पोखराको न्युरोड क्षेत्रमा अचले सडकको पूर्वी भागमा मात्र सवारी पार्किङको व्यवस्था गरिएको छ। यस व्यवस्थाले सडक व्यवस्थापनमा केही सहजता ल्याए पनि पश्चिमी भागका चहलपहल कम हुँदा व्यापारिक गतिविधि घट्दै गएको व्यवसायीहरूले गुनासो गरेका छन् ।
सवारी पार्किङका कारण जाम नहुने न्युरोडमा एक साइडमा सवारी राखेर अर्काे साइडमा जान कठिन पर्छ । एकातिर सडकमा दौडिइरहेका सवारी, अर्कातिर बिचको डिभाइडरले लामो दूरी पैदलकै घुम्नुपर्दा पार्किङ गर्न निषेध गरिएको क्षेत्र सुनसान भएको व्यवसायीहरुको गुनासो छ ।
स्थानीय व्यवसायीले सम्बन्धित निकायहरुसँग सडक सुरक्षालाई प्राथमिकतामा राख्दै निश्चित स्थानहरुमा दुवैतर्फ व्यवस्थित पार्किङको व्यवस्था गर्न आग्रह गरेका छन्। यसका साथै थप जेब्रा क्रसिङ र सुरक्षित पैदल मार्ग निर्माण गर्न पनि उनीहरुको माग छ ।
सन्तुलित पार्किङ व्यवस्था र सुरक्षित सडक पार गर्ने पूर्वाधार विकासले न्युरोड क्षेत्रको व्यापार प्रवर्द्धन, ग्राहकको सुविधा तथा समग्र शहरी व्यवस्थापनमा सकारात्मक योगदान गर्ने न्युरोड व्यवसायी समिति सचिव दिल श्रेष्ठले बताए । स्थानीय व्यवसायीले सोमबार महानगरपालिका कार्यालय, पोखरा उद्योग वाणिज्य संघ लगायतका स्थानमा आफ्ना मागसहितका ब्यानर राखेका छन् ।




