१९ का रोज्जा मुक्तक, रामजी सम्मानित

मुक्तक मञ्च केन्द्रीय समितिले स्थापनाको १९ औं वार्षिकोत्सवमा १९ मुक्तककारलाई नै मञ्चमा उभ्याएको छ । मञ्चले मुक्तक लेखनमा क्रियाशीलन किशोरकिशोरीसहित अग्रज मुक्तकका साधकलाई एउटै मञ्च प्रदान गरेको हो ।

सोही समारोहमा मञ्चका निवर्तमान अध्यक्ष रामजीप्रसाद आचार्यलाई सम्मान गरियो । संस्थालाई विभिन्न जिल्लामा विस्तार, मुक्तक महोत्सव आयोजना, पाठ्यक्रममा मुक्तक समावेश अभियान जस्ता कार्यक्रम गरी मुक्तकको उत्थानमा आचार्यको कार्यकालमा विभिन्न कार्यक्रम भएका थिए ।

कार्यक्रममा नयमित वाचनमा सहभागी तेजबहादुर तमूलाई उत्कृष्ट वाचक र मकवानपुर शाखालाई उत्कृष्ट शाखाका रुपमा सम्मान गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, अग्रज साहित्यकार सरुभक्त, सूर्य खड्का बिखर्ची, दुर्गाबहादुर शाह बाबा लगायतले उनीहरुलाई सम्मान अर्पण गरे ।

प्रदेशसभा सदस्य बरालले राष्ट्र, राष्ट्रियता, मातृत्व, माटो र मायालाई विषय बनाएका सिर्जनाले हाम्रो भाषा, कला, साहित्य र संस्कृतिलाई जीवन्त तुल्याउन अतुलनीय योगदान दिने बताए । कार्यक्रमले पुस्तान्तरणलाई समेत देखाएको बताउँदै बरालले स्रष्टा साधक राष्ट्रका अमूल्य निधि भएकाले यस्ता कार्यक्रममा आफ्नो सधैँ साथ र सहयोग रहनेसमेत प्रतिबद्धता जाहेर गरे ।

अग्रज साहित्यकार सरुभक्तले नेपाली साहित्यमा मुक्तकको श्रीवृद्धि र विकासमा पोखराको अभूतपूर्व र जीवन्त इतिहास रहेको स्मरण गरे । अग्रज गायिका हरिदेवी कोइरालाले १९ औं वार्षिकोत्सवमा १९ स्रष्टाकै मुक्तकसहितको मुक्तक उत्सव गरेर स्तूत्य कार्य गरेको जनाइन् ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति बिखर्चीले मुक्तक साहित्यको विकासमा मुक्तक मञ्चले पु¥याएको योगदान उल्लेख्य रहेको धारणा राखे । पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले मुक्तक साहित्य पछिल्लो समय सबैका लागि लोकप्रिय विधा भएको स्मरण गरे ।

मुक्तक उत्सवमा १९ मुक्तककारले मुक्तक सुनाएका थिए । जसमा अग्रजतर्फ शान्तिनारायण श्रेष्ठ, काजी रोशन, दिलीप दोषी, कृष्ण उदासी र लक्ष्मण थापा थिए । युवा पुस्तातर्फ रुपिन्द्र प्रभावी, सञ्जीव पौडेल, असफल गौतम, प्राञ्जल, टुकादेवी आचार्य, सागर तिम्सिना, राजेन्द्र घिमिरे, अर्जुन अधिकारी, शिव त्रिपाठी, बिर्सना बस्नेत, मिथिला अधिकारी, वीरेन्द्र सायर, रविन ढकाल तथा नव पुस्तामा आर्या त्रिपाठी र सिचु सारुले मुक्तक सुनाए ।

समारोहमा पोखरा चेम्बर अफ कमर्श कास्की अध्यक्ष उमराज बास्तोला, लोकदोहोरी गायक रामजी पौडेल, संस्थाका वरिष्ठ उपाध्यक्ष अम्बिका ओझा, उपाध्यक्ष किरण ढकाल, कोषाध्यक्ष करणकपुर खनाल लगायतले बोलेका थिए । मुक्तक उत्सव सफल पार्न योगदान पु¥याउने सबैलाई अध्यक्ष अम्बिका भण्डारीले धन्यवाद दिइन् ।