समानता, समता र नारी

नारीलाई ममताको खानी, आमा, सृष्टिदाता, अर्धाङ्गिनी, गृहलक्ष्मी आदि धेरै विशेषणहरुव्दारा प्रशंसा गरिएको पाइन्छ । हाम्रो समाजमा गाईलाई लक्ष्मी भनि पुजिन्छ । तर घाँस कुडो वढी भैसीले पाउछ । धार दिन एक मुठी दुध चोखिन गहुत र गोवरको लागि पालिएका गाईको अवस्था जस्तै नारीको अवस्था देखिन्छ । महिला विकासको लागि अन्तराष्ट्रिय अभिसन्धि, विधान, कानुन, संझौता, प्रतिबद्धता, भाषण धेरै भै सकेका छन् । लैगिंक समानताका नारा संसार भर गुन्जिरहेका छन् । समानता र विभिन्नता मुख्य तीनवटा आधारहरु लिङ्ग जात र वर्ग रहेका छन् । याहाँ लिङ्गको आधरमा हुने विभेदले महिलामा हुने विभेदलाई जनाउँछ । जन्मदा सुस्केरो र मर्दाजुठो कम समय बार्न मिल्ने हाम्रो संष्कारमा जन्मेकी छोरी जन्मदेखि मृत्युसम्म धेरै विभेद र अन्याय अनादिकालदेखि बेहोर्दै आएकी छिन् । छोरी भएर जन्मनु कुनै अपराध होइन । सती प्रथा दास प्रथा हुँदै धेरै कुप्रथाहरुमा पुरुषको तुलनामा महिलाले थप पीडा भुक्त गर्नु परेको छ ।

महिलाको काम प्राय: घरयासी हुदा प्रत्यक्ष दाम प्राप्त नहुने देखिन्छ । एउटी वुहारी घर रहि वालबच्चाको पालन पोषण, खानपान, वृद्धहरुको हेरचाह, सरसफाई जस्ता कार्यहरुमा केन्द्रित गरेकी हुन्छिन् । यस्ता कार्यहरुको मुल्यांकन कम आँकिएको हुन्छ । तर छोरो बिदेश गई वा देश भित्रै नोकरी गरि बर्षको एक डेड लाख रुपैयाँ कमाई गरेको उच्च मूल्यांकन हुन्छ । बुहारीले कयौं लाखसंग पनि तुलना गर्न नसकिने लुकेको धन अोजेलमा पारिन्छ । महिला विकासको चर्चा गर्नु अघि समानता र समता शब्दहरुको अर्थ बुझ्न आवश्यक देखिन्छ । सबैको मुखमा समतामूलक समाजको निर्माण गर्ने भन्ने झुन्डिएको पाइन्छ । कुनै पनि शब्दको भावार्थ बुझ्नु पर्दछ । प्रसुति पीडालाई पुरुषले अन्य पीडासंग तुलना गरेको पनि पाइन्छ । कसैले त्यो पीडा दाँत दुखे जत्तिकै हुन्छ भन्दछ भने सरासर गलत हो । पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । अन्याय र न्याय मनोबैज्ञानिक रुपमा महसुस गरि थाहा पाउने कुरा हो । हजुर आमा समानकी दलित महिलालाई उच्च जात भनिने टिठोले अहिले पनि हजुर भन्न हिचकिचाउँछ । उसले तँ नै भने पनि ती वुढी आमा दुखि हुदिनन् । यसै गरि महिलालाई पनि युगौदेखि हेप्ने र हेपाई खाने कार्य सहने बानी बसेको छ । यो हेपाई अहिले मूल्य मान्यतामा परिणत हुन पुगेको छ । नागरिकलाई समान रुपमा प्राप्त भएका हक र अधिकार उपभोग गर्न नपाउने, सेवा सुविधाबाट बन्चित हुनु पर्ने र समान अवसर तथा माया ममता मर्यादा र महत्व दिने क्रममा हुने विभेद नै भेदभाव हो । महिलाप्रति गरिने भेदभाव पुरुषले लिने सारको आधारमा विविध रुपहरुमा प्रकट हुने गर्दछन् । ।

