मिलन बोहोराको तानाबानामा अल्झिँदा

विषय प्रवेश

असमेली नेपाली साहित्यमा भर्खरै एउटा नौलो कविता उपविधाको प्रवेश भएको देखिन्छ। त्यस उपविधाको नाम हो `रम्बास् कविता´। यसको आगमन गराएका हुन् सुपरिचित स्रष्टा मिलन बोहोराले। यो एक चतुष्कोणी कविता अर्थात् चारकुने आकृतिमा लेखिने कविता हो। अङ्ग्रेजीमा विभिन्न वस्तुहरूको आकारमा अक्षर राखेर विविध कविताहरू लेख्ने चलन एक समयमा चलेको थियो र छ पनि। यस खाले चित्रात्मक कविताहरूलाई concrete poetry भनिन्छ। असममा लेख्न थालेर कृतिसम्म निस्किसकेको वर्णपिरामिड र रेखा कविता पनि यसै अन्तर्गत पर्दछ।

मिलन बोहोराले सर्वप्रथम रम्बास् कविता सामाजिक सन्जालमा हालेका हुन्। जनवरी २०२१ मा `तानाबाना´ नाममा उनको एक रम्बास् कविता सङ्ग्रह प्रकाशित भएको छ र फेब्रुअरी महिनामा असमको गोलियामा अनुष्ठित असम नेपाली साहित्य सभाको महाधिवेशनमा लोकार्पण भएको छ।

कवि चिह्नारीः सन् १९५९ मा विश्वनाथको बरजारनी गाउँमा जन्मिएका मिलन बोहोरा वाणिज्य र कानुनका स्नातक हुन्। विभिन्न समयमा अल्पकालीन जागिरमा नियोजित भए पनि झन्डै बिस वर्ष अवधिसम्म उनी उद्यमीता विकास र उद्योगमा प्रोजेक्ट कन्सल्टेन्टका रूपमा कार्यरत थिए। उनले हाईस्कुले जीवनदेखि नै कलम चलाउँदै आएका हुन्। उनका कविता, कथा, लेखादि सिर्जनाहरू हाम्रोध्वनि, सपरिवार आदि पत्रपत्रिकामा प्रकाशित भएका छन्। `तानाबाना´ उनको पहिलो प्रकाशित कृति हो।

मिलन बाेहाेरा

रम्बास् कविताको संरचनाः अक्षरङ्ग र सेतोपाटी अनलाइन पत्रिकामा भर्खरै मिलन बोहोराको प्रयोगवाद अनि रम्बास् कविता छोटो परिचय शीर्षक एक उपयोगी लेख प्रकाशित भएको छ। त्यस लेखबाट रम्बास् कविताबारे प्राप्त भएको आभास र विभिन्न कविका रम्बास् कविता पढेर प्राप्त गरेको धारणाबाट रम्बास् कविताको संरचना पद्धति यस प्रकारको रहेछ भन्न सकिन्छः

१) एउटा शीर्षक हुनुपर्छ।
२) जम्मा अक्षरसंख्या १०० हुनुपर्छ।
३) जम्मा पंक्तिसंख्या १९ हुनुपर्छ।
४) एक अक्षरबाट सुरु भएर एक अक्षरमै समाप्त हुनुपर्छ।
५) एकदेखि दश पंक्तिसम्म अक्षरसंख्या क्रमश: एक, दुई, तिन, चार, पाँच, छ, सात, आठ, नौ र दश वटा हुनुपर्छ। त्यसपछि क्रमश: नौ, आठ, सात हुँदै एउटा अक्षरमा टुङ्गिनु पर्छ।

असममा यो विधा लेख्न थाल्नेहरूको संख्या लगभग ३०/३५ पुगिसकेको छ। नेपाल, दार्जीलिङ, सिक्किमतिर पनि रम्बास् फट्याक-फुटुक लेख्न थालेको देखिन्छ।

६) आधी अक्षर र हलन्त लागेको अक्षरको गन्ती हुँदैन। सग्लो अक्षरको मात्रै गन्ती हुन्छ।
७) सुरु र अन्त्यमा एउटै अक्षर हुन सक्छ। भिन्न अक्षर पनि हुनसक्छ।
८) रम्बास् कवितामा एउटा सिङ्गो कविताको अभिव्यक्ति हुनुपर्छ।
९) रम्बास् कवितामा भावपक्ष जति महत्त्वपूर्ण हुन्छ संरचना पक्ष पनि उत्ति नै महत्त्वपूर्ण हुन्छ।
१०) रम्बास् कवितामा मानव मनका सबै खालका अनुभूति व्यक्त गर्ने क्षमता हुन्छ।
११) रम्बास् कविता ज्यामितीय रम्बास् तथा चतुष्कोण आकारमा लेखिनु पर्छ।


