हुन त हजुरलाई मैले चिन्न नै कक्षा ३ मा पुग्नु परेको थियो । ममी तिम्रो बुवाको फोन आउँछ भनेर सदरमुकाम जाँदा म निकै फुरफुर हुन्थेँ । खुसीको राज के थियो भने ममीले फर्किदा मिठाइ ल्याइदिनु हुन्थ्यो । सानो हुँदा बुवा भन्ने कुराको याद मलाई छैन ।
म सानै हुँदा हजुर परदेशिनु भएको थियो । ममी भन्नुहुन्थ्यो–भाइ त जन्मेको मात्र थियो । अनि मैले कसरी चिन्नु त हजुरलाई ? म र भाइमा पुगनपुग दुई वर्षको अन्तर न छ । म १ कक्षामा पढ्दासम्म हुजरको नामसम्म थाहा थिएन । सच्चै भन्नुपर्दा मलाई हजुर मेरो बुवा हो भन्ने पनि थाहा थिएन । त्यो बेलाको रमाइलो याद ताजै छ । नेपाली गुरुले बुवाको नाम लेख्ने कक्षा कार्य दिनुभएको थियो । मैले उत्तरमा ‘ठूलोबुवा लम्साल’ लेखेकी थिएँ ।
गुरुले स्कुलका सबै गुरुहरुलाई बोलाएर ल्याउनुभएछ । उहाँहरु आउनुभयो र एकअर्काका अनुहार हेरेर, नबोली बस्नु भयो । शायद मैले सबै गुरुहरुलाई नतमस्तक बनाएछु । केही समय टोलाएपछि नेपाली गुरुले मेरो सिसाकलम माग्नुभयो । ब्लेडले तिखारेर चच्चो बनाउनुभयो । उहाँले मेरो हात समाएर पहिलो पटक बुवाको नाम लेख्न सिकाउनु भएको थियोः रामचन्द्र लम्साल । मेरो जिद्दी सकिएकै थिएन । मैले उहाँ मेरो बुवा नभएको भन्ने ढिपी कसेँ । मैले मेरो बुवा ठूलोबुवा नै हो भनेकी थिएँ । यसको कारण थियो, मैले चिनेको बुवा उहाँ नै हुनुहुन्थ्यो । अनि उहाँले नै मलाई बुवाले दिनुपर्ने अभिभावकत्व दिनुभएको थियो ।

कुरा यत्तिमै सिद्धिएन । गुरुहरुले मेरो ठूलो बुवालाई नै बोलाउनुभयो । ठूलोबुवा आएर मलाई मुसार्दै भन्नुभएको थियो, ‘तिम्रो ठूलोबुवा म अनि तिम्रो बुवा विदेशमा हुनुहुन्छ ।’ हजुरआमाको देहान्त भएपछि वर्खान्तमा हजुर आउँदा मैले पहिलो पटक चिन्ने मौका पाएकी थिएँ । ममीले मलाई बुवालाई नमस्कार गर भन्दा म लजाएर घरभित्रै दौडिएकी थिएँ । भाइ र दाइले भने गोडामै ढोगेका थिए । त्यो दिन हजुर आउनेबित्तिकै कपाल खौरिएर किरिया बस्नु भएको थियो । मलाई अरुले नानू भनेर बोलाउँदा हजुर छोरो भन्ने गर्नुहुन्थ्यो, त्यो भकारीले बारेको कोराबाट । म घरीघरी खुसी, अनि घरीघरी अचम्मित भएकी थिएँ । म छोरी हुँ, किन बुवाले छोरो भन्नुभयो होल भनेर म अचम्ममा परेकी थिएँ ।
हजुरले भन्नुभयो ‘म पास भएँ ।’ बारम्बार गम खाएँ, अर्थ बुझिनँ । अर्थ बुझ्न हजुर जस्तै कपाल हिउँजस्तै हुनुपर्छ हो बुवा ?
मलाई थाहा छ, त्यो बेला हजुरलाई धेरै नै अत्यास लागेको थियो । नत्र, १३ औं दिनको काम सकिनासाथ मलाई अंगाल्नुहुने थिएन । बुझ्ने भएपछि बुवा भन्ने चिनेको र अलिअलि बुझेको अपूर्व क्षण थियो त्यो । हजुरको स्पर्श र मायामा के थियो कुन्नि, त्यति बेला संसार जिते जस्तो भएको थियो । सबै खुसी मैसँग भएजस्तो लागेको थियो ।
घरबाट ५ मिनेटमै पुगिन्थ्यो स्कुल । तैपनि हजुर मलाई लिन आउनुहुन्थ्यो । हजुरको ठूलो, लामो ज्याकेटलाई बर्काे जस्तो लाग्थ्यो । ज्याकेटमा लुकाउने हजुरको इच्छा पूरा हुँदैनथ्यो, जब म घाँटीमा झुन्डिँदै माथि पुग्थेँ । अँ साच्ची बुवा, हजुरलाई चैतमा पनि गर्मी भएन त्यो भक्कु ज्याकेट लाउँदा ?
