ai generated picture
जिल्ला अदालत कास्कीमा अंश, घरेलु हिंसा र मानाचामलसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा एक जघन्य आपराधिक घटना सतहमा आएको छ । व्यक्तिगत प्रतिशोध साँध्ने र आर्थिक लाभ लिने उद्देश्यले सुरु गरिएको यो संगठित ठगी प्रकरणमा अहिले प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको छ।
पोखरा महानगरपालिका–७ शान्तिनगरचोककी कञ्चन सेडाईलाई फसाउने नियोजित नियतका साथ विभिन्न व्यक्तिलाई चेक बाँडिएको र झूटा लेनदेनको दाबी गरिएको पुष्टि भएपछि घटनाले नयाँ र गम्भीर मोड लिएको छ । यस प्रकरणमा संलग्न रहेको आशंकामा राजु सुनारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ।
पीडित कञ्चन सेडाईका अनुसार उनका श्रीमान् अनुप घर्ती जिसीले नै घरको दराज तोडी चेकबुक चोरेर, किर्ते हस्ताक्षरमार्फत उनलाई कानुनी र आर्थिक झमेलामा फसाउने उद्देश्यले विभिन्न व्यक्तिलाई चेक वितरण गरेका हुन्। घटनाको विवरणअनुसार २०८२ मंसिर १६ गते र त्यसअघि पनि पटक–पटक कञ्चन घरमा नभएको मौका छोपी अनुपले प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र नबिल बैंकका तीनवटा चेकबुक, सुनका गरगहना र नगद चोरी गरेको दाबी गरिएको छ।
आफ्ना नामको चेक किर्ते हस्ताक्षरसहित विभिन्न व्यक्तिलाई दिइएको र रकम भराउन खोजिएको सूचना पाएलगत्तै कञ्चनले सम्बन्धित बैंकका खाताहरू रोक्का गराई प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा चेकमा रकम भरेर वार्गेनिङ गर्न खोज्ने सुनारलाई प्रहरीले पक्राउ गरी हाल तारेखमा राखेको छ।
चोरिएका चेकहरूलाई अवैध ढुकुटी र मिटरब्याजी कारोबारमा प्रयोग गरी अदालतमा मुद्दा दर्ता गराउने र त्यसैको आडमा पीडित सेडाईलाई फसाउने अनुपको योजना रहेको देखिन्छ। प्रहरीले पटक–पटक सम्पर्क गर्न खोज्दा पनि अनुप सम्पर्कविहीन बनेका छन्, जसले उनको संलग्नतालाई थप शंकास्पद बनाएको छ । यस आपराधिक गिरोहमा अनुपको परिवारका सदस्यहरू पूर्वशिक्षक झपटबहादुर, आमा मिठुकुमारी, दाइ अपार र बहिनी अमृताको समेत संलग्नता रहेको र उनीहरूमाथि पनि कानुनी कारबाही हुनुपर्ने माग उठिरहेको छ।
अनुसन्धानका क्रममा बाहिरिएको एक कल रेकर्डले यस घटनालाई थप पुष्टि गरेको छ। उक्त रेकर्डमा अनुपले चेक लिने व्यक्ति राजु सुनारलाई प्रहरी वा अदालतमा के–कसरी बोल्ने र चेक बाउन्स वा पैसा नदिएको विषयमा कसरी प्रस्तुत हुने भन्नेबारे स्पष्ट निर्देशन दिइरहेको सुन्न सकिन्छ । चेक चोरी भएको थाहा पाएलगत्तै कञ्चनले सम्बन्धित बैंकहरूमा खाता रोक्का गर्नुका साथै सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई सचेत गराएकी थिइन्।
कानुनी विज्ञहरूका अनुसार यस्ता मिटरब्याजी कारोबारी र ठगहरूले बैंकिङ प्रणालीको दुरुपयोग गर्दै …काउन्टर बाउन्सÚ गराउने र अदालतमा लेनदेनको मुद्दा दायर गरी पीडितलाई फसाउने गरेको पाइन्छ। यद्यपि, यस्ता गिरोहले अदालतमा मुद्दा दायर गर्दा प्रायः मिति र बार खुलाउन नसक्नु उनीहरूको कमजोर पक्ष हो।
यदि पीडितले फरेन्सिक परीक्षणको माग गरेमा चेकमा गरिएको हस्ताक्षर, मसीको प्रकृति र चेक काटिएको समयसम्बन्धी वैज्ञानिक तथ्यहरू सहजै खुल्ने गर्दछन्। फरेन्सिक ल्याबको परीक्षणबाट चेक चोरी भएको समयभन्दा पछि चेक काटिएको र दाबी गरिएको आर्थिक कारोबारको कुनै स्रोत नभएको तथ्य पुष्टि भएसँगै यस्ता जालसाजपूर्ण मुद्दा स्वतः खारेज हुने र उल्टै ठगीमा मुद्दा दर्ता हुने सम्भावना बलियो रहन्छ।
यस प्रकरणका मुख्य योजनाकार भनिएका अनुप घर्ती जिसीको विगत समेत आपराधिक रहेको पाइएको छ। उनी यसअघि नै घरमा भाडामा बस्ने १७ वर्षीया युवतीमाथि यौनहिंसा र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परी धरौटीमा छुटेका व्यक्ति हुन्। त्यसैगरी, चेक लिएर दाबी गर्ने राजु सुनार पनि विगतमा चोरीका सुनका गहना किनबेचको अभियोगमा जेल सजाय भोगिसकेका व्यक्ति हुन्। अनुपको परिवार नै मिटरब्याज, ढुकुटी र अवैध सुनको कारोबारमा सक्रिय रहेको पाइएपछि स्थानीय स्तरमा सुरक्षाको चिन्ता थपिएको छ।
पीडित कञ्चन सेडाईले यी चोरिएका चेकहरू फिर्ता नभए र दोषीमाथि कारबाही नभए थप कानुनी संघर्ष गर्ने चेतावनी दिएकी छिन्। उनले यसलाई केवल बैंकिङ कसुर मात्र नभई चोरी, किर्ते र संगठित ठगीको रूपमा व्याख्या गरेकी छिन्। जिल्ला प्रहरी कार्यालय कास्कीले हाल उक्त जाहेरीका आधारमा अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको छ।
पटक–पटकका हिंसात्मक घटना र यस्ता आपराधिक क्रियाकलापले गर्दा निर्दोष व्यक्तिको ज्यानसमेत जोखिममा पर्न सक्ने भन्दै स्थानीयले प्रहरी प्रशासनसँग कठोर कदम चाल्न माग गरेका छन्। प्रहरीले समयमै यस्ता किर्ते र ठगीको जरोसम्म पुगेर कारबाही नगर्ने हो भने, अंश मुद्दाको आवरणमा निर्दोष व्यक्तिले अनाहकमा प्राण गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन।




