‘हुङ्कार’भित्र चर्किएको स्वर

भूमिका
गजल साहित्यका चार विधा कविता, आख्यान, निबन्ध र नाटकमद्धे कविताको एक उपविधा हो। लयात्मक, गेयात्मक यी कविताहरूलाई कविता र गीतको बिचको साँगु मान्न सकिन्छ। गजलको जन्मस्थलो अरब हो भन्ने मानिन्छ। यो विधा अरबी भाषामा जन्मियो र फारसी भाषामा हुर्कियो। पछि गएर यसले हिन्दी, नेपाली आदि विभिन्न भाषाहरूमा समेत गजलको विस्तृति फैलायो र क्रमश: यो गेय विधा लोकप्रिय बन्दै आजको तारिखसम्म आइपुगेको देखिन्छ। अरबी भाषामा यसको जन्म लगभग सय वर्ष पहिले नै भएको हो, र पनि यसले फारसी साहित्यको निकै लामो यात्रा पार गरेर सत्रौँ शताब्दीको सुरुमा मात्र भारतीय साहित्यमा पदार्पण गर्‍यो। नेपाली साहित्यमा भने गजल इसाको उन्नाइसौं शताब्दीतिर अर्थात नेपाली कविताको माध्यमिक कालमा भित्रियो। भानुभक्तको जीवनी लेखेर भानुभक्तलाई चर्चामा ल्याउने मोतीराम भट्टका माध्यमबाट गजलको नेपाली साहित्यमा प्रवेश भएको हो ।

असममा गजलको परम्परा र इतिहास छोटो छ, गजलकारहरू पनि सीमित रूपमा भएको पाइन्छ। प्रख्यात कवि स्व० हरिभक्त कटुवालले साठीको दशकमा नै कतिपय गीतमा गजलका जस्ता भावना र शैलीले रचना गर्ने प्रयास गरे तापनि ती रचनाहरूमा गजलमा हुनुपर्ने न्यूनतम् वैशिष्ट्यहरू पूर्णरूपले विकसित हुन सकेनन्। त्यसैले उनका यी रचनाहरूलाई गजलको दर्जामा राख्न अफ्ठ्यारो पर्‍यो। यसैगरी असम भूमिमा गजल लेखन फस्टाउन निकै समय पर्खिनु पर्ने भयो। त्यसपछि यसै शताब्दीको पहिलो दसकमा मात्रै चिराङका गोविन्द शाण्डिल्यले दुईवटा गजल सङ्ग्रह प्रकाशित गरेर यो विधाको बीऊ रोपे भन्न सकिन्छ। शाण्डिल्यको ‘गजन गन्धार’ लाई नै असमको पहिलो गजलकृतिको श्रेय जान्छ।

यसैगरी ढिलो र बिस्तारो बिस्तारो भए पनि असममा गजल विधा अघि बढ्न थाल्यो। तर वर्तमान समयमा भने यो विधा निकै चर्चामा आएको छ। गजल विशेषगरी युवावर्गमा सर्वाधिक चर्चित र लोकप्रिय विधा भएको पाइन्छ। सामाजिक सञ्जालमा हेर्दा मुक्तक, गजल आदि निकै नै फस्टाएको देखिन्छ। यति हुँदाहुँदै पनि प्रकाशित गजल कृतिको संङ्ख्या भने आज पनि लाजमर्दो नै छ।

भाव पक्ष
अहिले हालैमात्र हेर्नु हो भने युवा गजलकार प्रकाश कुइँकेल गजल लेखनमा निकै खिप्पिएर लागेका छ्न्। हालै उनको ‘हुङ्कार’ शीर्षक गजल सङ्ग्रह प्रकाशित भएको छ।

असमको बाक्सा जिल्ला अन्तर्गत बङ्गालीपाडामा रहने बुबा डिल्लीराम कुइँकेल र आमा डालीमाया कुँइकेलका छोरा प्रकाश कुइँकेल एक नवोदित युवा गजलकारका रूपमा अहिलेको समयको परिचित नाउँ हो भन्न सकिन्छ। मात्र २३ वर्षको उमेरमा गजल सङ्ग्रह निकाल्ने असमको पहिलो सर्जक हुन प्रकाश कुइँकेल। साहित्य क्षेत्रमा उनको यात्रा कविताबाटै सुरु भएको हो र पनि अहिले आएर ऊनी मुक्तक अनि गजल विधामा नै अधिक सक्रिय देखिन्छन्।

