काठमाडौं मेयरमा उठ्ने घोषणा गरेकी सुमना को हुन् ?

गत वर्षको भदौ २४ को घटनापछि रास्वपा छाडेकी सुमना श्रेष्ठले काठमाडौं महानगरको मेयरमा उठ्ने घोषणा गरेकी छन् ।

पूर्व शिक्षामन्त्रीसमेत रहेकी सुमनाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी स्थानीय तहको निर्वाचनमा महानगरको मेयरमा उम्मेदवारी दिने जनाएकी हुन् ।

उनले आफ्नो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनी अहिले कुनै पार्टीमा आबद्ध छैनन्। कुनै पार्टीबाट लड्ने कि स्वतन्त्र भन्ने पनि उनले खुलाएकी छैनन्।

रास्वपाकी सहमहामन्त्रीसमेत रहेकी सुमना २०७९ मा समानुपातिकबाट सांसद हुँदा शिक्षामन्त्री बनेकी थिइन् । सुमनाको चर्चित छविले मुख्यगरी रास्वपा र अरु पार्टीका मेयर उम्मेदवारलाई पनि चुनौती दिन सक्छ ।