साहासीको स्वर्ग : तिलिचो ताल

सम्पूर्ण विश्व नै एउटा भाइरसको पछाडि कुदिरहेको छ । करिब ३ लाख मान्छे मर्न लागिसकेका छन् । ३० लाखभन्दा बढी यसबाट प्रभावित भएका छन् । पूरै संसार लकडाउनमा लुकिरहेको छ अनि हरेक मानिसमा एक किसिमको त्रास भरिपूर्ण छ । यस्तो अवस्था अझै केही लामो समयसम्म रहिरह्यो भने मानिसमा ठूलो मनोवैज्ञानिक मनोदशा उत्पन्न हुन सक्छ । डिप्रेसनको सिकार नहोलान् भन्न सकिन्न । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा भनेको उच्च आत्मबल राख्दै मानसिक रुपमा तन्दुरुस्त रहनु हो ।

भनिन्छ नि, कहिलेकाहीँ बिरामी भएका बेला उत्पन्न हुने नकारात्मक सोँचले मानिसलाई झन् शक्तिहीन बनाउँछन् । त्यसैले कोरोनापछि हामी मानसिक रुपमा स्वस्थ हुन आन्तरिक पर्यटनलाई अगाल्न सकिन्छ । त्यसमा पनि तिलिचो अति उत्तम विकल्प हुन सक्छ ।

समुन्द्र सतहदेखि करिब ५ हजार मिटर उचाइमा रहेको यानकी विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल तिलिचो सुन्दरताको अर्को रुप हो भन्दा फरक नपर्ला । यस तालको यात्रा विशेष गरी लमजुङको वेसिसहरबाट सुरु हुन्छ । यदि तपाईंहरुलाई हिंड्न औधी मन पर्छ भने वेशिसहरबाटै पैदल यात्रा गर्न सकिन्छ । यद्यपि चामेसम्म जिपमा जाँदा यात्रालाई छोटो अनि मिठो बनाउन सकिन्छ ।

१०/११ बजेसम्म वेशिसहरबाट जिप चढिसक्ने हो भने त्यही दिन नै मनाङ जिल्लाको सदरमुकाम चामेसम्म पुग्न सकिन्छ तर बास बस्ने ठाउँ पहिल्यै नै खोज्न भने नबिर्सिनु होला । चामेसम्मको जिपको यात्रा भने डरलाग्दो नै छ । ठूला ठूला पत्थरलाई खोप्दै भिरमा बनाइएको एक लेनको मोड नपुग्ने घुम्तीहरु भएको बाटो तल सुसाइरहेको मस्र्याङ्दी साच्चै नै सहासिक अनि यादगार बन्नेछ ।

चामेबाट खाङ्सारसम्म पनि जिपको यात्रा तय गर्न भने सकिन् । प्रायजसो सबै नेपाली पर्यटकले यसै गर्छन् तर आफ्नो ट्रेकलाई साच्चिकै प्राकृतिक ट्रेकिङ बनाउन चाहनुहुन्छ भने त्यहाँबाट पैदल यात्रा गर्नु नै उत्तम हुन्छ । बिहानै उठेर चामेबजार डुलिसकेपछि खुला आकाशमा बहिरहेको चिसो हावासँगै खाजा खाएर मनाङ गाउँतर्फ प्रस्थान गर्न सकिन्छ । चामेबाट करीब १५ किमीमा अर्थात करिब ४ देखि ५ घण्टाको यात्रा तय गरिसके पछि अपर पिसाङ पुगिन्छ । यो ठाउँ अति नै रमणीय, सुन्दर अनि कलात्मक पनि छ । यहाँबाट तिब्बतीय मणी पत्थरहरु पनि प्रशस्त देख्न सकिन्छ ।