“असमेली मुक्तक मञ्चको” राष्ट्रिय मुक्तक वाचन प्रतियोगितामा दोस्रो स्थान, फेरि दोस्रो राष्ट्रिय मुक्तक प्रतियोगिता पनि दोस्रो र राज्यस्तरीय मुक्तक लेखन प्रतियोगितामा पनि दोस्रो स्थान पाउन सफल हुने प्रकाश “चिराङ लेखक मञ्चको” कविता प्रतियोगिता पनि तेस्रो स्थान पाउन सफल भएका थिए। यसैगरी भारत लगायत नेपालबाट पनि कयौंपटक गजल, मुक्तक आदिमा विजयी भएर उनले सम्मानपत्र एवम् प्रमाणपत्र प्राप्त गरिसकेका छन्।

मात्र २३ वर्षको उमेरमा गजल सङ्ग्रह निकाल्ने असमको पहिलो सर्जक हुन प्रकाश कुइँकेल।

“हुङ्कार” प्रकाशको पहिलो कृति हो। यस कृतिमा उनको जन्ममिति १६-०४-१९९७ लेखिएको पाइन्छ र शिक्षा बी. ए . डी.एल एड भन्ने उल्लेख छ। पूर्वायण प्रकाशन, गुवाहाटीद्वारा प्रकाशित उनको गजल सङ्ग्रह “हुङ्कार”को २ सेप्टेम्बर २०२१का दिन लोकार्पण भएको हो। लोकार्पणपछि पुस्तक बिस्तारै चर्चामा आउन थालेको छ र पुस्तकको बिक्री वितरण पनि सोचे भन्दा धेरै राम्रो भएको खबर छ।
प्रस्तुत सङ्ग्रहमा जम्मा ६८बटा गजल सङ्कलित छन्। असमको गमिरी विश्वनाथका वरिष्ठ गजलकार, उपन्यासकार रामप्रसाद दाहालले यस कृतिको भूमिका लेख्नुभएको छ।

यो सङ्ग्रह निकाल्न प्रेरणा दिनुहुने उनका मातापिता घर परिवार साथीहरूका साथै उनलेे वरिष्ठ व्यक्तित्वहरूप्रति पनि कृतज्ञता ज्ञापन गरेका छन्। तर विशेषगरी यो पुस्तक निकाल्न अनेसासका महासचिव वरिष्ठ साहित्यकार आदरणीय रुद्र बरालज्यूले प्रेरणा र वातावरण मिलाएको कुरा उल्लेख गरेका छन्।

पहिले त उनका गजलहरू मलाई एकदमै पठनीय लाग्यो। सायद यही आकर्षणले होला मलाई समीक्षा लेख्ने हुटहुटी लगाएको हो। यस गजल कृतिको नाउँमा जसरी विद्रोह झल्किन्छ त्यसैगरी साँच्चै नै यहाँका गजलका सेरहरूले समाजको अन्याय, अत्याचार, अन्धविश्वास, रुढीबाद, विसङ्गति आदिको विरोधमा विद्रोहको सोर चर्काएका छन्। पहिलेको समयमा गजल मूलतः प्रेम विषयलाई मात्रै लिएर लेखिने गरिन्थ्यो भने पछि आएर अरू अरू विषयमा पनि गजल लेख्न थालिएको छ र प्रकाश कुइँकेलले पनि प्रेमका अतिरिक्त विविध विषयलाई गजलको कथ्य बनाएका छ्न्।
यस कृतिको पहिलो गजलमा उनी यसो भन्दै हुङ्कार दिन्छन् –
“न्यायमा बोल्छ, सत्यलाई उठाउँछ यो हुङ्कारले!
कुरीति हटाउने सपना सजाउँछ यो हुङ्कारले।
हत्या-हिंसा, बलात्कार, नारीशोषण हट्नुपर्छ!
परिवर्तनको ठुलो माग लगाउँछ यो हुङ्कारले।” (गजल१)

यसरी उनले सुरुवातमै यहाँ देश तथा समाजका झुटहरूबाट पर्दा हटाएर सत्यलाई उजागर गरेर कुरीति, कुसंस्कार आदिलाई हटाउने कुरा उल्लेख गरेका छन् भने साथसाथै नारी उत्पीडन, बलात्कार आदि हट्नु पर्छ, हटाउनु पर्छ भन्ने माग गरेका छन्।
अब अर्को गजलको एउटा सेर हेरौँ –
“देश बचाउनलाई अनेकौं युद्ध गर्छन् जवानहरू!
हार मान्दैनन् बरु सिमानामै मर्छन् जवानहरू।”(गजल६)

