पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी उत्तरार्धमा छ । भदौ २० र २१ गते हुने ३६ औं अधिवेसनले नयाँ नेतृत्व चयन गर्दै छ । यसपालि नेतृत्वका लागि ४ जना आकांक्षी छन् । विगतमा २ पटक चुनावमा पराजित बनेका अर्जुन पोखरेलदेखि हालका पदाधिकारीहरु समेत प्रतिस्पर्धा गरिरहेका छन् ।
बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले अध्यक्षको दाउ हेरेका छन् । अधिकांश पदाधिकारीमा प्यानल प्रतिस्पर्धा छ । सदस्यहरु सबै प्यानलमा छैनन् । शोभा प्यानलबाट उद्योग उपाध्यक्ष उठेका छन्, सौगात थापा । उम्मेद्वारीसँगै हरेक उम्मेद्वारको विगतको कार्यसम्पादन र जिम्मेवारीलाई लिएर अहिले वहस सुरु भएको छ ।
थापाले विगतका दुई कार्यकाल निकै कम कार्यसम्पादन गरेको भेटिएको छ । मतदाता र संघले विश्वास गरेर जिम्मेवारी दिएर पठाए पनि बैठकमा उनको उपस्थिति अत्यन्तै कमजोर हुँदा निर्वाचनका बेला गरेका प्रतिबद्धता कार्यान्वयन, नीतिगत निर्णय र व्यवसायीका समस्या समाधानमा उनले उदासिनता देखाएका हुन् ।
संघको आधिकारिक बैठक उपस्थिति विवरण अनुसार, थापाको उपस्थिति दुवै कार्यकालमा निराशाजनक देखिन्छ । विशेष गरी पछिल्लो कार्यकालमा कार्यसमितिका कुल ३१ वटा बैठकमध्ये थापा ५ वटा बैठकमा मात्र उपस्थित भएका छन् । यो पूरा बैठकको १६ प्रतिशतमात्रै हो ।

संघद्वारा आयोजित ९६ वटा विविध कार्यक्रमहरूमध्ये उनी ४ वटामा मात्र सहभागी भएका छन् । जुन कुल कार्यक्रमको ४ प्रतिशतमात्र हुन आउँछ । यसअघिको कार्यकालमा पनि मनोनित सदस्यका रूपमा रहँदा कुल बैठकहरूमध्ये उनी निकै कम मात्र उपस्थित भएका थिए ।
उनले ६ पटकको बैठकमा सहभागी भए भने बाँकी बैठक बंक गरिदिए । उनको उपस्थितिप्रति तत्कालीन नेतृत्व र पदाधिकारी तथा मतदाताहरु नै असन्तुष्ट छन् । ‘उद्योगी र व्यवसायीहरूको छाता संगठनको रूपमा रहेको पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुनु भनेको पद प्रतिष्ठा पाउनु मात्र होइन,’ यसअघि कार्यकालका एक पदाधिकारीले भने, ‘आम व्यवसायीका दैनिक समस्या, नीतिगत अड्चन र व्यावसायिक हकहितका मुद्दाहरूलाई बैठकमा मुखरित गर्नुपर्ने हो । तर, कार्यसमिति बैठकमै उपस्थित नहुँदा उनले मतदाताका समस्यालाई संस्थागत रूपमा राख्ने र तिनको हल खोज्ने प्रक्रियाबाट आफूलाई टाढा राखेको प्रस्ट हुन्छ ।’
लगातार बैठकहरूमा अनुपस्थित रहनुले उनले मतदाताको मत र विश्वासको कदर गर्न नसकेको गुनासो व्यवसायीहरूले गर्न थालेका छन् । यसले साधारण सदस्य र मतदाताहरूमाझ गम्भीर नैतिक प्रश्न खडा गरेको छ । ‘जसले सदस्य हुँदा आफ्नो उपस्थितिको न्यूनतम दायित्व समेत निभाउन सकेनन्, उनी भोलि उपाध्यक्ष जस्तो सक्रिय रहनुपर्ने पदमा पुगेर समग्र उद्योग क्षेत्रको नेतृत्व कसरी गर्लान् भन्ने चासो र चिन्ता बढेको छ,’ सरोकारवालाले भने ।
पोखराका उद्योगी, व्यवसायी यति बेला आर्थिक शिथिलता र विभिन्न व्यावसायिक समस्याहरूसँग जुधिरहेका छन् । यस्तो संकटपूर्ण घडीमा संघलाई पदमात्र ओगट्ने नेतृत्व नभई निरन्तर खटिने, बैठक र छलफलमा सक्रिय सहभागी हुने तथा व्यावसायिक मुद्दामा बलियो वकालत गर्न सक्ने नेतृत्व आवश्यक छ ।
चुनावी प्रचारप्रसार तीव्र बन्दै जाँदा, मतदाताहरूले उम्मेदवारहरूको चुनावी आश्वासन मात्र नभई उनीहरूको विगतको कार्यसम्पादन र दायित्वप्रतिको निष्ठालाई समेत मूल्यांकनको मुख्य कसी बनाउनुपर्ने देखिन्छ । यसपालि उद्योग उपाध्यक्षमा सौगातसँग अर्का सदस्य ललितबहादुर कुवँर प्रतिस्पर्धामा छन् ।
विगतमा जस्तो भूमिका निर्वाह गर्न नसकी कमजोर बन्दै गएको पोखरा उद्योग वाणिज्य संघको चुनाव भोटेकोशी बाढीको छायाँमा समेत परेको छ ।