शीर्षकः कविले सङ्ग्रहको नाम `तानाबाना´ राख्न रुचाएका छन्। यो शब्द संस्कृतको `तानं´ र `वयन´ शब्दबाट नेपालीमा तद्भव भएर जोडिएर आएको शब्द हो। `नेपाली बृहत् शब्दकोश´मा यसको अर्थ यस्तो छ-

`ताना´- सं. तान। १. लयको विस्तारका निम्ति लेघ्रो तान्ने चाल, आलाप। २. मनको लहड, बोली, धुन।`तानाबाना´- सं. (तानं + वयन)। कपडाको तान र बुनोट। तनौटो र बुनौटो।

रम्बास् लेख्दा कपडाको तानमा धागाहरू हाल्दैगएजस्तै एउटा विशेष आकारमा एकदमै हिसाबसित अक्षरहरू ओछ्याउँदै जानुपर्ने हुँदा यो अर्थमा सङ्ग्रहको शीर्षक उपयुक्त नै छ भन्न सकिन्छ।

तानाबानाझको संरचनाः `तानाबाना´ रम्बास् कविताको सङ्ग्रह हो भनेर अघि नै भनियो। यसमा जम्मा ५६ वटा रम्बास् कविताहरू छन्। भूमिका लेखेका छन् सुपरिचित साहित्यकार ज्ञानबहादुर छेत्रीले। यसमा १३ जना नवीन-प्रवीण स्रष्टाहरूका शुभेच्छामूलक टिप्पणीहरू पनि समाविष्ट छन्।

कविले भरिसक्ये त रम्बास् लेखिने विधिहरू अपनाउने प्रयास गरेका छन्। तापनि संरचनात्मक ढाँचामा केही तलमाथि भएको देखिन्छ। रम्बास् कवितामा जम्मा १९ पंक्ति हुनुपर्छ। तर सङ्ग्रहका ५६ वटा कवितामध्ये ४५ वटा कवितामा मात्र १९ पंक्ति पाइन्छ। ठिमाहा, छेपारो र जीवन प्रीति शीर्षक कविता १८ पंक्तिका मात्र छन्। त्यसरी नै जेथो, धुन, कुराकानी, बौलाहा, विरोधाभास, जिजीविषा, पुरुषाभिमान र नास्तिक शीर्षक कवितामा २० पंक्ति हुन पुगेका छन्।

पंक्तिसंख्या तलमाथि हुनेबित्तिकै अक्षरसंख्या जम्मा १०० हुनुपर्नेमा पनि तलमाथि भएको देखिन्छ। अर्को कुरा, धेरै ठाउँमा `भन्छन्´, `बोल्छन्´ जस्ता शब्दहरूका `न´ र `स´ मा हलन्त दिइएको छैन र सग्ला अक्षर गनिएका छन्। कतिपय ठाउँमा दिइएका छन् तर पनि सग्ला अक्षर गनिएका छन्। त्यसरी नै `लेखेउ´ लेखेर तिनवटा अक्षर गनिएका छन् जबकि `लेख्यौ´ लेखेर दुईवटा मात्र अक्षर गन्नुपर्ने थियो। `उस्को´ नभएर `उसको´ हुनुपर्छ जहाँ तिनवटा अक्षर हुन्छन्। `झन्´मा एउटा अक्षर मात्र गनिन्छ। यसरी धेरैवटा कविताहरूमा अक्षरसंख्या खजमजिएको छ जसले गर्दा रम्बास् संरचनामा बाधा पुगेको छ। एउटा कुराचाहिं स्पष्ट भएको छ, त्यो के हो भने रम्बास् लेख्न रुचाउनेहरू हिज्जे सम्बन्धमा अत्यन्तै जानकार एवं सचेत हुनुपर्दछ।

त्यसो भन्दैमा यस सङ्ग्रहका सबै रम्बास् कविताहरूको संरचना मिलेको छैन भन्न खोजिएको होइन। सङ्ग्रहभित्र परेका – नाङ्गो, जन्मान्ध, उपलब्धि, असहष्णुता, ईश्वराकार, ईश, उत्कर्ष, मुसा, भरोसा, बाठो, सपना, जीवन प्रीति, आकार – आदि कविताहरूको सुन्दर संरचना भएको पाइन्छ। उपयोगी शब्दहरूले धेरजसो रम्बास् कविताहरू सजिएको देखिन्छ। यी कविताहरू हेर्दाचाहिं कवि मिलन बोहोरा रम्बास् लेखनमा निकै खप्पिस देखिएका छन्।