देशको लागि आफ्नो प्राण हाँसी हाँसी त्याग्न सक्ने वीर सैनिकहरूलाई सम्झिएर लेखिएको छ यो गजल। देशप्रेमको ओतप्रोत भावना भएको यस गजलका सेरहरूमा देशको लागि परिवार आफन्त सबै पछि राखेर निस्वार्थ सेवामा तल्लीन रहने जवानहरूको गाथा उतार्ने प्रकाशको प्रयास सराहनीय छ।

जब जब देश र समाजमा अराजकता, अन्याय आदिले वातावरण दूषित पार्छ त्यसबेला एउटा सर्जकलाई असहनीय पीडा हुन्छ र हुङ्कार भएर उसको मन भित्रबाट यसरी शब्दबाण निस्कन्छन् –
“थाहा थियो अब मुर्दा जल्दैन हाम्रो बस्तीमा!
ढल्नुपर्ने रुख कहिले ढल्दैन हाम्रो बस्तीमा।
ढाट्ने, ठग्नेहरू महलमा बस्छन् महोदय!
गरीबको घरमा चुलो बल्दैन हाम्रो बस्तीमा”(गजल८)।

समाज होस् या पृथ्वी विधिको विधानअनुसार चल्नुपर्छ, प्रकृतिको नियमअनुसार नै चल्नुपर्छ नत्र सबै सृष्टि धङ्स हुन सक्छ भनेर ऊ यसरी भन्छन् –
विधिको विधान आलु रोपेर आलुनै फल्नुपर्छ!
कार्यहरू सबै यहाँ नियमानुसार नै चल्नुपर्छ।”(गजल२०)

गजलद्वारा व्याङ्ग्य प्रहारमा पनि प्रकाशको राम्रो निपुणता देखिएको छ। यो गजलको एउटा विशेषता पनि हो। अन्यायको विरोध गर्दै ऊ यसरी भन्छन् –
” पैसा छैन हातमा मँहगो सहर कसरी किन्नु!
कुनै बस्तुको मिल्दैन दामदर कसरी किन्नु।
भित्तो टालेर वाक्क भइसकेँ भन्छिन प्रिय!
अब टाल्नै नपर्ने पक्कीघर कसरी किन्नु ।”(गजल२५)

“महोदय! कार्यको फल कर्तालाई जिन्दगीभर मिल्छ!
सुख पनि मान्छेलाई आफ्नो हैसियत बराबर मिल्छ।

नेता मर्दा फुलमाला ओढाएर हेलिकप्टरमा चडाइन्छ!
मजदुर मर्‍योभने कि खोला मिल्छ कि त बगर मिल्छ।”(गजल४)

प्रकृतिको सबैभन्दा प्यारो र ममतामयी शब्द हो ‘आमा’। आमाले सधैँ सन्तानको भलो चिताउँछिन अनि सन्तानको लागि जे पनि गर्न तयार हुन्छिन्। प्रकाश सधैँ आफ्नी आमाको साथमा रहन चाहन्छन्। यसैले होला उनका गजलका धेरै ठाउँमा मातृप्रतिको श्रद्धा झल्किएको छ। उनी भन्छन् –
“अरू होइन मलाई माया गर्ने मेरी आमा चाहिन्छ!
सुखदुःखमा सधैं अधि सर्ने मेरी आमा चाहिन्छ ।
न फूलमा छ त्यो सुन्दरता न यो विश्वब्रह्माण्डमा!
हो! आफू रित्तिएर मेरो झोली भर्ने मेरी आमा चाहिन्छ।(गजल३८)

आजको युगमा मानिसको असत् प्रवृत्ति बढ्दै गएको देखिन्छ र भलो अनि सत्यवादी मान्छे पाउन अलिक गाह्रो देखिन्छ। यसमा कडा प्रहार गर्दै गजलकार भन्छन्
“मान्छे जस्तो मान्छे खोइ कहाँ भेटिएला!
ढाट्ने,छल्ने प्रवृत्ति खोइ कहिले सकिएला।”(गजल४५)

प्रकाश केवल विद्रोही मात्र होइन एक प्रेमिल मुक्तककार पनि हुन्। आखिरी उनी एक गजलकार हुन र यौवनको प्रेम गर्ने उमेरमै उनी हिँडिरहेका छ्न्। यस सङ्ग्रहका धेरै गजलका शेरहरूले त्यसको प्रमाण छोडेका छ्न्। प्रेमिकालाई पत्नी बनाएर सुखी एवम् खुसीको जीवन दिने बाचा दिँदै उनको गजलमा प्रकाश यसरी भन्छन्
“सिन्दुर दिन्छु तिमीलाई पोते दिन्छु ढुक्क हुनु तिमी!
तिम्रै नाउँमा घर किन्छु जमीन किन्छु ढुक्क हुनु तिमी।
बाधा आउन, अड्चन आउन तिमी नआत्तिनु कहिल्यै!
तिम्रो भागको दु:ख आफैँ लिन्छु ढुक्क हुनु तिमी।”(गजल५१)”

