व्यवसायबाट राजनीतितर्फ सौगात थापा, कास्की–२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

पोखरा । व्यवसायिक क्षेत्रमा आफ्नो पहिचान बनाएका युवा व्यवसायी सौगात थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्। ३५ वर्षमुनिको युवा समूहबाट उम्मेदवारी दिएका थापाले व्यवसायिक क्षेत्रबाट हासिल गरेको नेतृत्व र व्यवस्थापनको अनुभवलाई अब राजनीतिक तथा संगठनात्मक भूमिकामा जोड्ने बताएका छन्।

अंशुभरा ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका थापा पोखराको उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय युवा व्यवसायी हुन्। उनी भर्खरै मात्र सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचित उद्योग उपाध्यक्षसमेत हुन् । व्यवसायिक नेतृत्वको अनुभवसँगै अब पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले उनले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।

कांग्रेसले १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवालाई छुट्टै समूहबाट प्रतिनिधित्व गराउने व्यवस्था गरेकोमा धन्यवाद व्यक्त गर्दै थापाले युवालाई पार्टीको निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्ने बताएका छन्।

‘व्यवसायिक क्षेत्रमा काम गर्दा सिकेको नेतृत्व, व्यवस्थापन र समन्वयको अनुभवलाई अब संगठनात्मक भूमिकामा पनि उपयोग गर्न चाहन्छु,’ थापाले भने, ‘युवा पुस्ता केवल दर्शक भएर होइन, निर्णय प्रक्रियामै सहभागी भएर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा हो।’

थापाले पार्टी संगठनलाई समयअनुकूल र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। युवाको ऊर्जा र अग्रजको अनुभवलाई समन्वय गर्दै संगठनलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

‘युवाको आवाज पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा पुग्नुपर्छ। प्रविधिको बढ्दो प्रयोगसँगै पार्टीको काम गर्ने शैली पनि समयअनुकूल बनाउन आवश्यक छ,’ उनले भने।

व्यवसायिक नेतृत्व र व्यवस्थापनमा सक्रिय रहँदै आएका थापाको राजनीतिक यात्रातर्फको यो कदमले व्यवसायिक क्षेत्रका युवाको पार्टी संगठनमा सहभागितालाई समेत जोडेको छ। ३५ वर्षमुनिको युवा समूहबाट उम्मेदवारी दिएका थापा अब महाधिवेशन प्रतिनिधिको भूमिकामार्फत पार्टीको संगठनात्मक प्रक्रियामा सक्रिय हुने तयारीमा छन्।