बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता र आशा व्यक्त गर्दै परिवर्तनका लागि कोड, पोखराको आयोजनामा पोखरा सहिद पार्कमा ‘दीप प्रज्वलन’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै विपद् प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाए। कार्यक्रममा विपद्को समयमा सामाजिक एकता, मानवीय सहयोग र सामूहिक उत्तरदायित्वको महत्वमा जोड दिइयो।
कार्यक्रमकै अवसरमा परिवर्तनका लागि कोड, पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
संस्थाका परियोजना प्रमुख विशाल आचार्यले विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउनु र आफ्नो क्षमताअनुसार सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले संस्थाको सानो प्रयासले प्रभावित समुदायलाई सहयोग पुग्नुका साथै थप सहयोगका लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।




