नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले फेरि सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।
आजबाट काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलामा उनले यसअघि पनि एमाले संघर्षकै मैदानबाट सरकारमा गएको भन्दै कसैको कृपा जरुरी नहुने जनाए । उनले भने, ‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौं । जनताको कृपाले गएका हौं ।
एमाले फेरि सरकारमा जाने र देशको समृद्धिको नेतृत्व गर्ने उनको भनाइ छ । ओलीले भने, ‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले ।’
ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने वाचा गरेको जनाए । उनले आफूहरू राणा, राजा र पञ्चायतविरुद्ध समेत लडेर आएको प्रसंग झिक्दै प्रहरी प्रशासनले मजाक गरेको जिकिर गरे ।
उनले भनेका छन्, ‘तिनि जन्मनुअघि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिंडिरहेका छौं । मजाक गर्ने हामीमाथि ?’ उनले प्रमाण भए आफूहरूलाई समातेर थुनिदिन समेत चुनौती दिएका छन् ।
उनले भनेका छन्, ‘थुने हुन्छ नि समातेर । जो आउँछ थुनिदिन्छु, क्या हो यो ? हामी मजाकका पात्र हौं ठट्टाजस्तो भएको छ यहाँ, थुनिदिन्छु । प्रमाण भेटे अरे, प्रमाण भेटे र उनी पनि थुनिन्छन् होला नि, अरु पनि थुनिन्छन् होला नि ।’