यहाँबाट देखिने अन्नपूर्ण प्रथम र द्वितीयको मनोरम दृष्यले त्यो थकान मेटिएको पत्तै पाइदैन ।
त्यहाँ पुगेर खान खाइसकेपछि ढिलो नगरी मनाङ गाउँतिर लम्किनु नै बेस हुन्छ । धेरै दिनको यात्राको खोजीमा हुनुहुन्छ भने त्यो दिन त्यही बस्दा पनि हुन्छ) । पिसाङबाट मसर््याङदी नदीको सुसावटसङ्गै करीब ५ घण्टाको यात्रापछी मनाङ गाउ पुग्न सकिन्छ, जहाँ बस्नको लागि प्रशस्त मात्रामा सुविधा सम्पन्न होटल तथा लजहरु भेटिन्छन् । यहाँक होटल पहिल्यै बुक गर्नु उचित हुन्छ । समथर छानो भएका एकै किसिमका ढुङ्गाका घरबाट बनेको मनाङ गाउँ अति नै सुन्दर देखिन्छ, । उत्तरी क्षेत्रमा अग्ला अग्ला पहाड अनि अन्नपूर्ण तेस्रोको मनमोहक दृश्य देख्न सकिन्छ भने वरीपरी समथर फाँट छन् । यो सङ्गै वेशिसहरबाट दोस्रो दिनको यात्रा त्यहीँ सकिन्छ ।

मीठो थकाली खाना अनि दिनभरिको थकान, निद्रा पर्न के बेर लाग्थ्यो र ? त्यहीमाथि भोलि सबेरै उठेर खाङ्सार र श्रीखर्क हुँदै तिलिचो बेस क्याम्पसम्मको यात्रा तय गर्नु नै छ । बिहानै उठेर मनाङको चिसो अनि स्वच्छ हावासङ्ग भलाकुसारी गर्दै एकछिन गाउँ डुल्न सकिन्छ । साथै फोटो खिच्न भने नबिर्सिनु होला । मनाङबाट बेस क्याम्प पुग्न करिब ८ घण्टा हिंड्नु पर्छ । यति लामो अनि उकालो बाटो एकै दिनमा उक्लिन सकिन्न भने जस्तो लाग्छ भने त्यो दिनश्री खर्क पुगेर बस्दा पनि हुन्छ तर बेस क्याम्पसम्म पुग्न सकियो भने अर्को दिन बिहानको सूर्योदय हेर्न तिलिचोसम्मै पुग्न सम्भव छ ।

मनाङबाट ८ बजे हिंड्न सुरु गरेपछि करीब १० बजेसम्म खाङ्सार (३७५६ मि) पुगिन्छ । त्यहाँ खाना खाएर एकछिन आराम गरी श्रीखर्कको बाटो पछ्याउदँै बेस क्याम्पतिर लाग्नु पर्छ । श्रीखर्क आँफैमा सुन्दर छ अनि यहाँ बन्दै गरेका बौद्ध मठले यसलाई सांस्कृतिक रुपमा पनि धनी बनाएका छन् । मस्र्याङ्दी नदीलाई पछ्याउदँै पहाड, पर्वत चढ्दै प्राकृतिक सौन्दर्यसङ्ग रमाउदैँ हिंड्न पाउदा खुबै आनन्द आउँछ । माथिमाथि चढ्दै जाँदा कसै कसैलाई अल्टिच्युड सिकनेस नहोलाभन्न सकिँदैन ।

श्रीखर्क पुगेर चिया पसलमा चियाको चुस्कीसङ्गै केही खाजा खाईसकेपछि यात्रालाई बढाउनु नै उपयुक्त हुन्छ । अबको यात्रा एकदमै सहासिक हुनेछ । दोहोरो हिंड्न नमिल्ने साघुरा गोरेटा, बाटोमा चरिरहेका अजङ्गका चौरी, अनि रमाइलो कुरा त के भने जसरी हामी चौरीसँग डराउछौ, त्यसै गरी ती पनि हामी देखेर डराउने रहेछन् । मलाई अझै पनि सम्झना छ कि कति कोशीस गरेर चौरीको रौ लिन खोज्दा पनि उसको नजिकसम्म नि पुग्न नसकेको । त्यो साघुरो एकसरो बाटो अनि धेरै माथिबाट हाम फालिरहेको गेगरसहितको सुख्खापहिरोको लामो यात्रा, तल सुसाइरहेको मस्र्याङ्दी कतै चिप्लियो भने सिधै ५÷६ सय मिटर तल रहेको नदिमा पुगिने डर । त्रास र उच्च सावधानी अपनाउदैँ लामो पहिरोको बाटो कटिसकेपछि भने चाहिँ युद्धै जितेजस्तो भावना आउनेछ ।

