पोखरा ३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताए । æहामी आइसकेपछि नेपालमा जति पनि विकास साझेदारहरू छन्, ती सबै पोखरामा आएका छन्, नगर प्रमुख आचार्यले भन्नुभयो, यो साना दुखले भएको चिज होइन, आज गएर ल हामीलाई यो गर्दिनुस् न भनेर भोलि पल्ट भएको पनि होइन ।Æ पोखरामा हाल ३३ अर्ब बढीका परियोजनाहरू सञ्चालनमा छन् ।
शिशुवाचोकदेखि खुदिखोलासम्मको सडक निर्माण सम्पन्न गरेको विश्व बैङ्क कै सहयोगमा उक्त सडकको दोस्रो चरण समेत निर्माण कार्य अगाडी बढ्ने अपेक्षा व्यक्त गर्नुभयो । तालचोक बेगनास सडक निर्माणमा भइरहेको ढिलाइप्रति उनले चिन्ता जाहेर गरे । आयोजना सञ्चालनका क्रममा देखा परेका विभिन्न बाधा तथा अवरोध लगायतका कारण निर्माण कार्य विलम्ब भइरहेको उनको भनाइ छ ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले पोखरा महानगरपालिकाको दिगो विकास निर्माण तर्फको यात्रा सह्रानीय रहेको बताए । पोखरा महानगरपालिकाको छिमेकी पालिका भएको नाताले रुपा गाउँपालिका दिगो विकासका अभियानहरूमा हातेमालो गर्न तयार रहेको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्यालले पोखरा महानगरपालिका नागरिकहरूको अपेक्षा अनुसार सेवामा पहुँचका पूर्वाधारहरू निर्माणमा प्रतिबद्ध रहेको बताए । लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बाबुराम गिरीले सकारात्मक सोचको विकासमा जोड दिए ।
पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक नरेन थापाले महानगरपालिका समग्र महानगरको समानुपातिक र समावेशी विकासका सिद्धान्तहरूको आधारमा अगाडी बढेको बताए । पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विकास अभियानमा साथ दिने सबै नागरिक तथा सरोकारवालालाई धन्यवाद दिए ।
लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुलीले सडक निर्माण भए पनि त्यस क्षेत्रका उपभोक्ताहरूलाई निकै सहज हुने जनाइन् । शिशुवादेखि खुदी खोला पुलसम्मको करिब ४.१४ किलोमिटर सडक निर्माण भएको हो । विश्व बैङ्कको ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँ आर्थिक सहयोगमा सडक निर्माण भएको हो । सडक नालीसहित १५ मिटर डबल लेन, ७ मिटर सपोट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुट ट्र्याक रहेको आयोजनाका फोकल पर्सन नवीन गौतमले जानकारी दिए ।
यो सडक १५ मिटर चौडा, दुवै तर्फ डेढ/डेढ मिटरका साइकल लेन र फुटपाथसहितको छ । अपाङ्गमैत्री यो सडकमा बत्ती, खानेपानी, विद्युत पोलहरुसमेत व्यवस्थापन भइसकेको छ । विश्व बैङ्कको करिब साढे तीन अर्ब लगानीमा पोखराका तीन सडक खण्ड स्तरोन्नतिमध्ये यो एक हो ।
परियोजनाको अर्काे सडक कालिकास्थान–पुडिटार–लामेआहाल १२.४४ किमीको छ । यो सडकको लागत एक अर्ब आठ करोड ४८ लाख ९१ हजार तीन सय २६ रहेकोमा ७७ करोड ६८ लाख ९२ हजार आठ सय ३७ मा आशीष निर्माण सेवा प्रालिले कामको जिम्मा लिएको छ ।
अर्काे सडक खण्ड तालचोकदेखि बेगनासको सडक स्तरोन्नतिले पनि अहिले गति लिएको छ । एक अर्ब ४९ करोड लागत योजना रहे पनि निर्माण कम्पनीले भ्याटबाहेक ७५ करोड ४८ लाखमा यसको ठेक्का पाएको छ । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमुना सडक बन्ने योजना भए पनि यो सडकमा अहिलेसम्म ७२ प्रतिशतमात्र काम भएको छ ।