धेरैले अहिले पनि समानता र समतालाई प्रार्यवाची शब्दको रुपमा लिने गरेको पाइन्छ । यी दुई शब्दहरुको मर्म नबुझदा हाम्रा व्यावहार वढी कृतिमता तर्फ उन्मुख भएका छन् । समानताले सबैको लागि बराबर प्राप्ति उपलब्धि पँहुच र वितरणको अवस्थालाई जनाउँछ । समानताले लिङ्ग, जात, धर्म, पेसा, वर्ण, भाषा, संस्कृति आदिका आधारमा असमान व्यावहार हुन नदिनु भन्ने हो । स्वास्थ्य शिक्षा खाध्दान्न जस्ता आधरभूत कुराहरुमा समान पहुँच समान साँस्कृतिक आर्थिक अवसर, निर्णय नीति निर्माण प्रक्रियामा समेत सहभागिता जनाउँने अवसर प्रदान गर्नु भन्नेलाई समानताले संबोधन गर्दछ । समानता बढी आदर्श र अमुर्त हुन्छ ।

शिक्षा र स्वास्थ्यमा समान अवसर भनिए पनि दुर्गम स्थानमा पाँच घण्टा तुइन समेत तरेर विद्यालय पुग्दा पनि शिक्षक शुन्य अवस्था भएकाले फर्कनु परिरहेको छ । अस्पतालको भि आइ पि कक्षमा कुनै पनि भि आइ पि नगएको उनान्नतीस वर्ष भएको छ भने अर्को तिर आकस्मिक कक्षमा एउटा बेडमा तीन जना बिरामी पीडाले कराई रहदा समेत डक्टरको मुख देख्न पाएका छैनन् ।

सिकारु विद्यार्थीहरुले मुसा भ्यागुता जस्तै बिरामीलाई प्रयोग गरिरहेका छन् । दुर्गम क्षेत्रको स्वास्थ्यको हरिबिजोग वर्णन गरि साद्धे छैन । समानता संविधानमा लेखेर पाउने भनेको पण्डितले किताबको माछा नखाए जस्तै हो । घरमा सिन्को समेत नभाचि मोजा जुत्ता समेत श्रीमतिले लगाइ दिएर नारी दिवसको दिन समानताको भाषण गर्ने बोक्रे भलाद्मीको पनि हाम्रो समाजमा कुनै कमी छैन ।

समता भन्नाले प्राकृतिक संरचन, अवस्था र प्रकृति अनुसार गरिने न्यायोचित विवेकशिल व्यवहारलाई जनाउँछ । व्याक्तिलाई तिनीहरुको अवस्था अनुसार जबसम्म अवसर दिइदैन तवसम्म समान अधिकार दिए पनि समान किसिमको उपभोग र परिचालन गर्न पाउँदैनन् ।समता नै समानता प्राप्त गर्ने एउटा प्रमुख माध्यम हो । त्यसैले समता व्यावहारको अनुभूति हो । समता सकारात्मक विभेद पनि हो । महिलालाई पुरुषको तुलानामा थप अवसर र सुविघा जुटाई समानता ल्याउन गरिएको विशेष प्रयासलाई लैगिक समता भनिन्छ । विभिन्न आरक्षण छात्रवृति यस्ता उदारणहरु हुन जुन समता अन्तर्गत पर्दछन् । विद्यालयमा स्नान कक्ष समेतको शौचालयको व्यवस्था गरिनु समता हो । छात्रले हामीलाई पक्षपात भयो भन्नु स्वभाविक हो । तर छात्रालाई महिनावारी हुने र सफा गर्न स्नान कक्ष आवस्यक भएकोले यस्तो विभेद गरिएको हो । यस्तो सकारात्मक विभेद नै समता हो । स्तनपान गराउन महिलालाई समय उपलब्ध गराउने, विद्यालयमा किशोरी छात्रालाई आवस्यक अनुसार सेनेटरि पायड उपलब्ध गराउने जस्ता कार्य समता अन्तर्गत पर्दछन् । विद्यालय र विश्व विद्यालयमा समताको उदारणको रुपमा स्याल र सारस कथा दिने गरिन्छ । स्याललाई थालमा र सारसलाई सुरहीमा खाना खान दिनु समता हो । समतामा विवेक प्रयोग हुन्छ । समता व्यावहारमुखी हुन्छ । त्यसैले समता मूर्त हुन्छ ।

