पुरुष सत्ताको प्रतिपक्षी कविता

पहराको फूल अप्ठ्यारोमा उभिएको जीवन हुन सक्छ । पहराको फूल अतृप्त सपना हुन सक्छ । पहराको फूल कुनै नारीको बेदना पनि हुन सक्छ । सगरमाथा साहित्य प्रतिष्ठानले प्रकाशित गरेको लिली अधिकारीको कविता संग्रह पहराको फूलका शब्दहरुलाई आँखाले स्पर्श नगर्दै मैले बनाएका धारणा यि र यस्तै यस्तै थिए । पुस्तक अध्ययन गरेपछि लाग्यो मैले निकालेको अर्थ र कविले भन्न खोजेको कुरामा तादात्म्य मिल्यो क्यार !

अर्काको छाता शीर्षकमा आँखा रोकिए । अर्काको छाता ओढ्नुभन्दा दुखको घामले डढाओस् , वेदनाको झरीले लिछिप्पै रुझाओस् केही छैन । दुखको जंगलमा मोती भएर चम्कन सकुँ । भलै जंगलमा मोतीको कदर होला नहोला । यसले के कुरा ईंगित गर्छ भने लिली अधिकारी भित्र एउटा कवि छ । त्यो कवि स्वाभिमानी छ । संघर्षशील छ । उही गोपाल योन्जनको गीतले भन्या जस्तो म आगो सहन्छु अन्याय सहन्न , म बरु तृष्णा सहन्छु तिरस्कार सहन्न ।

बा उखु नरोप्नुस् न !
त्यो पछि अध्यारो घारी बन्छ
मलाई निकै डर लाग्छ
उखुका पातजस्ता
धारिला – धारिला हतियार भएका हिंस्रकहरु लुक्छन्
जति गरेपनि गुहार पाइँदैन बा
आफैले न्याय नपाउने
यस्तो ब्यभिचारीको बगैंचा नबनाउनुस् ।
मलाई मन परेका केही कविता मध्य एक उखुघारी हो ।

कविलाई चिन्ता छ उखुघारी फैलिनु भनेको फूलबारी असुरक्षित हुनु हो । उखुघारी भित्र दिउसै पनि अध्यारो हुन्छ । अध्यारोको पर्दा पछाडी लुकेर उखुका धारिला पात जस्ता हातहरुले फूलका गला रेट्न सक्छन् । त्यहाँ निर्मला पन्तका चोलीहरु च्यातिन सक्छन् । चुल्ठीहरु लुछिन सक्छन् । उनी महिला माथिको सबै प्रकारका हिंसा बिरुद्ध सभ्य शैलीमा बिद्रोह बोल्छिन् ।

पहराको फूलले आक्रोशको गीत पनि गाउँछ । फूल फुल्नै हुँदैन पत्थरको छाती र मरुभूमिको तिर्खा भएका भमराहरु कहाँ -कहाँबाट लुछ्न आइहाल्छन् । जब बसन्तमै लुछिन्छन् कलिला पालुवाहरु कसरी आउँछ हरियाली भनेर उनी प्रश्न गर्न चाहान्छिन् । इतिहासदेखि नै श्रापित छन् यातनाको भारी उठाउन फूलहरु । सभ्यता , समानता र सह -अस्तित्वको आकास टाँग्नका निम्ति सियो र कलमको मितेरी साइनो आवस्यक छ भन्ने उनको मत छ ।

सुन्दरता बढाउने सुनले होइन, स्वाभिमानले हो भनेर आधा आकाशको सशक्तिकरणमा आत्मबल जुटाएर लाग्न उनले पहरामा जरा गाडेर उभिएका फूलहरुलाई आह्वान गरेकि छन् ।

उनी पुरुष सत्ताको प्रतिपक्षी कवि हुन् । महिलाहरु पुरुषको तिर्खा तृप्तिका साधन होइनन् । पुरुषहरुको बंश चलाइदिन मात्र पनि जन्मिएका होइनन् । मर्यादा र अनुशासन भित्र बस्ने भन्ने पनि एक सिमा हुन्छ । त्यो सिमासम्म मात्र महिलाहरु सहन सक्छन् । समाजको पुरानो बुटजुत्ता मुनि दबिएर आजीवन सकसको श्वास फेर्नु भनेको त आफैलाई आफैले अन्याय गर्नु हो भन्ने उनको बुझाई छ ।

आफ्नो अधिकार , पहिचान र स्वाभिमानका निम्ति हामी नारी जाति आफै उठौं । अरुले खुट्टा लगाइदिएर उभिन सकिदैन । सुन्दरता बढाउने सुनले होइन, स्वाभिमानले हो भनेर आधा आकाशको सशक्तिकरणमा आत्मबल जुटाएर लाग्न उनले पहरामा जरा गाडेर उभिएका फूलहरुलाई आह्वान गरेकि छन् । समाज र संस्कृतिले नेपाली नारीमाथि गरेको दमन बिरुद्ध आवाज उठाउन प्रेरित गरेकि छन् ।

कतै मिले – मिले जस्तो हुनु
कतै नमिले – नमिले जस्तो हुनु
केही पुगे- पुगे जस्तो हुनु
केही नपुगे -नपुगे जस्तो हुनु
सधैं कतै न केहीको महासागरमा
गहिराइ र सतहसंग निरन्तर
डुब्नु र उत्रनु नै रहेछ जिन्दगी ।

कविले बुझेको जिन्दगीलाई अरु धेरै पाठकले पनि यसरी नै बुझेको हुनुपर्छ शायद । जब पाठकलाई श्रष्टाले आफ्नै कथा, आफ्नै ब्यथा वा आफ्नै भोगाइ र बुझाई लेखिदिएको प्रतीत हुन्छ । एक अर्थमा त्यो सफल सर्जक हुन्छ ।

५६ थान कविताहरुको यो कृतिमा युद्धको बाछिटा , कोरोनाको विपत्ति , प्रकृतिको बर्णन , प्रेमको समर्पण , बेथितिमाथि आक्रोश , देश -समाजप्रतिको प्रेम लगाएतका स्वाद भेट्न सकिन्छ । कविता बिचारमात्रै पनि होइन । कलामात्रै पनि होइन । दुबै चीजको सन्तुलित मिश्रण हो भन्नेमा लिली अधिकारी सचेत छिन् । पहिलो संग्रह भएता पनि उनि सिकारु कवि जस्तो लाग्दिनन् । पाठकलाई सुरुदेखि तान्दै अन्त्यसम्म लैजान्छिन् ।

कुनै -कुनै कवितामा उनले अभ्यास गरेका अमुर्त शब्द र बिम्बहरुले भने पाठकलाई केही अलमल पारिदिन सक्छन् । केही बुझे – बुझे जस्तो पनि लाग्ने र केही नबुझे – नबुझे जस्तो पनि लाग्ने । बिषयबस्तुको बिबिधताका हिसाबले उनी फैलन सक्ने ठाउँहरु अझै पनि बाँकी छन् । समय र समाज समस्यामात्र होइनन्, आफैमा समाधान पनि हुन् भन्ने विशिष्ट दृष्टिकोण बनाई, कविताको दार्शनिक चेहरा समेत प्रतिबिम्बित हुने गरि भविष्यमा एउटा बौध्दिक कविको छवि निर्माणमा उनि अग्रसर हुने अपेक्षा गर्न सकिन्छ ।