यार्थी सङ्ख्याका कारण व्यवस्थापन, अनुगमन तथा परीक्षा प्रणालीलाई प्रभावकारी बनाउन विश्वविद्यालयको पुनर्संरचना गर्ने राष्ट्रिय शिक्षा नीति, २०७६ को व्यवस्थाअनुसार यो प्रक्रिया अघि बढाइएको हो ।
राष्ट्रिय शिक्षा नीतिको उच्च शिक्षा खण्डको प्रकरण १०.१४.६ मा त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्ने नीति समेटिएको छ । सोही नीतिलाई कार्यान्वयन गर्ने उद्देश्यले विश्वविद्यालयको रणनीतिक योजना र दृष्टिकोणअनुसार पिएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु गरिएको आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसीका अनुसार क्याम्पसलाई स्वायत्त संस्थामा रूपान्तरण गर्दा शैक्षिक तथा प्रशासनिक सेवा प्रवाह विकेन्द्रित हुनेछ । त्यसैगरी पाठ्यक्रम विकासमा संस्थागत स्वायत्तता बढाउनुका साथै परीक्षा सञ्चालन र नतिजा प्रकाशन प्रक्रियालाई सरल तथा प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
आयोगको प्रगति विवरणमा अनुसन्धान र शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोत, प्रशासनिक संरचना र कानुनी व्यवस्थाको मूल्याङ्कन गरी कार्ययोजना तयार गर्ने काम अघि बढेको उल्लेख छ । तयार हुने कार्ययोजनालाई कार्यान्वयनमा लैजाने प्रक्रियासमेत अगाडि बढाइएको आयोगले जनाएको छ ।