यत्तिकैमा एउटा कुनामा ३ ठूला घर देखिन्छन् । ती घर अरु केही नभएर बेस क्याम्पका होटल हुन् । थकाइ लागेका बेला त्यहीनजिकै देखिने होटल पुग्न पनि करीब ३० मिनेट समय लागेको थियो । तिलिचो ताल घुम्न धेरै स्वदेशी तथा विदेशी पर्यटक जाने भएकाले सकेसम्म बेस क्याम्पमा आफ्ना लागि कोठा पहिल्यै नै बुक गरेर राख्नु आवश्यक हुन्छ । अन्यथा हामी जस्तै गरी डाइङिन हलमा म्याट्रेस बिच्छाएर सुत्न नपर्ला भन्न सकिदैन । यदि अली छिट्टै नै त्यहाँपुग्नु भएको छ भने नजिकैको मस्र्याङदी नदीको चिसो पानीले मुख धोएर थकान मेटाउन सक्नुहुन्छ । अन्यथा भोलि बिहान अझै भन्नु पर्दा आधा रातमै तिलिचोतर्फ लाग्नुपर्ने भएकाले छिटो खाना खाएर सुत्नु नै उत्तम हुन्छ ।

यदि हजुरहरु तिलिचोबाट सुर्योदय हेर्न चाहनु हुन्छ भने बसेको ठाउँबाट रातिको २ बजे नै निस्की सक्नुपर्ने हुन्छ किनकी त्यहाँबाट ताल पुग्न करिब साढे ३ घण्टा लाग्छ । एकाविहानै, चिसो अनि अक्सिजनको मात्रा कमी हुने भएकाले धेरै जसो यात्रीलाई श्वासप्रश्वासमा समस्या आउन सक्छ । त्यसका साथै बाटो घुमाउरो अनि ह्वात्तै उचाइ लिने भएकाले वान्ता पनि हुन सक्छ । त्यसैले आफ्नो स्वास्थ अवस्था हेरी घरेलु तथा डाक्टरी औसधी बोक्नु बुद्धिमानी हुन्छ ।

यात्रापछि तिलिचो पुगेर सूर्योदय हेर्न पाउनुभयो भने कसैले नभोगेको स्वर्ग देखेझै लाग्नेछ । एकातिर सेतै टल्किने हिमाल अर्कोतिर मरुभुमी जस्तो देखिने ससाना पहाड अनि समथर सुख्खा फाँट । बीचमा नीलै तिलिचो आहा ! कसरी वयान गर्न सकिन्छ शब्दमा त्यहाँको छटा ? अझै अचम्मको कुरा के भने करिब ८५ मिटर गहिराइ भएको यस तालको पानी निस्किने कुनै पनि ठाउँ छैन । त्यसैले सिजन अनुसार यस तालको पानी को रङ परिवर्तन हुन्छ भनिन्छ ।

जाडो याममा त यहाँ को पानी जमेर वरफ बन्छ, जहाँ मज्जाले हिंड्न मिल्छ ।आफ्नो अनुकूल हेरेर तिलिचो तालमा समय बिताई सकेपछि ढिला नगरी बेस क्याम्प झर्नुपर्छ । यहाँबाट कसरी फर्किने भन्ने कुरा आफूमा भर पर्छ ।

सोही दिन श्रीखर्कसम्म फर्किनु पर्छ । त्यसपछि यदि तपाईं ट्रेकिङको एकदमै सोखिन हुनुहुन्छ भने संसारको सबैभन्दा अग्लो स्थानमा रहेको हिमालीपास (थोरोङ्ग्लापास, ५,४१६ मि.) हुँदै जोमसोम निस्किन पनि सक्नु हुन्छ । यसको लागी श्रीखर्कबाट खाङ्सारको बाटो छोडेर याक खर्क, थोरङ फेदी हुँदै थोरोङ्ग्लापास गरेर जोमसोम निस्किन सकिन्छ नत्रभने श्रीखर्कबाट अर्को बाटो समात्दै खाङ्सार झरेर त्यहाँबाट जिप चढी एकै दिनमा बेसिसहरसम्म पनि पुग्न सकिन्छ ।

तर यस्तो हतारको यात्रा खतराजनक पनि हुन सक्छ । किनकी चामेबाट बेसिसहरसम्मको बाटो छोटो भएता पनि डरलाग्दो छ । त्यसैले श्रीखर्कबाट खाङ्सार हुँदै चामे गएर त्यो दिन बसी अर्को दिन सबैरै जिप चढियो भने दिउसै बेसिसहर पुग्न सकिन्छ । जहाँबाट आफ्नो गन्तव्यतर्फ जाने सवारी साधन सजिलै पाईन्छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।