नौ डाँडा काटेर पारी, छोडी आएँ लमजुङको घरबारी
लमजुङ तुर्लुङकोट, सरर हावा चल्यो लाकुरीको बोट
गीतले भनेको लाकुरीको बोटमै पुग्नेहरु केही मिनेट रोकिन्छन् । उत्तर दक्षिण दुवैतिर फाँट, पूर्व पश्चिम फैलिएको पहाडको चुली । अक्सर सरर हावा आइरहन्छ । दुराडाँडाको लाकुरीको फेदमा सुस्ताएपछि यो गीत सुन्ने धेरैलाई लाग्छ ः यो गीतकी गायिकाको जन्मघर पनि हेरिहालूँ ।
तुर्लुङकोटको सिन्दूरे ढुंगाबाट यसोमुन्तिर स्वास्थ्य चौकी छ । त्यहाँ अहिले नयाँ भवन बन्दै छ । विरलै गाडी चल्ने कच्ची बाटो पनि यहाँ पुगेकै छ । बाटोमै हरियो जस्ता लाएको सानो ढुंगामाटाको घर छ । यही घरमा जन्मिएकी नेपालकी चर्चित लोकगायिका बिमाकुमारी दुरा अचेल कहिले नेपाल, कहिले अमेरिका हुन्छिन् । घरमा छिन् उनकी ८३ वर्षकी आमा शान्तामाया दुरा । लमजुङ तुर्लुङकोटलाई चिनाउने यो गीतले जन्म ठाउँबाट टाढा बस्नेको गाउँको झझल्को सुनाउँछ । पीडालाई संगीतमा ढालेर गाउने बिमा माइती गाउँ नआएकै धेरै भयो ।
शान्तामायाले ६ सन्तान जन्माइन् । पहिली छोरी र दोस्रा छोरा बाचेनन् । अहिले ४ सन्तान छन् । जो घर पुगे पनि हासेर स्वागत गर्ने उनलाई छोराछोरी सबै गाउँमै भएदिए हुन्थ्यो जस्तो लाग्छ । लेखक घरमा पुग्दा उनी पिडालुका चाना काट्दै थिइन् । पिडालु सुकाएर वर्षभरिलाई तरकारीको जोहो गर्नु उनलाई छ । होचो कद भएकी शान्तामायाका अनुहारमा दर्जन जति मुजा छन् ।
उनले भनिन् ः कहिले जागै पनि बस्छु, कहिले गीत गाउँछु, कहिले रुन्छु । नाम आएन पुरानो गीतकारको । केरे छातीमाथि ढुंगा राखी हास्नु पया छ जस्तो छ । छोराछोरी सबै आएर बसिदिए हुन्थो भन्ने लाग्छ । उनलाई एक निद्रा सुतेपछि फेरि निद्रा पर्दैन । उनले भनिन् रातभरि गर्छु भित्रको काम त ।
उनीभन्दा ६ महिना कान्छा श्रीमान्को निधन भएको २० वर्ष भइसक्यो । २ छोरा चितवनमा छन् । शान्तामायालाई छोराभन्दा छोरीहरुकै पिरलो छ । बिमाको एकल जीवन उनलाई नमीठो लागिरहेको छ । कान्छी छोरी र २ नातिनातिना उनीसँगै बस्छन् । छोराछोरीको कमाइ खाएर आराम गर्ने उमेरमा उनलाई छोरी पाल्नुपर्ने नियति आइलागेको छ । उनले कारण खुलाइन्, ज्वाइले अर्काे विहे गरेपछि यही छ छोरी । मैले नै पाल्नुपरेको छ ।
बिमालाई पढाउन नसकेकोमा उनलाई पछुतो छ । हाँसिरहेकी उनले गम्भीर भएर भनिन् ः पढ्या भए त राजा भएर खान्थ्यो नि ।
पोहोर ३ मुरी पिडालुका चाना बनाएकी उनलाई यसपालि त्यति चाना नहुने हो कि भन्ने पीर पनि छ । कुराकानी गर्दागर्दै पनि उनी खालि बस्दिनन् । सुकेपछि पनि खासै मीठो नहुने र बिक्दा पनि नबिक्ने पिँडालुमा पनि रोग लाग्न थालेको छ । मुसाबाट जोगाउन गतसाल उनले ढक्कन लाएर छोपिन् । मुसाबाट त चाना जोगियो, तर अझै उनको भागमा आइपुगेन मेहनतको फल । कुहेर फाल्नुप¥यो ।
बिमालाई पढाउन नसकेकोमा उनलाई पछुतो छ । हाँसिरहेकी उनले गम्भीर भएर भनिन्, पढ्या भए त राजा भएर खान्थ्यो नि । सानैबाट गाउँ, मेलापातमा गाउने बिमाकी दौतरी र सँगै गाउने साथी थिइन् पुतली । बिमाकुमारी नेपालकै चर्चित गायकी बनिन्, पुतलीको नियतिमा दुराडाँडाकै घरबारे जीवन थियो । ५ छोरीकी आमा पुतलीलाई नियतिको बज्र यतिमै सिमित भइदिएन । उनलाई क्यान्सर पनि भएको छ । उनी बिमाकी फुपूकी छोरी हुन् । शान्ताले २ सय मिटर जति परको घरतिर देखाउँदै भनिन्, पुतलीको घर उ त्यही हो । स्वर त झन् त्यसको राम्रो छ । पुतली दुरासँग मेलापात र गीतका कुरा गर्ने समय भने मिलाउन सकिएन ।