समय हाम्रो हातमा हुँदैन । बरु हामी समयको हातमा हुन्छौं । थाहै नपाई हजुरको ३÷४ महिनाको छुट्टी सकियो । फेरि हजुर विदेश जानुपर्छ भन्ने ममी र दिदीले रुँदै भनेको म अझै सम्झिन्छु । हजुर जाने बेला दिदी पनि आउनुभएको थियो माइत । भोलिपल्ट बिहानै ब्युझिएपछि मैले ममीलाई सोझेकी थिएँ, ‘बुवा खोई ?’

हजुर झिसमिसेमा हिडिसक्नुभएको थियो । म अल्लि ठूली भएकी भए, बिहानै उठेर हजुरलाई बिदा गर्ने थिएँ । सँग नलगेकोमा कोकोहोलो मच्याउने थिएँ । त्यति बेला पनि मैले ममीलाई निकै नै सकस पारेकी थिएँ । ममीले दाइलाई पसल पठाएर मिठाइ पाएपछि बल्ल म भुलिएकी थिएँ । बेला बेलामा बुवाममीबीच छलफल हुन्थ्यो । ठट्टैठट्टामा छोराछोरीको बाँडफाँट हुन्थ्यो । बुवा भन्नुहुन्थ्यो–दुई छोरी मेरा, २ छोरा तेरा । क्याम्पसको पढाइ नसक्दै दिदीको विहे भयो । बुवा बेला बेलामा मलाई भनिरहनुहुन्थ्यो, दिदीले पढ्न पाइनँ, दिदीको भाग पनि तिमीले पढ्नुपर्छ । त्यो बेला दिदीले कति पढ्नुभयो भन्ने मलाई थाहै थिएन । तै पनि म भनिदिन्थेँ–हवस् ।
हरेक पटक मेरो रिजल्ट हुँदा ममी बुवालाई मेरो पोजिसनबारे सुनाउनुहुन्थ्यो । बुवाले मेरो नतिजामा गर्व गर्दा ममीले भन्नुहुन्थ्यो, ‘पाउन अनि हुर्काउन परेन, अहिले मेरा छोराछोरी भन्नलाई कति सजिलो छ है ?’
हजुर ४ वर्षपछि घर आउँदा म सबैभन्दा बढी खुसी थिएँ शायद । हजुरलाई स्वागत गर्न घरदेखि धारासम्मको बाटो सासै नफेरी सफा गरेकी थिएँ । हजुरको आगमनले दसैं साच्चिकै दसैं बनेको थियो । जेठोबाट लगाउनुपर्ने ठीक हजुरले मबाट लगाउन खोज्नुभएको थियो । ममीले जेठोबाट लगाउनुपर्ने सम्झाएपछि ममीसँगै हजुरका हात दाइको निधारमा पुगेका थिए । हजुरलाई जेठो ठन्नुहुन्छ र, सायदको जेठो माया मैले पाएर पो त्यसो भएको हो कि ?
गाउँमा बाहिर जानुपर्दा मेरा साथीहरुको घरमा ठूलै छलफल चल्थ्यो । छोरीलाई बाहिर जाने अनुमति हत्तपत्त कहाँ मिल्नु ? तर म सधै सजिलै घरबाहिर जाने अनुमति पाउँथे । किन, कोसँग, कहाँ जाने जस्ता प्रश्नको सामना मैले हजुरबाट गर्नै परेन । हजुरको बारम्बारको भनाइ मलाई अझै प्रेरणा बनेर आइरहन्छः तिमीलाई जे खान, जे लाउन, जहाँ जान म छ, म पु¥याउँछु । यत्ति सम्झनू कि म के हुँ र मेरो कर्तव्य के हो ?
