पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित भएका छन् । संघको शनिबार भएको १३ औं अधिवेशनबाट सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चुनिएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा जनकराज सुवेदी, उपाध्यक्ष तीर्थराज देवकोटा, महासचिव दुर्गानाथ लामिछाने, कोषाध्यक्ष बुद्धिबहादुर थापा र सचिवमा बिदुर बिसी निर्वाचित भए । सदस्यमा अर्जुन त्रिपाठी, धनबहादुर झेन्डी, नवीन रोक्का, दिलीप श्रेष्ठ, अमिस गौतम र भोजबहादुर नेपाली निर्वाचित भएका छन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले संघले प्रकाशन गरेको स्मारिका विमोचन गरिन् । उनले विभिन्न वस्तुगत संघको क्रियाशीलताले नै पोखरा उद्योग वाणिज्य संघ जीवन्त बनेको सुनाइन् । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सामाजिक उत्तरदायित्व वहन गर्दै व्यवसाय गर्न आग्रह गर्दै व्यवसायीलाई वैधानिक रुपमा काम गर्दा गर्दै पनि कुनै अप्ठेरा आउन नदिने प्रण गरे ।

संघका अध्यक्ष चिन्तामणि खरेलले आफ्नो कार्यकालमा सघाउने सबैप्रति आभार प्रकट गरे । पूर्वअध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयनका लागि सहजीकरण गरेको थियो । नवनिर्वाचित अध्यक्ष सापकोटाले इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीका समस्या र सरोकारलाई सम्बोधन गर्न सामूहिक रुपमा काम गर्ने वाचा गरे ।






