नेपाली आख्यान साहित्यमा एक दर्बिलो स्थान ओगट्न सफल भएका, आजको मितिमा सबैभन्दा धेरै चर्चामा आएका असमका लीलबहादुर क्षत्री बहुमुखी प्रतिभाका धनी हुन्। मुख्यत: आख्यानकारका रूपमा परिचित, चर्चित र समादृत भए तापनि क्षत्रीको साहित्य यात्राको थालनी भने कविता विधाबाट भएको हो। सन् १९४९ मा १६ वर्षको उमेरमा उनको पहिलो काव्यकृति ‘शिव स्तुति’ सिलाङबाट प्रकाशित हुन्छ। पछि सन् २००१ मा हाम्रोध्वनिको कविता विशेषाङ्कमा उनका कविताहरू प्रकाशित भए। जीवनका विभिन्न समयमा लेखेर छरपस्ट रहेका आफ्ना कविताहरूलाई भेला पारेर सन् २०२१ मा “पद्यात्मक रचनाभित्र लीलबहादुर” शीर्षकमा उनको अर्को काव्यकृति र अहिलेसम्मको अन्तिम पुस्तक प्रकाशित भएको छ।
कविताबाट क्षत्रीको साहित्ययात्रा बिस्तारै उपन्यासतर्फ मोडियो र नाटक, कथा, निबन्ध आदि साहित्यका सबै विधा चहार्न पुग्यो।सन् १९५७ मा मदन पुरस्कार पुस्तकालय काठमाडौंबाट उनको पहिलो सामाजिक यथार्थवादी उपन्यास “बसाइँ” प्रकाशित हुन्छ। यस उपन्यासलाई दुईपटक अङ्ग्रेजीमा अनुवाद गरियो। पहिलो लोरी हर्टसेलले र दोस्रोपटक माइकेल जे हटले। अङ्ग्रेजी उप्रान्त “बसाइँ” उपन्यास, असमिया, हिन्दी, चिनियाँ आदि अनेक भारतीय र विदेशी भाषामा अनूदित भइसकेको छ। प्राध्यापक क्षत्रीको बहुचर्चित उपन्यास “बसाइँ” देवकोटाको “मुना मदन” पछि सर्वाधिक प्रकाशित भएको नेपाली पुस्तक हो। यस उपन्यासका आजसम्म ३७ संस्करण प्रकाशित भइसकेका छ्न् र यो संसारका विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा गाभिएको छ। बसाइँको चलचित्र रूपले ओस्करमा मनोनयन पाउनु कम कुरा होइन।
बसाइँका अतिरिक्त क्षत्रीले अरू तीनथान उपन्यासको सिर्जना गरेका छ्न्। सामाजिक यथार्थवादी कित्ताका स्रष्टा क्षत्रीले फ्रायडेली मनोवैज्ञानिक सिद्धान्तको प्रतिपादन गरेर उनको दोस्रो उपन्यास ‘अतृप्त’को रचना गरे। बसाइँभन्दा फरक विषय, फरक वातावरण, फरक सिद्धान्त र फरक भाषाशैली प्रयोग गरेर एघार वर्षपछि(१९६८) लेखेको “अतृप्त” फ्रायडेली मनोविज्ञानको आधारमा पूर्वोत्तरबाट लेखिएको पहिलो उपन्यास हो। अतृप्तका पनि छवटा संस्करणहरू प्रकाशित भइसकेका छ्न्। उनको तेस्रो उपन्यास हो “ब्रह्मपुत्रका छेउछाउ”। असमको वातावरण र आञ्चलिक यथार्थ बोकेको यस उपन्यासको भाषाशैली पनि बसाइँ र अतृप्तभन्दा भिन्न छ। बसाइँमा पूर्व नेपालको भाषिकाको प्रयोग छ भने अतृप्तमा काव्यिक र मानक नेपाली भाषाको प्रयोग छ। “ब्रह्मपुत्रका छेउछाउ” असमको स्थानीय वातावरण र नेपालीहरूको यहाँका रैथानेहरूसँगको हेलमेलले गर्दा यसको भाषाशैलीमा स्थानीय भाषाको भरमार छ। यस उपन्यासले सन् १९८७ मा साहित्य अकादमी पुरस्कार प्राप्त गर्यो। उल्लेखयोग्य के छ भने पूर्वोत्तरबाट साहित्य अकादमी प्राप्त गर्ने यही पहिलो पुस्तक हो र प्रा. क्षेत्री नै यस भेकका एकादमीप्रापक पहिलो स्रष्टा हुन्।
उनी साहित्यका सबै विधामा आफ्नो सशक्त योगदान पुर्याउने पूर्वोत्तर अग्रणी प्रतिभा हुन्। असमेली नेपाली साहित्यका देवकोटा हुन्, इन्द्रबहादुर राई हुन्।
