तीन कविता

१. हिलो छैन,
धुलो छैन,
दिउँसो घाम लागेको छ,
राती जून छाएको छ।

पाती फुलेको छ,
जमरा पहेँलो भएको छ।
सुदूर देशबाट
सम्झिरहेछ उसले आफ्नो देश,
उसको गाउँमा
दशैँ आएको छ।

उसको आँखामा
आँसु छाएको छ।
घर आउँछु भन्ने
परदेशीको भाका सरेको छ।

आउन त सधैँ आउने दशैँ,
अहिले पनि आएको छ।
वर्षैपिच्छे
घरदेशमा दशैँ आउँछ,
परदेशमा
उसको आँसु आउँछ।

२. भेट अन्तिम होस् या फेरि होस्,
जसलाई जानु छ, जान देऊ।
जसलाई रहनु छ, रहन देऊ।
प्रेमलाई अधिकार नबनाऊ,
स्मृतिलाई बन्धन नबनाऊ!

३. लड्नु परेछ भने
दुर्गा हुने छु,
पैसा कमाउन परेछ भने
लक्ष्मी हुने छु।

संस्कार जोगाउन परेछ भने
आमाझैँ अडिग हुने छु,
दुःख लुकाउन परेछ भने
बुबाझैँ स्वाभिमानी हुने छु।

जीवन कटाउन उनको
अर्धकाया भएर आउने छु।