फेवा किनारमा केका रुख छन्, ती रुखको महत्व के छ ?

पोखराको फेवाताल किनारमा फुलेका ज्याकरान्डाले अहिले सामाजिक सञ्जाल भरिभराउ छन् । करिब ४० किलोमिटरको फेवाताल वरिपरी विभिन्न प्रजातिका रुख छन् । ज्याकरान्डासहित फेवा किनारका रुखहरुबारे जानकारी दिने पुस्तक बजारमा आएको छ ।

बैदामे तालसमेत भनिने फेवाताल किनारका ५० वर्षदेखि तीन सय २४ वर्ष पुराना रुखहरुको महत्व र विवरण समेटिएको …वैदामका वृक्षÚ पुस्तक राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिले प्रकाशन गरेको हो ।

पोखरा–६, बैदाम स्थित ताल किनारमा रहेका एक सय आठ वटा पुराना रुखको जिपिएस लोकेसन समेत रेकर्ड गरी पर्यावरणीय, धार्मिक, सांस्कृतिक, औषधीय, आर्थिक महत्वसमेत समेटिएको पुस्तक कृषि वैज्ञानिक डा अनिल सुवेदी, सामाजिक अभियन्ता अनिल थापा र प्राकृतिक स्रोत व्यवस्थापन र ग्रामीण विकासमा स्नातकोत्तर रितिसा बसेलले तयार पारेका हुन् ।

पुस्तकमा फेवाताल किनारका चौतारा, पार्क, रत्न मन्दिर लगायत क्षेत्रका बुढा रुखमा जिपिएस लोकेसनसमेत रेकर्ड गरी राखिएको प्रकाशक राष्ट्रिय सम्पदाका अध्यक्ष ठाकुरप्रसाद बरालले बताए । लेखक डा सुवेदी जिपिएस लोकेशन हेरेर ५० वर्षभन्दा पुराना रुख कहाँ कहाँ छन् पत्ता लगाएर त्यस रुखका बारेमा थप अध्ययन गर्न सकिने उल्लेख गरे ।

किताबमा ताल किनारका २४ प्रजातिका रुखहरूको उमेरसहित त्यसको महत्व उल्लेख गरिएको छ । पुस्तकमा समेटिएका जानकारीले वातावरण संरक्षणमा पनि योगदान पुग्ने अर्का लेखक अनिल थापा बताउँछन् । æकति पुराना रुख कहाँ छन् भन्ने जानकारी यसबाट पाउनुका साथै संरक्षणमा पनि योगदान पुग्ने अपेक्षा गरेका छौँ,Æ उनले भने ।

नेपाल राष्ट्र बैंङ्कका पूर्वगभर्नर डा दीपेन्द्रबहादुर क्षेत्रीले स्वच्छ पर्यावरणका लागि योगदान दिने वृक्षहरुको महत्व, उमेर र जपिएस लोकेसनसहितको पुस्तकले संरक्षण क्षेत्रमा छुट्टै सन्देश प्रवाह गर्ने बताए । अध्ययनका क्रममा फेवाताल किनार वाराही चोकको पीपलको रुख सबैभन्दा पुरानो तीन सय २४ वर्षको रहेको पाइएको छ ।

ताल किनारका बर, पीपल, आँप, समी, धूपी, चाँप, काइयो, सल्ला, कदम, जाकारान्डा, सिमल, रुख कमल, टुनी, गोगन, गुल्मोहर, बन्तरी, ओदाल, चिउरी, राजवृक्ष, नरेश्वर, इमली, जामुन, सिसौ, जेक्विटिवा, लिची लगायतका रुख छन् ।