रवि ३ दिन जनकपुर बस्ने, छठपूजादेखि भेटघाटसम्मका कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने आज जनकपुरधाम जाँदै छन् । पत्नी निकिता पौडेलसहित जनकपुर आउन लागेका लामिछाने छठको पूजामा सहभागी हुनुका साथै धार्मिक स्थलको भ्रमण र पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने तय छ ।

उनी शनिबार दिउँसो जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रमपछि पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया हुने जनाइएको छ ।

साँझ छठ पर्वको पूजामा सहभागी हुने लामिछाने आइतबार मठमन्दिरहरूको दर्शन गर्ने र सोही दिन दिउँसो गंगासागरमा आयोजना हुने छठ पर्वको पूजामा सहभागी हुनेछन् ।

सोमबार बिहान छठ घाटमा हुने पूजा–आराधना तथा अर्घ्य अर्पण कार्यक्रममा सहभागी भई उनी राजधानी फर्किने तय छ । सबैभन्दा ठूलो दल रास्वपाका सभापति लामिछानेले सांस्कृतिक, धार्मिक कार्यक्रममा सहभागी भई सहजीकरण र समन्वयको भूमिका निर्वाह गर्न खोजेको देखिएको छ ।