नेपथ्य लाइभ इन शुक्लागण्डकीको ‘एजुकेशनल पार्टनर’ मा लिटल गार्डेन

दुलेगौंडा– नेपथ्य लाइभ इन शुक्लागण्डकीको एजुकेशनल पार्टनरमा लिटल गार्डेन इङलिस बोर्डिङ स्कुलले सघाउने भएको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा रहेको विद्यालयले ‘एजुकेशनल पार्टनर’ मा सघाउने सम्झौता गरेको हो । बिहीबार नेपथ्य लाइभ इन शुक्लागण्डकीको विज्ञापन संयोजक बुद्धिबहादुर थापा, आयोजक लायन्स क्बल अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्रबहादुर ढुंगानाले विद्यालयकी निर्देशक प्रतिभा लामीछाने पौडेलसँग सम्झौता गरे ।

शिक्षामा संगीतलाई जोड्न पाएकोमा उत्साहित भएको निर्देशक लामीछानेको भनाइ छ । ‘नेपाथ्य लाइभ इन शुक्लागण्डकीको एजुकेशनल पार्टनर हुन पाएकोमा उत्साहित छौं’, उनले भने, ‘सहकार्यले दुवै क्षेत्रलाई फाइदा पुग्ने विश्वास छ ।’ नेपथ्य लाइभ इन शुक्लागण्डकी सफल हुने उनले बताइन् ।

विज्ञापन संयोजक बुद्धिबहादुरले शुक्लागण्डकीलाई चिनाउदै शिक्षा क्षेत्रमा सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको बताए । शिक्षा क्षेत्रबाट प्राप्त सहयोगले हौसला थपेको उनको भनाइ थियो ।
‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ आगमी मंसिर १२ गते भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा हुदैछ । शुक्लागण्डकीकै ऐतिहासिक सांगीतिक उत्सवको रुपमा मनाउने तयारी छ । विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष ढुंगानाले बताए । कन्सर्टमा १० हजार संगीतप्रेमीलाई झुमाउने तयारी छ ।

लायन्स इन्टरनेशनलको ‘पढाऊ’ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले साङ्गतिक कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक खुमबहादुर विक ‘राजु’ ले बताए । बचत रकमले विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोसाक वितरण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजलाई जोड्ने, सकारात्मक सन्देश प्रवाह गर्ने र सामाजिक अभियानलाई उकास्ने एक प्रभावकारी माध्यम भएको उनले सुनाए । त्यही माध्यमले तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ, गोरखा, पाल्पा र आसपासका तमाम संगीतप्रेमी, विद्यार्थी, युवा, व्यवसायी, उद्यमी, पेसाकर्मी तथा सर्वसाधारणलाई एउटै सांगीतिक मञ्चमा जोड्ने दाबी छ ।