अन्डमान सागरआसपास बनेको न्यून चापीय प्रणाली शक्तिशाली हुँदै गएकाले यही असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा ठुलो वर्षा गराउने सम्भावना थप उच्च बनेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मङ्गलबार विभागले रेड अलर्ट जारी गरेको छ । विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च हावाहुरीसहित ठुलो वर्षा हुने सम्भावना छ ।
त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि ठुलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ । सम्भावित वर्षाका कारणले भूक्षय, बाढीपहिरो तथा गेग्य्रान बहाबको उच्च जोखिमसँगै सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औँल्याएको छ । देशका ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायत नदी क्षेत्रआसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ । यसैबिच गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको उच्च वर्षाबारे मौसम विज्ञान पुगेर जानकारी लिनुभएको छ । मन्त्रीद्वयलाई विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठलगायतले सम्भावित विपत्को जोखिमबारे ब्रिफिङ गर्दै उच्च सतर्कता आवश्यक रहेको सुनाउनुभयो ।
मन्त्री श्रेष्ठले पूर्वतयारी र पूर्वसूचनामा एकीकृत रूपमा परिचालित हुँदै उच्च समन्वयमा काम गर्न मौसम विभागका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले कृषि, पर्यटन, यातायातलगायत सबै क्षेत्रलाई सतर्कता अपनाउन सरकारको तर्फबाट आह्वान गर्नुभयो । गृहमन्त्री गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने हिसाबले हामी प्लानिङमा छौँ ।”
अन्डमान सागरमा विकसित न्यून चापीय प्रणाली बलियो बन्दै गएपछि नेपालमा पनि भारी वर्षा हुने सम्भावना छ । त्यसलाई दृष्टिगत गर्दै एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले उक्त प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने प्रारम्भिक प्रक्षेपणपछि ७७ वटै जिल्लामा रहेका विपत् प्रतिकार्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको बताउनुभयो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अन्तर्गत सम्भावित बाढीपहिरो, डुबान, नदी कटान तथा चट्याङलगायत विपत्का लागि सङ्घ, प्रदेश र स्थानीय तहदेखि सुरक्षा निकायसम्मको एकीकृत संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको छ ।
महतले भन्नुभयो, “सम्भावित जोखिमको न्यूनीकरणका लागि तीन वटै सुरक्षा निकायसँगै विषयगत निकायलाई एकीकृत रूपमा परिचालन गरिएको छ ।” उहाँले केन्द्रदेखि स्थानीय तहसम्म मनसुन प्रतिकार्य कमान्ड पोस्ट तथा आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राखिएको बताउनुभयो ।





