पोखरामा जीडब्लुएमका दुई नयाँ ईभी सार्वजनिक, बुद्धचोकमा नयाँ शोरुम

पोखरा,

जीडब्लुएम नेपालका लागि पोखराको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले बुद्धचोकमा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याउँदै जीडब्लुएमका दुई नयाँ विद्युतीय सवारीसाधन पोखरा बजारमा सार्वजनिक गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले नयाँ शोरुमको उद्घाटन गरेकी हुन्। उद्घाटनपछि बोल्दै गौतमले पोखरा पर्यटकीय राजधानी भएकाले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुनु सकारात्मक भएको बताइन्। यस्ता सवारीसाधनले पोखराको सौन्दर्य र वातावरण संरक्षणसँगै वायु प्रदूषण घटाउन योगदान पुर्‍याउने उनको भनाइ थियो।

रेज मोटर्सले सोही अवसरमा जीडब्लुएमका ‘ओरा ५’‘हाभल जोलियन म्याक्स ईभी’ सार्वजनिक गरेको हो। कार्यक्रममा कम्पनीका प्रतिनिधि, उद्योगी–व्यवसायी, सवारीसाधनप्रेमी तथा सञ्चारकर्मीको उपस्थिति थियो।

जीडब्लुएमका जर्नल म्यानेजर अजय कुमार श्रेष्ठले जीडब्लुएम चार दशक लामो इतिहास भएको विश्वसनीय ब्रान्ड रहेको बताए। उनका अनुसार कम्पनीका नयाँ विद्युतीय सवारीसाधनमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित सफ्टवेयर, न्यून मर्मत खर्च र आधुनिक सुरक्षा प्रविधिलाई प्राथमिकता दिइएको छ।

ओरा ५ मा ५८.३ किलोवाट घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार डब्लुएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले अधिकतम ४३५ किलोमिटरसम्म दूरी तय गर्न सक्छ। गाडीमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा पाँचतारे सुरक्षा मूल्याङ्कन रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, हाभल जोलियन म्याक्स ईभी मा १५० किलोवाट क्षमताको मोटर र ५८.३ किलोवाट घण्टाको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ४०० किलोमिटरभन्दा बढी यात्रा गर्न सक्छ। यसमा प्यानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, उन्नत चालक सहायता प्रणाली (ADAS) तथा भीटूएल (V2L) प्रविधि उपलब्ध छन्।

कम्पनीले हाभल जोलियन म्याक्स ईभीको मूल्य ५९ लाख ९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै, ओरा ५ सेमीको मूल्य ४८ लाख ४९ हजार ९९९ रुपैयाँ र ओरा ५ फुल भेरियन्टको मूल्य ५३ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

नयाँ शोरुमबाट पोखरा तथा आसपासका ग्राहकलाई एउटै स्थानबाट सवारी बिक्री, सर्भिस र स्पेयर पार्ट्सको सुविधा उपलब्ध गराइने रेज मोटर्सले जनाएको छ। विद्युतीय सवारीसाधनको मर्मतसम्भारका लागि विशेष तालिम प्राप्त प्राविधिक टोली परिचालन गरिएको तथा जीडब्लुएमका स्पेयर पार्ट्स उपलब्ध गराइने कम्पनीको भनाइ छ।

बुद्धचोकस्थित नयाँ शोरुम सर्वसाधारणका लागि खुला भइसकेको छ। कम्पनीका अनुसार नयाँ ईभीको टेस्ट ड्राइभ र बुकिङसमेत सुरु गरिएको छ।