पोखरा महानगरले सार्वजनिक जग्गा, बाटो, खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । पोखराको पृथ्वीचोकमा हङकङ बजार अगाडि सङ्घ, संस्थाहरुले प्रयोग गर्दै आएका भवनहरु बिहीबार भत्काइने भएको छ ।
यसअघि ३५ दिने सूचना निकालेर संरचना हटाउन आग्रह गरेको महानगरले बुधबार माइकिङ गरी बिहीबार बिहान ११ बजेबाट भत्काइने जानकारी दिएको थियो । यहाँ सहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कांग्रेस, हिमाली सांस्कृतिक परिवार लगायतका सङ्घ, संस्थाका भवन छन् । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको यो जग्गामा भवन बनाएर सङ्घ, संस्थाले उपयोगका साथै भाडामा समेत दिएका थिए ।
महानगरका प्रमुख धनराज आचार्यले यी संरचनाहरु भत्काएर सडक फराकिलो बनाइने बताउनुभयो । æयी संरचनाहरु हटाएर पृथ्वीचोकबाट नयाँबजार जाने बाटो दुईतर्फी बनाइनेछ,Æ उहाँले भन्नुभयो, æयसको आसपासमा रहेका सुकमबासीका घरहरु पनि उचित व्यवस्थापनसहित चाँडै खाली गर्छाैं ।Æ
यता, फिर्केखोलाको खोला घर खाली गर्ने अभियानको चार दिनदेखि चलिरहेको छ । बुधबारमात्र साना ठूला गरी २३ वटा संरचना हटाइएको छ । महानगरपालिका वडा नं.१८ र २ को सिमाना क्षेत्रमा आठ वटा संरचनाहरू हटाइएको छ भने वडा नं.४ र ५ को क्षेत्रमा चार वटा संरचना भत्काइएको छ । वडा नं.७ र ८ मा पाँच वटा कम्पाउन्ड वाल र छ वटा स्थायी संरचना हटाइएको छ ।
यसरी आइतबारबाट सुरु भएको अभियानमा बुधबार चौँथो दिनसम्म आइपुग्दा एक सय पाँच वटा संरचना खोलाघरबाट हटाइसकिएको छ । काठ किलोमिटर लामो फिर्के खोलको बहाव क्षेत्रमै एक सय ६० भन्दा बढी संरचना छन् । तीन ठाउँबाट संरचना हटाउने अभियानमा तीन वटा जेसिबी र दुई वटा एस्काभेटर प्रयोग भइरहेका छन् ।