भाषाः कवि बोहोराले `तानाबाना´मा भाषाको राम्रो प्रयोग गर्ने प्रयास गरेको देखिन्छ। ज्यादातर संस्कृत तत्सम शब्दहरूको बाहुल्यता भए तापनि जेथो, सुरुप्प, कुप्लुक्क, मजेत्रो, जुनी, छर्लङ्ग, खोस्टा, स्वाङ, जुनेली, लुकाछिपी, हातेमालो जस्ता ठेट नेपाली शब्दहरूको प्रयोग पनि पर्याप्त रूपमा भएको छ। अङ्ग्रेजी शब्द लगाएर शीर्षक राखेको पनि पाइन्छ, जस्तै- आर्थिङ, फ्यूज बल्ब, नर्सिसस्, सेक्युलर। कविताभित्र पनि कता कता एलपिजि सिलिन्डर, ट्री इज लाइफ – जस्ता अङ्ग्रेजी शब्द पाइन्छन्। तर टङ्कणको समस्याले हो कि प्रुफ हेराइको असुविधाले हो पढ्दै जाँदा शब्दहरूको अशुद्ध प्रयोगले दाँतमा सिरिङ्ग ढुङ्गा लागेको अनुभव हुन्छ।

`तानाबाना´ मा सन्निविष्ट रम्बास् कविताहरूका विषयवस्तु समाजमा देखिएका असङ्गतिहरू छन्। प्रेम-प्रणयका कुराहरू पनि छन्। एक-एक कवितामा एउटा सिङ्गो कविता अटाएको छ।

उदाहरण स्वरूप त्यस्ता केही शब्दहरू यहाँ उल्लेख गर्दै शुद्ध रूप कोष्ठकमा दिने प्रयास गर्दैछु- दुबै (दुवै), पुर्णता (पूर्णता), सुर्य (सूर्य), उराँठ (उराठ), बेदना (वेदना), एकासी (एक्कासी), उखेलो (उखेल्यो), काटो (काट्यो), बिगार्यो (बिगार्‍यो), हुँने (हुने), छन (छन्) आदि। क्रुद्ध भए, खुसी भए, मैले पनि, त्यही नै, तिमी पनि, माथि नै, ऊ पनि, यस्तै होस्- जस्ता शब्दहरू यहाँ दिए जसरी छुट्याएर लेख्नुपर्नेमा जोडेर लेखिएका छन्। संरचना क्रमसित भाव मिलाउँदै लान अलि कठिन भएरै होला भाषाशैली पनि सलल बग्न नसकेको भान हुन्छ।

कुनै पनि पुस्तक प्रकाशित भएपछि त्यो पुस्तक पाठकसमक्ष पुग्दछ। समीक्षकसमक्ष पुग्नु पनि स्वाभाविक हो। किनभने समीक्षक पनि पाठकभित्रकै सचेत पाठक हुन्। पुस्तकमा पढेर भेटेका सकारात्मक र नकारात्मक पक्षहरू देखाइदिनु समीक्षकको दायित्वभित्र पर्दछ। त्यसबाट लेखक र प्रयासरत नवीन स्रष्टाहरूलाई त्यस्तो गल्ती पुनस् नदोहोर्‍याउनमा ठुलो मदत पुग्दछ।

विषयवस्तुः `तानाबाना´ मा सन्निविष्ट रम्बास् कविताहरूका विषयवस्तु समाजमा देखिएका असङ्गतिहरू छन्। प्रेम-प्रणयका कुराहरू पनि छन्। एक-एक कवितामा एउटा सिङ्गो कविता अटाएको छ। मानिसको छेपारे प्रवृत्तिको नाङ्गो नाच देखिएको छ। प्रतिकूल परिस्थितिसित सहावस्थान गर्नै परेको छ। सासमात्र फेर्दै बाँच्न बाध्य निमुखाहरूलाई न साम्यवादले परित्राण दिएको छ न मानवतावादले। वीरजाति कहलाएर पनि वीरता हराएको स्थिति छ। जाँगर हराएको छ। समाजमा अझै घृणा, तनाउ, विभेद, अशान्ति छँदैछ। मानिसमा फोस्रो अहं र सुविधावादी चरित्र छँदैछ।

