राइड सेयरिङको भाडादर तय, केमा कति ?

गण्डकी प्रदेश सरकारले यो सेवा दिने सवारीहरुको भाडादर तोकेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले हालै नियमावली बमोजिम मन्त्रिस्तरीय निर्णयबाट भाडादर तोकेका हुन् ।

अब सेवाग्राहीले राइड सेयर सेवामा चारपाङ्ग्रे सवारी साधन प्रयोग गर्दा चढ्नासाथ सुरुवाती भाडा ६० रुपैयाँ तिर्नैपर्नेछ । जतिसुकै कम दूरीमा यात्रा गरे पनि सुरुआती भाडा ६० रुपैयाँ र दुई किलोमिटरको भाडा ९७ रूपैयाँ गरी न्यूनतम एक सय ५७ रुपैयाँ तिर्नुपर्नेछ ।

त्यसपछि प्रति किलोमिटर भाडा ४८ रुपैयाँ ५० पैसा तोकिएको छ । यसरी तोकिएको भाडादरमा पेट्रोलियमबाट चल्ने सवारीले १० प्रतिशत र विद्युतीय सवारीले १५ प्रतिशत छुट दिनुपर्ने छ ।

आधार भाडा, न्यूनतम दुई किमीको भाडा र त्यसपछि प्रतिकिलोमिटरको भाडा एपमा नै देखिने गरी कम्पनीले व्यवस्था गर्नुपर्ने हुन्छ । दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरमा राइड सेयरिङको सुरुवाती मूल्य ३० रुपैयाँ तोकिएको छ । त्यसपछि प्रतिकिलोमिटर १६ रुपैयाँ ८५ पैसा भाडादर तोकिएकोमा दुई पाङ्ग्रेको सुविधा लिँदा आधार भाडा र न्यूनतम एक किलोमिटरको आधार भाडा तिनुपर्नेमा छ ।

यसरी, जतिसुकै कम दूरीमा यात्रा गरे पनि न्यूनतम ४८ रुपैयाँ ८५ पैसा तिर्नुपर्ने छ । दुई पाङ्ग्रे सवारीले पनि पेट्रोलियमबाट चल्ने भए १० प्रतिशत र विद्युतीय भए १५ प्रतिशत छुट यात्रुलाई दिनुपर्ने छ ।

सेवा दिने कम्पनीले यो शुल्कमा अरु कुनै रकम जोड्न पाउने छैनन् । गण्डकीमा यातायात व्यवस्था कार्यालयहरुमा राइड सेयरिङ चलाउने कम्पनीहरुको दर्ता लगायतका प्रक्रिया सुरु भइसकेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।