कविता : वसन्त

सेतो क्यानभासमा मैले वसन्तलाई अँँटाएकी छु
शिशिरयाममा कक्रिएका रुखबाट
चैते धुलो हटाउँदै
कलिला मुनाले भरिदिएकी छु
आँपका मज्जरमा रिङ्दै गरेका भौँरालाई
यथावत राख्दै
कोइलीलाई पातको आडमा
लुकाएकी छु
बतासलाई मुक्त छोडिदिएकी छु

तल भुइँमा हरियो घाँस
अनि सानो फुलबारी
त्यसमा थरी थरीका रङबिरङ्गी फुलले
भरिदिएकी छु वसन्तलाई

रङ्गिचङ्गी क्यानभासमा
रङ्गिन वसन्तभित्रको हलचल
छताछुल्ल पोखिएको छ
तर कताकता ऊ
अधुरो देखिएको छ
फुलै फुलको मेलामा
वसन्त हाँसेको छ मेरो क्यानभासमा

हत्तेरी!!
मैले क्यानभासमा सुवास छर्न
मर्लक्कै बिर्सेछु
इन्द्रकमल फुल्ने
ऋतु हो वसन्त
उसैलाई सजाउन बिर्सेछु

तडकभडकदेखि तर्किने
शृङ्गार नरुचाउने
आफ्नो सुगन्धले वसन्तलाई वास्तव बनाउने
स्थलकमललाई भिडभाडदेखि टाढा राख्दै
अर्कै क्यानभासमा छुट्टै सजाएकी छु
सुगन्धको कुनै रङ हुँदैन
त्यसैले यहाँ केवल मगमगाएको छ
एउटा रङ्हीन वसन्त
अनि
केवल सुवास __
अनि सुवास