खाँटी गाउले लबज, औपचारिकता कत्ति नगर्ने शान्ताको बोली सबैजसो झर्रा शब्दले भरिएको थियो । बालकृष्ण पोखरेलले भेटेका भए झर्राे गद्यौलीका पाना पक्कै थपिन्थे । बिमाको बिहेको कुरो उनलाई कोट्याउन मन लाग्दैन । उनले सांकेतिक रुपमा भनिन्, बिहे त आफै आको दुलाहा । आफै भाग्यो । मेरो छोरी राम्री थिइन् क्यारे । उसका २ छोरी छन् । भाइबहिनीलाई हेर्नुपर्ने भएकाले बिमाले पढ्न पाइनन् । पहिलो किताब आफैं ल्याएर साँवाअक्षर चिनिन् ।
बुढेसकाल लागे पनि उनलाई गीतले अझै तान्छ । अझै पनि परिआए गीत गाउन पछि पर्दिनन् । मन छुने भाका बजिहाल्यो भने उनलाई नाच्न कसैले कर गर्नै पर्दैन । उनी अहिलेसम्म निरोगी छिन् । बिमारी हुनहुन्छ कि भन्ने प्रश्नमा उनको जवाफ आयो ः रोग भा त गै सक्थे नि ।
घरबाट नजिकै छ खेतीपाती । उहिले १५, २० मुरी आउथ्यो । अहिले आधा जतिमा उनले कमाई लगाएकी छन्, आधा बाँझै छ । तुर्लुङकोट पुग्ने नयाँ मान्छेको मन बिझाउने पहिलो दृश्य हो ः यहाँको बाँझो जमिन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएको यही क्षेत्रबाट हो । घरबारी बाँझै छाडेर अधिकांश गाउँले सहर र विदेश पुगेका छन् । यही खेतीपाती गरिहेकालाई पनि फौजले हैरान पारेको छ । यहाँका स्थानीय बाँदरको बगाललाई फौज भन्छन् । दिनदिनै आउने बाँदरले अन्नपात खेतबारीमै सिध्याउन थालेको छ ।
उनले घरनजिकको खेतमा पिडालु र मकै लाइसकेकी छन् । बाख्रा, कुखुरा छन् । उनलाई धेरै पीर पिडालुकै छ , खैरे लाग्छ क्या । हातमा गुराँस देखेपछि उनले त्यो ओखति हुने सुझाइन् । आइतबार, मंगलबार पारेर लग्यो भने माछाको हाड अल्झे पनि निको हुन्छ यो धयरोको फूल नारेश्वरको फूलसँग मिलाएर खाए रगतमासी पनि निको हुन्छ ।
शान्तमाया ८४ वर्ष लाग्न अब केही महिनामात्र बाँकी छ । उनले ११ फेरि सत्बिज छरिन् । जे जे गर्नुपर्छ भन्ने ठानिन्, ती सबै गरिन् । उनलाई ८४ पूजा भने गर्ने मन छैन । यसको कारण भने अलि अनौठो छ । ८४ गरेपछि वस्तु फुकाउन पनि पान्न, जे पायो त्यही बोल्न पनि पान्न । रिस उठ्या बेला जे पनि आइहाल्छ मुखमा, उनी पल्लो घरसम्मे सुनिनेगरी हासिन् ।
उनका आमा र हजुरआमा दुवै लामो उमेरसम्म बाचे । बुढेसकालमा दुवैका फेरि दाँत पलाएको उनले सम्झिइन् । हास्दा गिजामात्र देखिने शान्तालाई पनि दाँत हाल्ने रहर भयो । १ फेरि ५ हजार अर्काे फेरि १० हजार खर्च गरेर दाँत हालिन् ।
अहिले आधा जतिमा उनले कमाई लगाएकी छन्, आधा बाँझै छ । तुर्लुङकोट पुग्ने नयाँ मान्छेको मन बिझाउने पहिलो दृश्य हो : यहाँको बाँझो जमिन ।
उनलाई पहिलाका दाँत झै हालेका दाँतले काम गर्लान् भन्ने लागेको थियो । त्यस्तो कसरी हुन्थ्यो । उनी पनि के कम सबै फुकालेर फालिदिइन् । उनले स्पस्टिकरण दिइन्, : हालेको मुखै फट्कारिएन मुखभरि पानी आयो, के के भयो । खानेकुरा पनि खान नहुने, बोल्न पनि नहुने पो भो है, मारी यो गाविसमा डाउटरलाई फुकाल्दै बाबू म त लान्न भनेको त उसले तार काटिदियो, मैले मारी बल गरेर निकालें ।
शान्तमाया हामी घरबाट निस्किएर रोडमा पुग्दासम्म मुस्कुराउँदै हामीलाई बिदा गर्दै थिइन् । गाउँका आधा जति खेतबारी बाँझै देखिए तलसम्म । उनीजस्ता घरबारी सम्हालेर बसेका वाआमा, हजुरबा हजुरआमा बितेपछि के होलान् हाम्रा गाउँहरु ? प्रश्न छ, उत्तर छैन ।




