गएको भदौ २३ गते दिउँसोसम्म ठिकठाक रहेको कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोडको भाटभटेनी सुपर स्टोरमा दिन ढल्किँदै जाँदा तोडफोड भयो । आगजनीपछि दुई दिनसम्म धुँवाको मुस्लो आइरह्यो । सामानसहित संरचना पूर्णरुपमा क्षति भए पनि भाटभटेनीले करिब दुई सय कर्मचारीलाई कामबाट निकालेन, पूर्ववत् सेवा, सुविधा दिईरह्यो ।
आन्दोलनमा खरानी भएको भाटभटेनी पुनर्निर्माणपछि सोमबारबाट सञ्चालनमा आएको छ ।स्टोरका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले औपचारिक रुपमा यसको सुरुआत गर्नुभएको हो । छ रोपनीमा रहेको यो स्टोरका दुई तलालाई पार्किङ बनाएर अरु तलामा पुरानै तवरले सामानहरु राखिएको छ । प्रबन्ध निर्देशक गुरुङले जेनजी आन्दोलनका बेला ध्वस्त भएका १२ शाखामध्ये पाँच शाखा सञ्चालनमा आइसकेको सुनाउनुभयो ।
æपुनः सञ्चालनमा आएको यो हाम्रो पाँचौं स्टोर हो, सात वटा बाँकी छन्,Æ उहाँले भन्नुभयो, æबाँकी शाखा पनि चाँडै सञ्चालन गर्ने वाला छौँ ।Æ उहाँले उत्साह, प्ररणा, हौसला दिने सबैप्रति आभार व्यक्त गर्दै पोखरेलीको पहिलेकै जस्तो साथ पाउने अपेक्षा गर्नुभयो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले न्युरोडको भाटभटेनी फेरि सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्नुभएको छ । æतपाईंले अप्ठ्यारो परिस्थितिमा पनि हरेस नखाई, साहस नगुमाई अघि बढ्नुपर्छ भन्ने प्रेरणादायी सन्देश दिनुभएको छ,Æ प्रमुख आचार्यले भन्नुभयो, æहरेक प्रश्नको जवाफ र हरेक समस्याको समाधान हुन्छ भन्ने विश्वास तपाईंको कार्यबाट प्रष्ट भएको छ ।Æ
आन्दोलनका बेला १६ अर्बभन्दा बढी क्षति भएको बताइएको छ । भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराई अहिले कार्यघन्टाका आधारमा तलव पाउने गरी एक सय कर्मचारी पोखरा शाखामा थपिएको बताउनुहुन्छ । æपहिलेका दुई सय कर्मचारी सबै हामीसँगै हुनुहुन्छ, अहिले हामीले कार्यघन्टाका आधारमा तलव पाउने गरी थप एक सय कर्मचारी राखेका छौँ,Æ उहाँले भन्नुभयो ।
भाटभटेनीका अहिले पोखराको तालचोक र चितवनको टाँडीमा नयाँ स्टोरहरु बन्दै छन् । तालचोकमा एघार रोपनी जग्गामा करिब दुई करोडमा बन्दै गरेको नयाँ स्टोर आउँदो मङ्सिरसम्ममा सञ्चालनमा ल्याउने तयारी छ । यो स्टोरका पूर्वाधारमा दुई अर्ब हाराहारी लगानी हुने व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो ।

खोटाङमा जन्मिनुभएका गुरुङले बैङ्किङ क्षेत्र हुँदै २०४३ सालमा काठमाडौंमा किराना पसल सुरु गर्नुभएको थियो । देशभर भाटभटेनीका २७ स्टोर सञ्चालनमा रहेकोमा आन्दोलनताका १२ स्टोर पूर्ण रुपमा क्षति भएका थिए भने नौ वटामा लुटपाट र तोडफोड भएको थियो । सात वटा स्टोर भने सुरक्षित थिए ।