एउटा हजुर आमाले आफ्नो परिवारको लागि समानता अपनाएर खाजा मकै भुटेर ७० वर्षे श्रिमान ४० वर्षे छोरा ३५ वर्षे सुत्केरी बुहारी डेड वर्षे नातिनी र आफुलाई भाग लगाउँछिन् । श्रिमान र आफ्ना दाँत झरिसकेका छन् भने नातिनीका दाँत आइसकेका छैनन् । बुहारीलाई पोषण नपुग्ने देखिन्छ । मकैको खाजाबाट सबभन्दा वढी फाइदा छोराले लिन्छ । यहि मकैलाई पिधेर वृध्दलाई सातु बालकलाई सातु दुधमा मिलाएर खुवाईन्छ भने समता अपनाएको ठहर्छ । सबभन्दा ठूलो र महत्वपूर्ण बिकास मानव बिकास हो । अर्कोतिर मानव नै बिकासको महत्वपूर्ण साधन पनि हो । अझसम्म पनि गाऊ पालिका र नगर पालिकामा महिला शसक्तिकरण सचेतनाका लागि छुट्टाएको बजेट खेर फालिएको जस्तै ठान्ने मानसिकता हटिसकेको छैन । भौतिक बिकासलाई मात्र बिकास मान्नेको जमात पनि ठूलै छ । सांसद बैठक भत्ता वृद्धि जसरी सर्वसम्मत रुपमा पास हुन्छ त्यसरी नै महिला समताका मुद्धाहरु पारित हुन नसक्नु परंपरागत रुपमा विकसित नकरात्मक मनोवृतिको उपज हो भन्न सकिन्छ । घर परिवारमा बाबुको भन्दा आमाको भूमिका वढी महत्वपूर्ण हुन्छ भन्ने कुरा सबैले स्वीकार गर्दा गर्दै पनि महिला विकासमा यो वा त्यो बाहानामा भाँजो हाल्ने काम भैरहेको अवस्था छ । घर परिवार समाज र राष्ट्रको उन्नतिको रथ हाक्ने दुई पान्ग्राहरु भनेकै नर नारी हुन् । नारीको विकास बिना नरको विकास हुनै सक्दैन । महिला प्रथमत: मानव हुन् । एउटा मानवले पाउने मानव हक अधिकार जन्मजात पाउनु नै सर्गिक अधिकार हो । पुरुषले जन्मदै अघिल्लो जन्मबाट ल्याएर आएको सम्पत्ति जस्तै उसले दिने र महिलाले अनुग्रिहित भै हात थाप्ने विषय नै होइन । पुरुषको समान महिलाको हक अघिकारको विषयमा बहस उठनै नपर्ने हो ।

एउटा छोरीको दिसा पुछ्दा वा धुदा समेत छोरालाई भन्दा फरक तरिका अपनाउनु पर्दछ । समान तरिकाले उक्त कार्य गरेमा संक्रमण हुन सक्ने खतरा रहन्छ । यसरी सानो भन्दा सानो कुरामा पनि हामीहरुले समता अपनाउनु पर्ने हुन्छ भने नारी जीवनका अरेक पाटा पक्ष र मोडमा समानताले काम गर्दैन । वर्ग जातको आधारमा समानता ल्याउन गरिएको समतामूलक कार्यहरु एउटा अवस्था सम्मको लागि मात्र रहन्छ । दलितलाई आरक्षण सधै नहुन सक्दछ । दलित पनि अन्य जात जस्तै सक्षम भएमा आरक्षण हटन जान्छ । समानतामा पुगे पछि समता हट्न जान्छ; हटाइन्छ । तर महिलाको हकमा सधै भरि नै कुनै न कुनै क्षेत्रमा विशेष सुविधाको व्यवस्था गरिरहनु पर्दछ । १०९ औं अन्तराष्ट्रिय नारी दिवसले समानताको लागि समता जीवनका हरेक क्षेत्रमा विवेकपूर्ण तरिकाले दौडाउन सबैलाई प्रेरणा देहोस् । जय होस् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।