मानवअधिकार, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने व्यक्तित्वहरू समाजका अमूल्य सम्पत्ति हुन् । ती व्यक्तित्वका अनुभव, दक्षता, ज्ञान र समर्पणकै जगमा मानव समाजले यहाँसम्मको यात्रा तय गरेको हो । पोखराका अग्रणी मानवअधिकारकर्मी टेकनाथ बराल त्यस्तै एक प्रेरणादायी र विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको स्मरण गर्दा दुई दशकभन्दा लामो सहकार्यका असंख्य सम्झना मानसपटलमा एकपछि अर्को गर्दै झल्झली आउँछन् ।
मैले टेकनाथ बरालसँग करिब २० वर्ष विभिन्न सामाजिक, मानवअधिकार तथा जनचेतनामूलक अभियानमा सँगै काम गर्ने अवसर पाएँ । उहाँ केवल अधिकारकर्मी हुनुहुन्नथ्योÙ सत्य, न्याय र मानवीय मूल्यप्रति अटल प्रतिबद्धता भएका असल मार्गदर्शक तथा समाजसेवी पनि हुनुहुन्थ्यो । मानवअधिकारको क्षेत्रमा सक्रिय बराल राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।
लामो सेताम्मे दाह्री, फुलेको कपाल, झरिसकेका दाँत तर उत्साह र ऊर्जा भने १६ वर्षे युवाको जस्तै । बाह्य रूप हेर्दा कुनै पुरोहित जस्ता देखिने तर चिन्तन र व्यवहारमा पूर्णतः प्रगतिशील तथा नास्तिक । सेतै फुलेको दाह्री नै उहाँको परिचय बन्यो । धेरैका लागि उहाँ æदाह्री बाÆका नामले परिचित हुनुहुन्थ्यो । त्यो नाममा सम्मान, आत्मीयता र विश्वास तीनै कुरा मिसिएका थिए ।
जीवनशैलीमा साधुजस्तो सादगी भए पनि विचारमा उहाँ अत्यन्त प्रगतिशील हुनुहुन्थ्यो । सत्ता र शक्तिबाट सधैँ टाढा रहेर पनि उहाँका विचार समयभन्दा अगाडि देखिन्थे ।
बरालले जीवनभर मानवअधिकारको संरक्षण, नागरिक स्वतन्त्रता प्रवद्र्धन तथा समाजका कमजोर, सीमान्तकृत र उत्पीडित वर्गको आवाज बुलन्द बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । अन्याय, विभेद र दमनका विरुद्ध उहाँ सधैँ निर्भीक रूपमा उभिनुहुन्थ्यो । कठिन परिस्थितिमा पनि आफ्नो सिद्धान्तबाट विचलित नहुने उहाँको स्वभावले धेरैलाई अधिकारको रक्षामा लाग्न प्रेरित गरेको छ ।
मलाई सम्झना छ, २०६० सालतिर उहाँसँग मेरो पहिलो भेट भएको थियो । अत्यन्त सरल र सहज भाषामा उहाँले मानवअधिकार भनेको मानव भएकै कारण प्रत्येक व्यक्तिले पाउनुपर्ने अधिकारÆ हो भनेर बुझाउनुभएको थियो । उहाँका ती शब्दले मेरो मनसपटलमा गहिरो छाप छोडे । त्यसपछि मानवअधिकारको अभियानमा लाग्न उहाँबाट मैले निरन्तर प्रेरणा, ऊर्जा र प्रोत्साहन प्राप्त गरिरहेँ ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालमा उमेरका हिसाबले सबैभन्दा जेठा सदस्य टेकनाथ बराल हुनुहुन्थ्यो भने म कान्छो सदस्यका रूपमा अभियानमा जोडिएको थिएँ । बरालका पदचिह्न पछ्याउँदै मानवअधिकार र सम्पदा संरक्षणको यात्रामा निरन्तर सक्रिय रहने अवसर पाएँ । उहाँले स्थापना गर्नुभएको संस्थाको नेतृत्व सम्हाल्ने अवसर पनि मैले पाएँ । अहिले त्यसको जिम्मेवारी हस्तान्तरण गरिसकेको छु ।
