भूगोलमा देशकै ठूलो महानगर पोखरामा बेला बेला अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने चर्चा चल्छ । सम्मेलन केन्द्र नहुँदा यहाँ ठूला कार्यक्रम कि त खुला चौरमा गर्नुपर्ने वाध्यता छ कि जीर्ण भइसकेको पोखरा सभागृहकै क्षमताबाट काम चलाउनुपर्छ । यही वाध्यतालाई केही हदमा भए पनि सम्बोधन गर्न पोखरा–८ मा रहेको पोखरा सभागृह पुनर्निर्माण गरिने भएको छ ।
२०४४ सालमा जनस्तरबाटै बनाइएको सभागृह चार दशकपछि मर्मत गरी सुविधासम्पन्न बनाउन लागिएको हो । अहिले २९ करोड लागतमा पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा यसको पुनर्निर्माण हुन लागेको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगर विकासको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा पुननिर्माण गर्ने निर्णय भएको जानकारी दिए ।
सभागृह पुनर्निर्माणका लागि डिजाइन तयार भइसकेको छ । अहिले एक हजार तीन सय जनाको क्षमता रहेको सभागृह पुननिर्माणपछि त्यसमा नौ सय १० जनाको क्षमतामात्र हुनेछ । सभागृहमा सिटहरु अन्तर्राष्ट्रिय स्तरका राख्दा क्षमता कम हुने देखिएको हो ।
सभागृहको अन्डर ग्राउन्डमा पार्किङ र प्रदर्शनी कक्ष बनाइनेछ भने उत्तरतर्फ दुई पाङ्ग्र्रे सवारीसाधनका लागि पार्किङ बन्ने छ । दक्षिणतर्फ शौचालय, दक्षिण पूर्वमा सानो हल र भान्छाघर बनाइनेछ । सभागृह मर्मतपछि कार्यक्रमका लागि डिजिटल स्क्रिनका कार्यक्रमको नाम देखाइने ब्यानर राख्नुपर्ने छैन ।
कार्यक्रम गर्ने सङ्घ, संस्था र सेवाग्राहीलाई उचित शुल्कमा सुविधा सम्पन्न सभा हल उपलब्ध गराउने लक्ष्य रहेको प्रमुख आचार्यले बताए । æसभागृहबाट प्राप्त आम्दानीमार्फत यसको सञ्चालन खर्च तथा लगानी व्यवस्थापन गर्ने योजना छ,Æ उनले भने ।
सभाहलको तल्लो भागको संरचना राम्रो रहेको र माथिल्ला संरचनालाई स्तरोन्नति गर्दा थप ४०/५० वर्ष प्रयोग गर्न अप्ठेरो नहुने अध्ययनबाट देखिएको छ । कफीसप, क्यान्टिन र डाइनिङ हलसहितको सभागृहले आफ्नो सञ्चालन खर्च धान्ने अपेक्षा गरिएको छ ।
यसअघि निजी कम्पनीलाई भाडामा दिने गरी सभागृह पुनर्निर्माण प्रक्रिया थालिएको भए पनि स्थानीयको विरोधका कारण सफल हुन सकेको थिएन । २०४५ देखि सञ्चालनमा आउँदा यसको नामा दीपेन्द्र सभागृह थियो । ०६२/०६३ को जनआन्दोलनपछि यसको नाम फेरेर पोखरा सभागृह राखिएको थियो ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको सभागृह १६ रोपनीमा छ । २०४४ सालमा सभागृह दुई करोड लागतमा बनाइएको थियो । निर्माणका समितिको सदस्य सचिव भई काम गरेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी विभिन्न सरकारी निकायसहित स्थानीयबाट चन्दा उठाएर सभागृह बनाइएको सम्झन्छन् ।
æपोखराका उद्योगी, व्यापारीले चन्दा दिएका थिए, पोखरा प्रवेशका सडकमा ढाँट राखेर मालबाहक सवारीसँग चन्दा उठाएका थियौं,Æ उनले भने, æहामीले निर्माण सकेपछि बचत भएको दुई लाखसहित सञ्चालनका लागि नगरपालिकालाई हस्तान्तरण गरेका थियौँ ।Æ