त्यसपछि गंगामा निकै पानी बगिसकेको छ । अहिले म परिवार सम्हाल्नुपर्ने अवस्थामा आइपुगेकी छु । महसुस गर्दै छु, सबै कुरा कसैले कसैका लागि पु¥याउन सम्भव छैन । तथापि हजुरको त्यो आदर्श र मायाको भनाइले ममा भरेको उत्साह र आत्मविश्वास कुनै विश्वविद्यालयले मलाई दिन सक्दैनन् । हजुरले त्यसरी ज्ञान दिँदा मेरो छट्टु भाइ मौकाको फाइदा लिइहाल्थ्यो । ऊ भन्थ्योः म मामघर जान्छु । अनि हामी पाँचै जना उत्मुक्त हाँसो हास्थ्र्यौं । सायद जीवनको मुख्य खुसी नै त्यही रहेछ । यस्तो समय जीवन हम्मेसी आउँदैन ।
३ छोराछोरीसहित घर, व्यवहार चलाउने सकसले हजुरलाई परदेशी बनाइदियो । हजुर घर नहुँदा हामीलाई घर छ र तर घर छैन जस्तो लागिरहन्थ्यो । हजुर घर आउँदाको ३, ४ महिना हामीलाई यति छोटा हुन्थे कि पत्तै नपाई सकिइहाल्थे । हजुर विदेश गएपछिका दिन भने वर्ष जस्ता लामा बनिदिन्थे । हजुर विदेश नजाने गरी घर आएपछि फेरि दाइ विदेशिन प¥यो । स्वदेशमै खान, लाउन र जीवन यापनको दरिलो माध्यम नहुँदाको नेपाली दुःखले हामीलाई कहिल्यै छाड्ने भएन । मैले पनि थप अध्ययनका लागि घर छाडेँ ।
समाजका कुरीति फेर्ने गफ मञ्च र चिया पसलमा गर्न साह्रै सजिलो छ । तर व्यवहारमा लागू गर्ने बेला धेरैका आदर्श स्खलित हुन्छन् । हजुरलाई गाउँलेले भनेको अझै म सम्झन्छुः छोरालाई खाडी पठाएर छोरीलाई सहरमा पढाउने तेरा आँखा सद्दे रहेनछन् । हजुरले त्यस बेला दिएको उत्तरले मलाई अहिले बेला बेलामा आइपर्ने दुःखमा उत्साह भर्छ । हजुरले विनम्रतापूर्वक भन्नुभएको थियो, ‘मेरा आँखा ठीक छन्, बरु हजुरले चश्माको पावर बढाउनुहोला ।’
मेरो दाइ पनि बुवासरह नै हुनुहुन्छ म र भाइका लागि । शायद सबैजसो दाजुहरु बुवासरह नै हुनुहुन्छ होला, त्यसैले हामीबीच कुनै पनि आवश्यकताले कहिल्यै पूरा हुन पर्खिनुपर्ने मौका पाएन ।
मेरा ४ वर्षको नर्सिङ सकेर घर फर्किदा हजुर त्यतिकै खुसी हुनुहुन्थ्यो, जति हजुर घर आउँदा म पुलकित हुन्थे । छोटो समयमै धेरै ज्ञान बाड्ने हजुर साच्चै महान् हुनुहुन्छ । बोलेरमात्र केही हुँदैन, आफ्नो लागि आफैं केही गर्नुपर्छ भन्ने हजुरका मान्यता नै हामी छोराछोरीका लागि भरपर्दाे औजार हो । कहिल्यै नथाक्ने ती हजुरका पाखुरा र नडग्मगाउने पाइतालाले हामीलाई सधै स्वाभिमानको बाटो देखाउने गरेका छन् ।
हजुरकै जस्तो मेरो पनि भोक नमेटिएर होला, कता कता मलाई पनि अब माटर्स गर्नुपर्छ भन्ने लाग्यो । मैले पढ्ने निर्णय गरे । बेलायत जानका लािग भिसा हात पर्नासाथ सुनाएको मलाई याद छ । त्यो सन्देश सुन्नासाथ हजुरको खुसी प्रत्यक्ष देख्न नपाए पनि म अझै महसुस गर्न सक्छु । मेरो दीक्षान्तमा हजुर पनि सरिक हुने वाचासहित हजुरको आशीर्वाद शिरमा राखेर उ सात समुद्र पारि उडेकी थिएँ ।
सबैभन्दा ठूलो भनेको समय नै रहेछ । खै समय छिटो भयो कि म ढिलो भएँ कुन्नि ? हजुरलाई दीक्षन्तमा उपस्थित गराउन सकिनँ । क्षमा चाहन्छु । धेरै रहर थियो, कालो टोपी हजुरको हिउँजस्तो बनिसकेको सेतो टाउकोमा लगाउने । परिस्थितिले त्यो रहर पूरा भएन । धन्न प्रविधिले साथ दियो, हामी सँगसँगै भयो भिडियो कलबाट । प्रविधिलाई धन्यवाद । हजुरले भन्नुभएको थियो, ‘म पास भएँ ।’ बारम्बार गम खाएँ, बिचारी रहेँ तर हजुरको अर्थ राम्ररी बुझिनँ । सायद हजुरको अर्थ बुझ्न हजुर जस्तै कपाल हिउँ जस्तै हुनुपर्छ हो बुवा ? हजुर पास भएको प्रमाणपत्र लिएर हजुरलाई भेट्ने मेरो उत्कट इच्छा समयकै शक्तिमा निहित छ । चाडै हजुरको प्रमाणपत्र र छोरी हजुरसमक्ष हाजिर हुने छन् बुवा !




