गण्डकी स्पोर्टस् क्लबको नयाँ समितिको पदस्थापन

खेलकुद र समाजका विभिन्न क्षेत्रमा क्रियाशील गण्डकी स्पोर्टस् क्लबको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण तथा पदस्थापन गरिएको छ । क्लबको हालै भएको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले दीपकराज मुल्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको थियो ।

शुक्रबार आयोजित कार्यक्रममा क्लबका सल्लाहकारसमेत रहेका पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतीमान शाक्यले नयाँ समितिका पदाधिकारीलाई सपथ गराए । संस्थाका निवर्तमान अध्यक्ष उमेश सिकेले संस्थाको माइन्युट नवनिर्वाचित अध्यक्ष दीपकराज मुल्मीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा पूर्वराष्ट्रिय खेलाडी शाक्यले पहिले खेलकुद प्रतियोजिता जित्दा नामबाहेक केही नहुने अवस्था रहेको सुनाउँदै अहिले दिन बदलिएको जनाए । उनले भने, अहिले समय फेरिएको छ । खेलकुदलाई जीवनशैलीकै अङ्गका रुपमा स्वीकार्न थालिएको छ ।

निवर्तमान अध्यक्ष सिकेले अग्रज, समकालीन र युवा युस्ताको सामूहिक संकल्पले संस्था यहासम्म आइपुगेको बताए । उनले नयाँ नेतृत्वले संस्थालाई नयाँ उचाईमा पु¥याउने अपेक्षासमेत सुनाए । संस्थाका अध्यक्ष मुल्मीले खेलकुद र सामाजिक कार्यमा संस्थालाई सक्रिय बनाउने वाचा गरे । कार्यक्रममा पूर्व खेलाडी गंगाबहादुर बस्नेत, क्लबका द्धितीय उपाध्यक्ष द्रव्यजंग राणा र सचिव चेतनाथ चालिसेले पनि बोलेका थिए ।

शुक्रबारै भएको क्लबको बैठकले फुटबल, भलिबल, क्रिकेट र म्याराथन विभाग गठन गरेको छ । बैठकले उमेश सिके संयोजक रहेको सल्लाहकार समूह पनि बनाएको छ । समूहका सदस्यमा मोतिमान शाक्य, आनन्द रञ्जित, सञ्जीव कायस्थ, गंगाबहादुर बस्नेत, वीरेन्द्र श्रेष्ठ, राजु कायस्थ लगायत छन् ।