त्रिशूली थ्री ए को सुरुङबाट उद्धार गरिएका सञ्जय शाहले आफूभित्र मन्त्र जप्दै बसेको बताएका छन् । सप्तरीका उनले नेपाली सेनाको स्वास्थ्य टोलीसँग कुरा गर्दै ‘महामन्त्र जप गर्दै बसेको’ बताए । उनले भने, ‘म कन्ट्रोल रुममा कार्यरत् थिएँ, मेरो दायित्व सबैको ज्यान बचाउनु थियो ।’ सबैलाई भाग्न लगाउँदा आफ्नो समय अन्तिममा आएको र निस्किनै नपाएको उनले बताएका छन् । अरू केही सुरुङभित्र आफू नजिकै भएको उनले बताएका छन् ।
प्रस्तुत छ, सैनिक अधिकारीहरूले गरेको प्रश्न र उनको जवाफको सम्पादित अशं
भित्र कति जना जति छन् होला ?
भित्र त म कन्ट्रोल रुममा काम गर्थें । आजकल अरू समयमा ४, ५, ६ जना मात्र हुन्थे । यो समयमा चाहिँ ४०र४५ जना नै थिए होलान् । कन्ट्रोल रुममा भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो । त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन । सबैलाई बचाउनुपर्यो । सबैलाई बचाउने क्रममा मैले भने एक्सिडेन्ट भयो ठूलो ड्याममा । अनि, सबैलाई भाग्न लगाएँ । त्यसो गर्दा मेरो समय गयो । अन्तिममा म निस्किनै पाइनँ ।
अझै भित्र कति जना अड्किएको महसुस भएको छ ?
अड्किएको हाम्रो सम्पर्कमा कुरा भएकोमा ३,४ जनामात्र थिए, नजिक छेउछाउ कुरा गर्दा, हल्ला गर्दा ।
भित्र पावर हाउस पनि थियो, त्यहाँ पनि छन् होला मान्छेहरू ?
हुन सक्छ । सबै भाग्न नसकेका होलान् । टनेल लामो छ । टनेलमा भए पनि पानी फोर्सले भित्र लगिसकेको होला । टनेल एकदम लामो छ ।