युगले आज जटिल बाटामा पाइला टेकेको छ। आज विश्वासको पनि स्थायित्व छैन। प्रेम हुनु र छुटकारा हुनु पनि स्वाभाविकै भएको छ। यसैले प्रेम आज शङ्कामुक्त छैन। प्रकाशले एकातिर प्रेममा विश्वास दर्शाएका छन् भने अर्कोतिर यसरी विरह पनि सुनाएका छन् –
“मनको तिर्खा नमेटिँदै भाँडोमा पानी सकियो!
पछि गएर के गर्ने होला भन्दै जवानी सकियो।
इतिहास लेखाउँछु भन्ठान्थेँ म हाम्रो मायाको!
बीचबाटोमा नपुग्दै प्रेमको~कहानी सकियो ।”(गजल३५)

यसैगरी प्रकाश कुइँकेलले पनि प्रेम विषयका साथसाथै सामाजिक विसङ्गति, नारी चेतना, प्रकृति प्रेम, दलितप्रति न्याय, राजनैतिक अवसरवादको विरोध , मानिसको वास्तविक चरित्रको उजागरीकरण, शृङ्गार, मातापिताप्रतिको प्रेम, देश प्रेम आदि विभिन्न विषय र प्रसङ्ग लिएर गजल लेखेका छन्।

संरचना
आजको समयमा पनि असममा गजलकाहरूको संख्या नून्यतम मात्रामा पाइन्छ। तर पनि आजकाल प्रवीण साहित्यकारका साथै विशेषगरी युवावर्गमा भने गजल लोकप्रिय भएको देखिन्छ। यसैगरी राम्रा नराम्रा सबै प्रकारका गजलहरू सामाजिक सञ्जाल आदिमा पढ्न र देख्न पाइन्छ।
अनुशासित र सैद्धान्तिक रूपमा अन्य विधासँग गजलको तुलना गरेर हेर्दा गजल एउटा निकै कठोर विधा मानिन्छ। अन्य विधाका लागि त्यसका शास्त्रीय पक्षहरूको ज्ञान न्यून भए पनि सिर्जना रोकिँदैन। तर, गजलका लागि यसका आवश्यक घटकहरूको राम्रो ज्ञान हुनै पर्छ। आवश्यक घटकहरू भन्नाले गजल बनाउन जे जे कुराहरू चाहिन्छ त्यसलाई भनिएको हो।

यी सबै तत्त्व अथवा घटकहरू कुइँकेलका गजलमा विद्यमान छन्। यस सङ्ग्रहमा उनलेे इबारत, इसारत र अदा गजलका आन्तरिक तत्त्वहरूका साथै मुसलसल, गैरमुसलसल आदि सबै प्रकारका गजल लेख्ने प्रयास गरेका छन्। काफियामा पनि पूर्ण काफिया, आंशिक काफिया, मिश्रित काफिया, एकाक्षरी काफिया आदि सबै प्रकारका काफिया प्रयोग गरेका छन्। गजलमा काफिया दोहोरिन हुँदैन, यसो हुँदा गजल

संरचनाको ठुलो विसङ्गति मानिन्छ। काफिया प्रयोगमा कुइँकेल एकदमै सचेत देखिन्छन्। उनको कुनै गजलमा काफिया दोहोरिएको छैन्।
तर उनका गजलका सेरहरूमा विषय भने धेरै ठाउँमा दोहोरिएको पाइन्छ र कुनैकुनै गजलमा शब्द र भावपक्ष पनि एउटै एउटै प्रकारका देखापरेका छन्। गीत जसरी गाउँन सक्ने गजल एक काव्य रचना पनि हो तर प्रकाश कुइँकेलका धेरैजसो गजलका शेरहरू वाचन गर्ने खालका मात्रै छन् र सुर ताल मिलाएर गाउन पर्दा अलिक अफ्ठ्यारो हुन सक्छ जस्तो मलाई लाग्छ।

