पोखरा महानगरपालिका वडा नम्बर १७ को नवनिर्मित कार्यालय भवनको मंगलबार उद्घाटन गरिएको छ । सुविधा सम्पन्न नवनिर्मित कार्यालय भवनको नयाँ वर्ष २०८३ को अवसरमा नगर प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
२०८० असार २८ गते काम थालेर ठेकेदार कम्पनीले २०८२ असोज १० गते महानगरलाई बुझाएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा क्रममा आन्दोलनकारीहरूले उक्त भवनमा समेत आगजनी र तोडफोड गरेका थिए । भवनको पछि पुनः मर्मत सम्भार गरिएको हो । हालसम्म पोखरा महानगरपालिकाका ३१ वटा वडा कार्यालयहरू आफ्नै भवनबाट सञ्चालनमा छन् भने २ वटा भने निर्माणको क्रममा छन् ।
नगर प्रमुख आचार्यले सुविधा सम्पन्न भवनबाट सेवाग्राहीहरूलाई छिटो छरितो, चुस्त र जबाफदेही सेवा प्रवाहमा जोड दिए । नागरिकहरूलाई गुनासो रहित सेवा प्रवाह आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

वडाअध्यक्ष राधिका शाही योगीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख मन्जुदेवी गुरुङ, नेपाली कांग्रेस दलका नेता दिवसमान प्रधानांग, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा सदस्य विक्रम गुरुङ लगायतले महानगर तथा वडा कार्यालयहरूको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने बताउँदै सुविधायुक्त पूर्वाधारको नतिजा सेवामा देखिनुपर्ने बताए ।
४ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन ३ करोड ८६ लाखमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो । भवनको भुइतल्ला ३०९.४७ वर्ग मिटर, पहिलो तल्ला ३०९.४७ वर्ग मिटर, दोस्रो तल्ला ३०९.४७ वर्ग मिटर र तेस्रो तल्ला ५४.१७ वर्ग मिटर गरी जम्मा ९८२.५८ वर्ग मिटर क्षेत्रफलको छ ।