यो उपन्यास असमिया, बोडो, राजस्थानी आदि भाषामा अनूदित भएको छ। क्षत्रीद्वारा रचित पछिल्लो उपन्यास हो “प्रतिध्वनिहरू विस्मृतिका”(२००४)। उनका आफ्ना बुबा प्रेमबहादुर क्षेत्रीको जीवनमा आधारित यस कृतिमा समकालीन असमेली गोर्खालीहरूको जीवन, असमको आर्थिक र सामाजिक स्थिति, भारतको स्वतन्त्रता सङ्ग्राम आदिको ऐतिहासिक तथ्य पाइन्छ।
प्राध्यापक क्षत्रीले “तीन दशक : बीस अभिव्यक्ति” (१९८३) र “लीलबहादुर क्षत्रीका कथाहरू” (१९९३) शीर्षक दुईथान कथा पुस्तक प्रकाशित गरेर नेपाली आख्यान साहित्यमा थप योगदान पुर्याएका छ्न्। उपन्यासहरू जस्तै उनका कथाहरू पनि सामाजिक यथार्थवादको सेरोफेरोभित्र रचिएका छ्न् भने केही कथाहरू स्वच्छ्न्दतावाद र आदर्शवादका बाछिटाले भिजेका छ्न्।
“छरिएको बिस्कुन” लोककथाको आधारमा रचिएको उनको अर्को कथाकृति हो। असम नेपाली साहित्य सभाद्वारा प्रकाशित यो कृति सन् २०१६ मा प्रकाशनमा आउँछ।
क्षत्रीलाई आख्यान साहित्यको मुकुट पहिराएर आख्यानकारकै साँध-सीमाभित्र राख्न खोजे तापनि उनको निबन्ध प्रतिभालाई कतै छोप्न मिल्दैन। प्रकाशित निबन्धलाई सङ्ख्याकै हिसाबले हेरौँ अथवा गुणवत्ता नै हेरौँ आख्यानभन्दा निबन्धमा उनले कम आत्मनियोग गरे भन्न मिल्दैन। उनका प्रकाशित निबन्धहरूको सूची यसप्रकार छ –
असममा नेपाली भाषाको साह्रो-गाह्रो (१९६१)
पूर्वाञ्चल भारतीय नेपाली कथा-साहित्य र पत्रकारिताको इतिवृत्त (१९९७)
झ्याउरे पार्टीमा लाग्दा (१९९९)
पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन (२०००)
सिमलको भुवा (२०११)
यस उप्रान्त पनि उनले विभिन्न समयमा विभिन्न पुस्तकका लागि लेखेका भूमिकाहरूको सँगालो पनि प्रकाशनमा आइसकेको छ। अझ पनि उनको सात दशकको साहित्य यात्रामा विभिन्न पत्रपत्रिकामा प्रकाशित सयौं निबन्ध,अन्तर्वार्ता आदि असङ्कलित रूपमै छरपस्ट रहेका छ्न्।
प्रवृत्तिगत तरिकाले हेर्दा क्षत्रीका निबन्धहरू खोज-अनुसन्धानमूलक, ऐतिहासिक तथ्यपरक, जातीय समस्यामूलक, भाषा-साहित्य-संस्कृतिविषयक र नियात्रापरक छ्न्।
यति हुँदाहुँदै पनि पूर्वोत्तरको आख्यान विधालाई अँगालोमा हालेर उनले जुन स्थानसम्म पुर्याए निबन्धका क्षेत्रमा सायद त्यो भएन। सायद पूर्वोत्तरको नेपाली निबन्धलाई प्रतिष्ठित गर्ने श्रेय मणिसिङ गुरुङबाट र कवितालाई प्रतिष्ठित गराउने श्रेय हरिभक्त कटुवालबाट उनले खोस्न सकेनन्। फरक यति छ उनी साहित्यका सबै विधामा आफ्नो सशक्त योगदान पुर्याउने पूर्वोत्तर अग्रणी प्रतिभा हुन्। असमेली नेपाली साहित्यका देवकोटा हुन्, इन्द्रबहादुर राई हुन्।
लीलबहादुरले नेपाली नाटक र एकाङ्कीको विकासका लागि पनि धेरै काम गरेका छ्न्। रेडियो रूपक, एकाङ्कीदेखि पूर्णाङ्क नाटकसम्म रचना गरेर उनले हरिनारायण विद्याभूषणहरूले थालेको र प्रेमसिङ सुवेदीहरूले मलजल गरेको असमेली नेपाली नाट्य साहित्यमा तीन थान नाटक थपेर यसलाई समृद्ध पारेका छ्न्। उनका प्रकाशित नाटकहरू यसप्रकार छ्न्।
दोबाटो (१९६७)
शुरुको शुरु (१९८७)
माग (एकाङ्की, १९७८)