रम्बास् कविताहरूले जातिको भविष्य र आत्मरक्षाको दिशामा सवाल गर्न एवं जातीय चिन्तन गर्न पनि पछि हटेको छैन। कविताका प्रवृत्तिहरू अनुधावन गरिहेर्दा कवि बोहोरा देश, जाति, समाज र समग्र मानवजातिप्रति नै सचेत देखिन्छन्। रम्बास् जस्तो कविताको एक नवीन विधाका माध्यमबाट उनी समाजको वास्तविक चित्रण गर्न अग्रसर भएका छन् र केही मात्रामा सफल पनि देखिएका छन्।

विधाको नामकरणः रम्बास् विधाको नामकरणमा पनि मनमा प्रश्न उब्जिने स्थल देखिन्छ। किनभने `तानाबाना´ मा नै रम्बास् शब्द तिन किसिमले लेखिएको छ- रम्बास्, रम्बास र रम्बस। पुस्तककोआवरणमा `रम्बास्´ लेखिएको छ भने कविले आफ्नो भनाइमा `रम्बास´ लेखेका छन्। उता ज्ञानबहादुर छेत्रीले भूमिकामा `रम्बस´ शब्द लेखेका छन्। वास्तवमा यस विधाको एउटै शुद्ध नाम हुनुपर्‍यो। नभए यस विधाका अनुगामीहरूमा नामको हिज्जेका क्षेत्रमा अन्योल स्थिति आउन सक्छ।

निष्कर्षः

एउटा फूलबारीमा सबै प्रकारका फूलहरू फुल्न पाउनु पर्छ। त्यसरी नै हाम्रो साहित्यमा पनि सबै प्रकारका विधाहरू फस्टाउन पाउनु पर्छ। भारतको असम भेकमा विकसित नेपाली साहित्यमा विभिन्न समयमा विविध विधाहरू फस्टाइ आएका छन्। विगत केही वर्षदेखि नवीन विधाहरूमा यहाँका स्रष्टाहरूले कलम चलाइ आएको देखिन्छ। रम्बास् पनि एक नवीन विधा हो र यस भेकमा यो विधा लेखनको सुरुवात गरेका छन् मिलन बोहोराले। उनले यस विधाको कृति नै प्रकाशित गरेर नयाँ कीर्तिमान स्थापित गरेका छन्।

आफ्नो मातृभाषामा शिक्षा ग्रहण गर्ने अवसर नपाए तापनि साहित्य सिर्जनाप्रतिको एकान्त रुचि एवं साहित्यिक क्षेत्रमा केही योगदान पुर्‍याउने अठोटका निम्ति उनी धन्यवादका पात्र छ्न्।

सायद नेपाली साहित्यमै यस विधाको यो कृति पहिलो हो। रम्बास् लेखनलाई अन्य नवीन-प्रवीण स्रष्टाहरूले पनि अब अँगाल्न थालेको देखिन्छ। असममा यो विधा लेख्न थाल्नेहरूको संख्या लगभग ३०/३५ पुगिसकेको छ। नेपाल, दार्जीलिङ, सिक्किमतिर पनि रम्बास् फट्याक-फुटुक लेख्न थालेको देखिन्छ। असमका एकजना नवीन रम्बास् कवि पुरुषोत्तम उपाध्याय दाहालले भर्खरै सामाजिक संजालमा दिएको जानकारी अनुसार आगामी केही महिनाभित्रमा असमबाट ३१ जना कविहरूका पाँच-पाँचवटा गरी रम्बास् कविताहरूको एउटा सङ्कलन प्रकाशित हुने प्रस्तुति चलिरहेछ। यो अत्यन्त खुसीको कुरा हो। यसको अगुवाइ गर्नेमा सायद मिलन बोहोरा नै छन्। आफ्नो मातृभाषामा शिक्षा ग्रहण गर्ने अवसर नपाए तापनि साहित्य सिर्जनाप्रतिको एकान्त रुचि एवं साहित्यिक क्षेत्रमा केही योगदान पुर्‍याउने अठोटका निम्ति उनी धन्यवादका पात्र छ्न्।

रम्बास् कविताका अन्य कृति वा सङ्कलन निकाल्दा स्रष्टाहरूले यसको संरचना विधि राम्ररी आत्मसात् गरेको हुनुपर्छ। व्याकरणको राम्रो अनुभव हुनुपर्छ। किनकि यसमा छन्दकविता, हाइकु जस्तै अक्षरहरूको गन्ती हुन्छ। उता संरचनापक्ष र भावपक्ष उत्ति नै सबल हुँदै जानुपर्छ। आशा छ, रम्बास् साधकहरूले यी सबै विषयहरूलाई अत्यधिक गुरुत्व दिँदै सही रूपमा यसलाई अघि बढाउँदै लाने छन्।