छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरिएको छ । विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा आइतबार कक्षा १२ का बिद्यार्थीको बिदाइ गरिएको हो ।
कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष ईन्द्रबहादुर खत्रीले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै जीवनमा शिक्षा नै महत्वपूर्ण पुँजी भएको उल्लेख गरे । विद्यालय व्यवस्थापन समितिका सदस्य देवीप्रसाद बस्यालले विद्यार्थीको अनुशासन, लगनशीलता र सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै आगामी जीवन यात्रामा निरन्तर मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे ।
प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीलाई आत्मविश्वास, परिश्रम एवम् नैतिक मूल्य, मान्यताका आधारमा भविष्य निर्माण गर्न प्रेरित गर्दै समयको सदुपयोग गर्दै लक्ष्यप्रति केन्द्रित बन्न सुझाए । सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले आगामी बोर्ड परीक्षाको सफलताको कामना गर्दै सिकेका ज्ञान र सीपले नै भोलिको जीवनको मार्गदर्शन गर्ने स्पष्ट पारे ।
कक्षा १२ का सुशान्त पौडेलले कार्यक्रम आयोजना गरेकोमा विद्यालय तथा कक्षा ११ का विद्यार्थीलाई धन्यवाद दिए । कक्षा ११ का विद्यार्थीहरु समृद्धि तिमिल्सिना, सोनिया रेग्मी लगायतले कार्यक्रम अविस्मरणीय भएको बताए ।
विद्यार्थी आयुष बरालको अध्यक्षतामा भएको कार्यक्रम विद्यार्थीहरु सुबीर रेग्मी, राजन पौडेल, दीक्षा पोख्रेल र किञ्जल पोख्रेलले सञ्चालन गरेका थिए । बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुने छोरेपाटन माविमा ३ हजार ३ सयभन्दा बढी विद्यार्थी छन् । यहाँ कक्षा ११, १२तर्फ विज्ञान, शिक्षा, व्यवस्थापन तथा सामाजिक समूहका कक्षा सञ्चालनमा छन् ।