उनका अरू केही असङ्कलित नाटकहरू हालैमा काठमाडौंबाट प्रकाशित हुन गइरहेका छ्न्। सात दशक लामो साहित्ययात्रामा उनी धेरै सम्मान र पुरस्कार पाउन सफल भए।पद्मश्री पुरस्कार प्राप्तिको आनन्ददायक क्षणमा आइपुग्ने यात्रापथमा उनी धेरै राष्ट्रिय र अन्तराष्ट्रिय सम्मान र पुरस्कारले सम्मानित भइसकेका थिए। सन् १९८३ मा नेपाली साहित्य सम्मेलन दार्जिलिङले ‘दियालो पुरस्कार’ प्रदान गरेपछि उनले सम्मान र पुरस्कारका लागि पर्खिबस्न परेन। सन् १९८५ मा पश्चिम बङ्गाल राज्य सरकारले प्रदान गर्ने ‘भानु’ पुरस्कार प्राप्त गरे र एउटै कृति ‘ब्रह्मपुत्रका छेउछाउ’ उपन्यास सन् १९८७ मा साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल बन्यो। यसका अतिरिक्त उनले प्राप्त गरेको पुरस्कारहरूको तालिका यसप्रकार छ –
नेपाली भाषा-साहित्यमा उनको आजीवन लगनशीलता र शिक्षा क्षेत्रमा रहेको योगदानका निम्ति उनलाई यस सम्मानले सम्मानित गरिएको हो।
‘मदन स्मारक व्याख्यानमाला सम्मान’, वाराणसी, – २००१
वेदनिधि पुरस्कार (काठमाडौं)- २००३ ,
अगम स्मृति पुरस्कार (सिक्किम)- २००५
असम नेपाली साहित्य सभा पुरस्कार, २००६,
अभिजमान ट्रस्ट पुरस्कार, कुवैत, २००८
सिक्किम सम्मान सम्मेलन गान्तोकद्वारा सम्मानित, २००४
नई देरुनिख अन्तराष्ट्रिय पुरस्कार, २०१२
पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार (अभि-जामान ट्रस्ट्रद्वारा), २०१२
हरिभक्त कटुवाल स्मृति पुरस्कार(असम नेपाली साहित्य सभा, २०१३)
जगदम्बाश्री अन्तराष्ट्रिय पुरस्कार, काठमाडौ, २०१६
बसुन्धराश्री पुरस्कार, काठमाडौ, २०१६
यसपटक पद्मश्री पुरस्कारले सम्मानित भएर क्षत्रीले समग्र पूर्वोत्तरका गोर्खाहरूको शिर उँचा पारे। कारण यो पुरस्कार थाप्ने उनी पूर्वोत्तरका पहिला गोर्खा सपूत हुन। पूर्वोत्तर भारतका साहित्य शिरोमणि, आर्य विद्यापीठ कलेज, गुवाहाटीका अर्थशास्त्रका सेवानिवृत्त अध्यापक लीलबहादुर क्षत्रीलाई सोमवार(नोभेम्बर ८,२०२१) राजधानी नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक गरिमामय समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दको बाहुलीबाट देशको चौथो सर्वोच्च असामरिक सम्मान “पद्मश्री पुरस्कार”ले सम्मानित गरियो। नेपाली भाषा-साहित्यमा उनको आजीवन लगनशीलता र शिक्षा क्षेत्रमा रहेको योगदानका निम्ति उनलाई यस सम्मानले सम्मानित गरिएको हो। राष्ट्रपति भवनमा सम्पन्न एक भव्य कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत थुप्रै गण्यमान्य व्यक्तिहरूको उपस्थितिमा राष्ट्रपति रामनाथ कोविन्दका बाहुलीबाट क्षत्रीले यो सम्मान थापे। यस प्रतिष्ठित सम्मानले सम्मानित हुने क्षत्री पूर्वोत्तर भारतका प्रथम गोर्खा सन्तान हुन्।
सन् १९३३ मा गुवाहाटीको पुलिस रिजर्भमा जन्मिएका लीलबहादुर क्षेत्रीले गुवाहाटीको आर्य विद्यापीठ कलेजमा अर्थशास्त्रको विभाग प्रमुख भएर सन् १९९४ मा अवकाश प्राप्त गरे। आज पुगनपुग नब्बे वर्षको उमेरमा पनि उनको लेखनमा विरामचिह्न लागेको छैन।