भाषा
भाषिक शुद्धताको क्षेत्रमा हेर्दा यस “हुङ्कार” गजल सङ्ग्रहमा शुद्ध नेपाली भाषाको प्रयोग भएको छ भन्न सकिन्छ। तर पनि कता कता फ्याट्ट फुट्ट हिन्दी अथवा उर्दु भाषाका एक दुईवटा शब्द प्रयोग भएको पाइन्छ। हुन त गजलमा हिन्दी, उर्दू, फारसी आदि शब्दहरूकै बोलबाला रहेको हुन्छ। तर प्रकाशले नेपाली शब्द प्रयोगको सक्तो प्रयास गरेका छ्न्। गजलहरू सुन्दर सरल भाषामा लेखिएका छन्। कुनै पनि गजल पढ्न र बुझ्न पाठकलाई कुनै अफ्ठ्यारो पर्ने सम्भावना देखिँदैन। हुनसक्छ गजलमा बिम्ब-प्रतीकको व्यवहार अलिक कम हुनाले यसो भएको हो।

शीर्षक
गजल भन्नासाथ हाम्रा मनमा प्रेम, पिरती, शृङ्गारिक भावना, कोमलता, लालित्य आदिको सम्झना आउँछ। प्रेम निवेदन, सफलताको कथा र विछोडका सुस्केराहरू होलान भन्ने धारणा जन्मिन्छ। त्यसको विपरीत उनको सङ्ग्रहको नाउँ ‘हुङ्कार’ देख्ता विसङ्गतिवोध हुनु स्वाभाविक हो। कारण ‘हुङ्कार’ मा प्रेम हुँदैन, कोमलता हुँदैन। ‘हुङ्कार’मा त विद्रोह, आक्रोश र व्यङ्ग्य हुन्छ। तर उनी प्रेमको घेरामा मात्र नअल्झिएर सामाजिक विकृति र विसङ्गतिको विरोधमा विद्रोह बोल्ने गजलकारको रूपमा यहाँ देखापरेका छ्न्। त्यसैले शीर्षक सार्थक छ।

उपसंहार
गजल साहित्यको एउटा अत्यन्त सम्प्रेषणीय अनि मनेरञ्जनात्मक विधा हो। अन्य विधाका तुलनामा यो अलिक बढी यान्त्रिक र अनुशासित हुन्छ। सामान्यतः अन्य विधाहरूको रचना सुनेकै भरमा पनि धेरथोर गर्न सकिन्छ तर सिद्धान्तपक्ष र संरचनात्मक नियमहरू नजानिकन गजलको चाहिँ रचना असम्भव छ। वर्तमानमा यो विधा निकै चर्चामा छ र लोकप्रिय पनि हुँदैछ। साँच्चै भन्नु हो भने सामाजिक सञ्जालमा एकप्रकारको बाढी नै आएको छ। बाढीमा प्राय: राम्राभन्दा पनि नराम्रा वा फोहोर मैलाको मात्रा बढी हुन्छ तर सबै बाढीहरू नकारात्मक हुँदैनन्।

विद्यमान फोहरहरूलाई बाढीले बगाएर लगिसकेपछि बाकी रहेको निर्मल जलचाहिँ कुवाको भन्दा सफा हुन्छ। नेपाली गजलको भविष्य पनि त्यही सफा पानी हो तर यसका लागि वर्तमानका गजलस्रष्टामा सम्भावना र चुनौती दुवै छन्। गजल रहरको मात्र सिर्जना भयो भने यसको भविष्य लामो हुँदैन। गजलले जति संवेदनशीलतालाई अँगाल्दै जान्छ अनि शास्त्रीय नियमको घेराभित्र आफूलाई बाधेर सबैको हृदयको भाषा बोल्दै जान्छ त्यति नै यो व्यापक र लोकप्रिय बन्दै जाने छ। यसमा कुनै द्विविधा अवस्य छैन्।

अब अन्त्यमा युवा गजलकारका रूपमा उदाएका असमेली साहित्य जगतका चम्किलो तारा प्रकाश कुइँकेलले गजल सिद्धन्तको अधिक अध्ययन, भाषा प्रयोगमा अधिक ध्यान र समग्रमा समाज, मानिस र समयलाई अधिक ध्यान दिएर, सङ्ख्या बढाउनतिर मात्र नलागेर गजलको गुणस्तर बढाउने प्रयासको निरन्तरता राखे भने उनी अवश्य पनि राम्रा गजलकारमा गनिने छ्न्। उनलाई हार्दिक बधाई तथा शुभकामना दिँदै उनको “हुङ्कार” गजल सङ्ग्रहले अझै पाठकको मन जितोस् र यो पुस्तक मान्छेले खोजी खोजी पढुन् भन्दै उनलेे आगामी दिनहरूमा अझै धेरै अध्ययन गरेर यो भन्दा अझै राम्रा राम्रा कृतिहरू हाम्रो माझ पस्कन सकुन भन्दै यतिमै विराम लिएँ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!