१२ जना पावर हाउसभित्रै फसेको आशंका गरिएको रसुवागढी जलविद्युत आयोजनामा उद्धारको काम सुरू भएको छ।
बाढीपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन छन्। कम्पनीका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना र तीन वटा ठेकेदार कम्पनीका ३९ जना सम्पर्कविहीन छन्।
उनीहरूमध्ये करिब १२ जना भित्रै फसेको आशंका गरिएको छ। बाढीको १० दिनपछि शनिबार मात्रै सेनाबाट उद्धार काम सुरू भएको हो।
यसअघि आवश्यक उपकरण नहुँदा उद्धार काम सुरू हुन सकेको थिएन। आयोजनास्थल वरपर खोजी तथा उद्धारका लागि भने कम्पनीले आफ्नै पहलमा उद्धार टोली खटाएको थियो।




