‘झ्यालैमा’की मोडेल गुरुङ ‘युनिभर्सिटी अफ गुण्डाज’बाट नेपाली फिल्ममा डेब्यु गर्दै

नेपाली र जापानी दुवै संस्कृतिमा हुर्केकी प्रतिभावान सुन्दरी मीना योसिदा गुरुङले आगामी चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ (University of Gundas) मार्फत नेपाली रजतपटमा औपचारिक डेब्यु गर्ने भएकी छिन्।

उनले यस फिल्ममा मुख्य अभिनेत्रीको भूमिका निभाउने छिन्। यस चलचित्रमा उनी नेपाली सिनेमाका चर्चित अभिनेताद्वय सलिन मान बनियाँ र सलोन बस्नेतसँग सहकार्य गर्दैछिन्।

५ फिट ७ इन्च अग्ली मीना जापानी नागरिक हुन्। नेपाली बुबा र जापानी आमाकी एक्ली सन्तान उनी जापानमा मोडलिङ, इभेन्ट डिरेक्सन र सोसल मिडिया इन्फ्लुएन्सरका रूपमा सक्रिय छिन्। एउटा औपचारिक पार्टीमा भएको भेटपछि उनलाई यस फिल्मको मुख्य भूमिकाका लागि छनोट गरिएको छ।

जापानमा बस्दै गर्दा पनि उनको नेपाली भाषामा बलियो पकड रहेको निर्माण पक्षले जनाएको छ।

मीनाले भनिन्, “मलाई सानैदेखि फिल्ममा निकै रुचि थियो। यसैका लागि मैले हाईस्कुलमा चार वर्षसम्म अभिनय कक्षा लिएँ र अहिले विश्वविद्यालयमा पनि फिल्मसम्बन्धी कक्षाहरू लिइरहेकी छु।” उनी विभिन्न पात्रहरूमा जीवन्त अभिनय गर्दै क्षेत्रमा थप सिक्दै जाने सोचमा छिन्। भविष्यमा राम्रा र चित्तबुझ्दा कथाहरू आएमा नेपाली फिल्म क्षेत्रमा निरन्तर काम गर्ने उनको बलियो इच्छा रहेको पनि उनले बताइन् .

झ्यालैमा’ म्युजिक भिडियो पहिल्यै हिट

नेपाली रजतपटमा डेब्यु गर्नुअघि नै मीनाले नेपाली भिडियोमा आफ्नो पहिचान बनाइसकेकी छिन्। केही वर्षअघि गायक केहर सिंह लिम्बूको चर्चित गीत ‘झ्यालैमा’को आधिकारिक म्युजिक भिडियोमा उनी मुख्य मोडलको रूपमा देखिएकी थिइन्। उक्त भिडियोलाई युट्युबमा ३८ लाखभन्दा बढी पटक हेरिएको छ।

लामो समयको अभिनय प्रशिक्षण, लोभलाग्दो उचाइ र सुन्दरताका कारण मीनाको आगमनले नेपाली चलचित्र उद्योगमा नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ। ‘युनिभर्सिटी अफ गुण्डाज’ मार्फत उनको फिल्मी यात्रा कस्तो रहनेछ भन्ने विषय हेर्न बाँकी छ।