दुई दशकको संगतमा मैले चिनेका टेकनाथ नेपालका प्रायः सबै राजनीतिक तथा मानवअधिकार आन्दोलनमा पोखराबाट अग्रपंक्तिमा देखिने नेतृत्वकर्ता हुनुहुन्थ्यो । जीवनशैलीमा साधुजस्तो सादगी भए पनि विचारमा उहाँ अत्यन्त प्रगतिशील हुनुहुन्थ्यो । सत्ता र शक्तिबाट सधैँ टाढा रहेर पनि उहाँका विचार समयभन्दा अगाडि देखिन्थे । वैज्ञानिक सोच, वैचारिक स्पष्टता र जीवनसँग जोडिएका उहाँका दृष्टिकोणले आजका युवालाई समेत चुनौती दिन सक्छन् । अहिलेका युवाको ठूलो पंक्तिको दृष्टिकोणभन्दा उहाँको दृष्टिकोण ऊ बेलै फराकिलो र अग्रगामी थियो ।
२०६२/०६३ को जनआन्दोलनका क्रममा उहाँले भन्नुभएको एउटा वाक्य अझै स्मृतिमा ताजै छ: युग सधैँ प्रगतिशील हुन्छ । आजका युवाले नयाँ सोच र आदर्श प्रस्तुत गर्न सकेनन् भने उनीहरू उमेरले जवान भए पनि विचारले वृद्धहरूको भीडमा हराउँछन् .
दोस्रो जनआन्दोलन तथा त्यसपछिका विभिन्न आन्दोलनमा मानवअधिकार अनुगमनका लागि उहाँसँगै हिँड्ने अवसर मैले पाएँ । हक्की स्वभावका बराल त्यो उमेरमा पनि प्रहरीका गाडी रोकेर गिरफ्तार गरिएका व्यक्तिको अवस्था बुझ्नुहुन्थ्यो । कसलाई नियन्त्रणमा लिइएको हो, कहाँ लगिँदै छ, कुनै यातना त दिइएको छैन भन्नेबारे उहाँ निर्भीक रूपमा प्रश्न उठाउनुहुन्थ्यो । कतिपय अवस्थामा उहाँको सक्रिय हस्तक्षेपपछि आन्दोलनकारीलाई त्यहीँबाट रिहा गरिएको पनि मैले देखेको छु ।
गिरफ्तार भएकाहरूका लागि æदाह्री बाÆले नाम टिप्नुभयो भने साँझसम्म घर फर्किन पाइन्छ भन्ने विश्वास नै बनेको थियो । बरालका योगदानका क्षेत्र अनेक थिए । उहाँ वास्तवमै बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । युवा र महिलालाई सामाजिक आन्दोलनमा सहभागी गराउन, उनीहरूमा चेतना र आत्मविश्वास जगाउन उहाँले खेलेको भूमिका विशेष स्मरणीय छ ।
सम्पदा संरक्षण, नागरिक आन्दोलन र मानवअधिकारका अभियानहरूमा उहाँ सधैँ अग्रपंक्तिमा रहनुभयो । कुनै कम्युनिस्ट दलमा औपचारिक रूपमा आबद्ध नभए पनि उहाँ कम्युनिस्ट आचरण, सामाजिक समानता र सांस्कृतिक रूपान्तरणका पक्षधर हुनुहुन्थ्यो । उहाँलाई हामी राष्ट्रिय सम्पदा संरक्षण, राष्ट्रिय स्वाभीमान र जनअधिकार आन्दोलनका अग्रणी अभियन्ताका रूपमा सधैँ स्मरण गर्ने छौंँ ।
पहिलो संविधानसभाको कार्यकाल संविधान जारी नगरी थप्ने बहस चलिरहेका बेला उहाँले हामीलाई काठमाडौं पुगेर संसद् भवन घेराउ गर्न आह्वान गर्नुभएको थियो । उहाँको तर्क स्पष्ट थियो : जनताले संविधानका लागि चुनेका प्रतिनिधिहरूले संविधान नदिई भवनबाट बाहिर निस्कन पाउनु हुँदैन ।
