राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद उत्तमप्रसाद पौडेलले गायक झलकमान गन्धर्वको तस्बिर नेपाली नोटमा राख्न माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले झलकमानको तस्बिर नोटमा राख्न वा उनको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरी सम्मान प्रकट गर्न आग्रह गरे ।
पोखरा–१६ मा १९९२ मा जन्मिएका झलकमानको २०६० मा निधन भएको थियो । झलकमानको जन्मस्थल सांसद पौडेलकै निर्वाचन क्षेत्र कास्की २ मा पर्छ । बैठकमा उनले भने, ‘नेपाल सरकारले सकेसम्म स्वर्गीय झलकमान गन्धर्व र गन्धर्व समुदायमाथि न्याय गरेर उनको फोटो नेपालको नोटमा राखिदिओस् अथवा छापिदिओस्, होइन भने नेपालको हुलाक टिकटमा भए पनि छापेर उनीमाथि सम्मान गरोस् र गन्धर्व समुदायमाथि न्याय गरोस् ।’
झलकमानले गाएका ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्, रण जित्दैछ भन्दिए…,’ लगायतका दर्जनौँ गीत अझै लोकप्रिय छन् । गन्धव जातिको संरक्षणका लागि सरकारले कदम नचाले जाति नै लोप हुने अवस्था आउनेतर्फ उनले सजग गराए ।





