व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजनामा १३ प्रकारका सीपमूलक तालिमहरु मंगलबारबाट सुरु भएका छन् । ३ महिने तीन सय ९० कार्यघन्टे १३ तालिमका १४ सेसनमा ३ सय ७ जना सहभागी छन् ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीका निमित्त सचिव घनश्याम पौडेलले तालिमहरु सुरुआत गरे । उनले सीपमूलक तालिमको माध्यमबाट सीपलाई व्यवहारमा उतार्न सकिने उल्लेख गरे ।
पौडेलले भने, ‘यस्ता तालिमले आर्जित सीपलाई व्यवहारमा उतार्न सिकाउँछन् । युवालाई देशमै रोजगार र स्वरोजगार बनाउँछन् ।’ तालिम लिएर वैदेशिक रोजगारमा गए पनि राम्रो आम्दानी र सहज काम पाइने उनले औंल्याए ।
गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान पोखराका उपसचिव रामप्रसाद आचार्यले राज्यले लगानी गरी दिएको तालिमको सदुपयोग गर्दै आत्मनिर्भर बन्न अनुरोध गरे । उनी भन्छन्, ‘यस्तो तालिमले अध्ययन र कार्यान्वयनबीचको ग्याप पूरा गर्छ ।’

केन्द्र अनिल सुवेदीले केन्द्र दिने तालिमहरुबारे प्रकाश पारे । उनले २०४२ सालमा स्थापना भएको केन्द्र २०७५ सालमा प्रदेशमा हस्तान्तरण भई अहिले रोजगार र स्वरोजगारमूलक तालिम केन्द्रको अग्रणी संस्था बनेको बताए । ‘चाँडै कार्पेन्टर, केयरगिभर जस्ता तालिम पनि थाल्ने योजना बनाएका छौँ,’ उनले भने, ‘तालिमका प्रशिक्षार्थीहरुलाई तालिम सकिएको बढीमा एक महिनाभित्रै कामा लाग्न अनुरोध गर्छु ।’

कार्यक्रममा केन्द्रकी अधिकृत विष्णुदेवी पोखरेल, प्रशिक्षक गीता बस्याल लगायतले बोलेका थिए । केन्द्रले गत वर्ष ३८ समूहमा सात सय ९६ जनालाई तालिम दिएको थियो । दुई हजार छ सय ३६ जनाले तालिममा सहभागिताका लागि आवदेन दिएका थिए ।
यो केन्द्रको कार्यक्षेत्रमा गण्डकी प्रदेशका कास्की, मनाङ, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ र नवलपुर गरी सात जिल्ला पर्छन् ।