उमेर ७० वर्ष हाराहारीमा पुगिसक्दा पनि दिनभरको लामो यात्रापछि रातभर संसद् भवनको पश्चिम गेटमा धर्ना बस्न सक्ने ऊर्जा उहाँमा थियो । राष्ट्रिय स्वाधीनता, सीमाको सुरक्षा र मानवअधिकारको विषय उठ्दा उहाँमा छुट्टै जोश र जाँगर देखिन्थ्यो । कहिले महाकाली बचाउन टनकपुर पुग्नुहुन्थ्यो, कहिले सुस्ता पुगेर मिचिएको सीमा जोगाउने अभियानमा सहभागी हुनुहुन्थ्यो ।
उहाँले लुम्बिनी क्षेत्रमा सम्पदा संरक्षणसम्बन्धी बैठक आयोजना गरेर हामीलाई सम्पदा जोगाउने अभियानमा सक्रिय रहन प्रेरित गर्नुभयो । तिलौराकोटको ऐतिहासिक महत्वबारे जानकारी गराउँदै सम्पदाप्रतिको उत्तरदायित्वबोध गराउनुभयो । लुम्बिनी परिसरमा दुई सयभन्दा बढी बिरुवा रोपेर पोखरा फर्किएको त्यो यात्रा र उहाँसँग बिताएका क्षणहरू जीवनभर अविस्मरणीय रहनेछन् ।
उहाँले अवलम्बन गरेको मार्गमा अघि बढ्दै न्याय, समानता र मानवअधिकारको पक्षमा निरन्तर संघर्ष गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
समाजमा प्रचलित सांस्कृतिक चाडपर्व, विवाह, व्रतबन्ध तथा मृत्यु संस्कार जस्ता परम्परागत अभ्यासमा देखिएका विकृति र भड्किलोपनप्रति उहाँको विशेष चिन्ता थियो । जहाँ पुग्नुभयो, त्यहाँ सामाजिक सुधारको आवाज उठाउनुभयो । सांस्कृतिक रूपान्तरण, सामाजिक समानता र वैज्ञानिक चेतनाको पक्षमा उहाँ निरन्तर क्रियाशील रहनुभयो । त्यसैले उहाँ केवल मानवअधिकारकर्मी नभई एक समाज सुधारक पनि हुनुहुन्थ्यो ।
पछिल्ला दशकहरूमा उहाँ विशेषगरी मानवअधिकार, वातावरण संरक्षण, सम्पदा संरक्षण तथा बालअधिकारका क्षेत्रमा सक्रिय रहनुभयो । उहाँको निधनसँगै गण्डकी प्रदेशमात्र होइन, समग्र देशका मानवअधिकारकर्मी र प्रगतिशील शक्तिहरूले एक अग्रणी र अथक योद्धा गुमाएको अनुभूति गरेका छन् ।
ब्राह्मण परिवारमा जन्मिएर पनि पितृसत्तात्मक सोचको विरोध गर्दै सांस्कृतिक रूपान्तरण, माक्र्सवादी मूल्य र समानतामूलक समाज निर्माणको पक्षमा उभिनु उहाँको विशेषता थियो । पुष्पलाल, मनमोहन अधिकारी, भरतमोहन अधिकारी जस्ता नेताहरूसँगको संगतले उहाँको राजनीतिक तथा वैचारिक यात्रालाई थप समृद्ध बनाएको थियो । पछिल्लो समय कुनै दलमा आबद्ध नभए पनि वामपन्थी एकता र समाजवादको पक्षमा उहाँ निरन्तर आवाज उठाइरहनुभयो ।
कसैको मानवअधिकार हनन भएको खबर पाएपछि सबैभन्दा अगाडि पुगेर पीडितको पक्षमा उभिने व्यक्तित्व हुनुहुन्थ्यो टेकनाथ । आज उहाँ हामीबीच हुनुहुन्न, तर उहाँले देखाएको बाटो, उहाँका विचार र संघर्षको विरासत भने सधैँ जीवित रहनेछ ।
अथक मानवअधिकारकर्मी, समाज सुधारक र प्रगतिशील चिन्तक टेकनाथ बरालको अभाव आज पनि खड्किरहेकै छ । उहाँले अवलम्बन गरेको मार्गमा अघि बढ्दै न्याय, समानता र मानवअधिकारको पक्षमा निरन्तर संघर्ष गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।




