खुदीखोलामा बेपत्ता योद्धाहरुको सम्झना

नेकपा -माओवादी) कास्कीले बिहीबार पोखरा–३२, खुदीखोला कार्यक्रम गरी माओवादी जनयुद्धमा बेपत्ताहरुको सम्झना गरेको छ । खुदीखोलाबाट जनयुद्धमा सोमबहादुर विक (ज्योति) र टंक शर्मा बेपत्ता छन् ।

कार्यक्रममा नेकपा -माओवाद) कास्की सेक्रेटरी उमेश सीले अहिलेको उपलब्धि हजारौं सहिद, बेपत्ता र घाइतेको योगदानको जगमा आएको उल्लेख गरे । नेकपा (माओवादी) का केन्द्रीय सदस्यसमेत रहेकाउनले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्नसमेत माग गरे । ‘विभिन्न आन्दोलनमा त्याग गर्ने बेपत्ताहरुको स्थिति सार्वजनिक हुनैपर्छ । आफन्त गुमाउँदा असीम पीडा भोग्नेहरुको स्थिति राज्य सञ्चालकले मनन गर्नुपर्छ,’ उनले भने ।

माओवादी जनयुद्धमा कास्कीबाट १९ जना बेपत्ता छन् । माओवादी शान्तिपूर्ण राजनीतिमा आएको दुई दशक भइसक्दा पनि बेपत्ताको अवस्था सार्वजनिक हुन सकेको छैन ।

नेकपा (माओवादी) केन्द्रीय सदस्य कुमार परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी पोखरा ३२ का अध्यक्ष यज्ञबहादुर अधिकारी, भूमीहीन सुकुमबासी संघर्ष समितिका सदस्य भूपेन्द्र राना मास्के, हिमालय आमा समूहकी सचिव सविता नेपाली, नेकपा (माओवादी) कास्की जिल्ला सदस्य अमृत परियार, महिला नेतृ सोममाया विक लगायतले बोलेका थिए ।

माओवादी कास्कीले १७ बेपत्ता योद्धा राष्ट्रिय स्मृति दिवससँगै भूमिहीन सुकुम्बासीसँग भेटघाट गरेको हो । पोखरा महानगरले सुकुमबासीहरुलाई हटाउन सूचना जारी गरेपछि भूमीहीन, सुकमबासीहरुका त्रास छ । खुदीखोलामा एक हजार एक सयभन्दा बढी सुकुमबासी परिवारको बसोबास छ ।

कास्कीमा करिब २० हजार सुकमबासी र अव्यवस्थित बसोबासी छन् । नेकपा कास्की सेक्रेटरी सिकेले सुकुमबासीहरुलाई उचित व्यवस्थापन बिना हटाउन खोजिए संघर्षमा उत्रिने चेतावनी दिए ।

राज्यले २०५६ साल जेठ ७ गते एकैपटक काठमाडौंको सुन्धाराबाट चार जनालाई गिरफ्तार गरी बेपत्ता बनाएको थियो । केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने (चितवन), काभ्रेका नवीन गौतम शर्मा र कमला शर्मा र मिलन नेपाली (काठमाडौं) त्यसयता बेपत्ता छन् । राज्यले एकै पटक सामूहिक रुपमा बेपत्ता बनाएको घटनालाई आधार मानेर बेपत्ता स्मृति दिवस मनाउने गरिएको छ ।