पर्वतीय संग्रहालयमा शुभकामना आदानप्रदान

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा–१७, रातोपहिरोले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । संग्रहालय परिसरमा हालिएको लिङ्गेपिङ पनि शुक्रबारबाटै सञ्चालनमा आएको छ ।

नेपालीका चाडपर्व दसैं, तिहार, नेपाल संवत्, छठ लगायतको पावन अवसरमा संग्रहालयले कार्यक्रममा आयोजना गरी आपसमा शुभकामना साटासाटको अवसर मिलाएको हो । समारोहमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समिति सदस्य जितु गुरुङले संग्रहालयको तर्फबाट पर्यटन सम्वद्ध संघ, संस्थाका नवनिर्वाचित अध्यक्षहरुलाई बधाईसहित सफल कार्यकालको कामना गरे ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, रेवान कास्की अध्यक्ष वसन्त गौतम र टान गण्डकी अध्यक्ष तीर्थराज सुवेदीलाई अध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापनसहित सफल कार्यकालको कामना गरिएको हो । सो अवसरमा पोखरेली ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले पिङको पूजा गरेका थिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष भुजेलले पोखराको पर्यटनको विकासका लागि सबै क्षेत्रको एकीकृत प्रयास आवश्यक भएकोमा जोड दिए । उनले पर्वतीय संग्रहालय पर्वतीय जीवन र हिमालबारे बुझाउने नमुना संग्रहालय भएको बताए ।

संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले नेपाली संस्कृति, परम्परालाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिइन् । पर्वतीय जनजीवन र संस्कृतिको अघोषित पाठशालाका रुपमा विकास भएको यो संग्रहालय गएको आर्थिक वर्षमा एक लाख ५७ हजारले अवलोकन गरेका थिए ।