समसामयिक नेपाली राजनीति, भ्रष्ट्राचार र शुसासन

केहि बर्ष अगाडी फिलिपिन्सको राजधानी मनिलामा विश्वका ३८ देशबाट झन्डै ८० जना सहभागी रहेको सुशासन, गरिवी निवारण र भ्रष्ट्राचारमा केन्द्रित एक अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी भएको थिए। कार्यशालामा शैद्धान्तिक एव ब्यबहारिक कार्यपत्रहरुको प्रस्तुति, बहस र छलफलहरु भएका थिए। उक्त अन्तर्राष्ट्रिय कार्यशालामा नेपाली हुनुको नाताले मैले भोगेको नमिठो अनुभवको सम्झनाले अहिलेसम्म पनि मेरो मन अमिलो हुने गर्दछ।

रास्ट्रिय एव अन्तर्राष्ट्रिय अनुसन्धान र तथ्यहरुले विश्वमा भ्रष्ट्राचार हुने बदनामी देशहरु मध्यमा नेपाल अग्रपङ्गतिमा थियो र अझै छ। कार्यशालाको दौरानमा कार्यपत्र प्रस्तोताले नेपालको नामै लिएर भ्रष्ट्राचारको तथ्याङ्गक दिए र थप जानकारीको लागि नेपालबाट सहभागी भएको नाताले मलाई सम्पर्क गर्न सकिने बताए। कार्यशालामा सबै सहभागीले मेरो अनुहारमा हेर्न थाले । पराई भूमिको अन्तर्राष्ट्रिय मन्चमा भ्रस्ट्राचारिको देशको नागरिक करार हुदा ग्लानि र हिनताबोधले मेरो टाउको उठ्नै नसक्ने गरी लत्रियो। बिदेशी भूमिमा अन्तर्राष्ट्रिय सहभागीहरुको बीच आफ्नो देश भ्रष्टाचारिहरुको देशमा उल्लेख हुदाको अन्तर्राष्ट्रिय बेईजतको पिडाबोधले लाचार र निरह भए।

कसैले मलाई हेर्दा मानौ म “भ्रष्ट्र” को स्वरुप हु र मलाई बध गर्न ति सहभागीका आखाहरु धारिला हतियार हुन् जस्तो महसुस भयो। कसैले कुरा गर्न खोज्दा पनि त भ्रष्ट्राचारी देशको प्रतिनिधि होस्, त भ्रष्ट्र होस्, तेरो कुनै भरोसा छैन, कुकर्ममा अब्बल र भ्रष्ट्रीकरण तेरो पेशा हो भने जस्तो लाग्न थाल्यो। पांच दिनको त्यो कार्यशाला बाकि तीन दिन मेरो जीवनका सबभन्दा बेचैनी, पिडायुक्त, अशान्ति र उराठिला दिनहरु भए। एउटा नेपाली नागरिक हुनुको नाताले मेरो यो पिडा र अपमान मेरै शासकहरुले दिएका थिए र अझै दिईरहेका छन्।

पराई भूमिको अन्तर्राष्ट्रिय मन्चमा भ्रस्ट्राचारिको देशको नागरिक करार हुदा ग्लानि र हिनताबोधले मेरो टाउको उठ्नै नसक्ने गरी लत्रियो।

भ्रष्ट्राचार “भ्रष्ट्र + आचार”/ भ्रष्ट्र को अर्थ अनैतिक र आचार को अर्थ आचरण। आफ्नो बाटोबाट विचलित भएको, पतित, अनुचित, अपवित्र, बेईमान, छली, ढोगी आचरण जो कुनै प्रकारले अनैतिक वा अनुचित कार्य गर्ने व्यक्ति भ्रष्ट्राचारी हो।

भ्रष्ट्राचार भनेको कुनै पनि सार्वजनिक पदमा रहेको (चाहे त्यो राजनीतिक होस् वा प्रशासनिक) पदाधिकारीले व्यक्तिगत फाईदाको लागि आफूमा रहेको सार्वजनिक ओहोदा, शक्ति र अधिकार निजी हित वा फाईदाको लागि दुरुपयोग गर्नु भ्रष्ट्राचार हो । घुस लिने, कमिसन लिने, बिना मूल्य वा कम मूल्यमा बस्तु वा सेवा लिने, चन्दा वा उपहार लिने, झुटा विबरण दिने, गैह्र कानुनि दबाब दिने, तथ्यहीन र गलत बिबरण दिने, राजश्व छली वा चुहावट गर्ने, कागजात सच्याउने, बदनियत पुर्वक गैह्र कानुनी लाभ वा हानि पुर्याउने काम गर्ने, गैर कानुनी काम गर्ने, व्यक्तिगत लाभ वा हानिको लागि सुचना चुहाउने वा गोपनियता भङ्ग गर्ने, नपाएको ओहदा पाएँ भन्ने, गैर कानुनी ब्यापार व्यवसाय गर्ने आदि सबै भ्रष्ट्राचारजन्य कार्य हुन् ।

ठुला ठूला योजना, टावरहरुमा मात्र होईन, एउटा गरिव किसानले उब्जाएको दुई पाथी कोदोमा होस् वा एउटा कुखुराको चल्ला बिक्रीमा तिरेको कर, खोलाले बगाएको खेतको सुर्को होस वा पहिरोले पुरेको बारीको टुक्राको तिरो, छर्लंगै तारा गन्न मिल्ने छानो भएको झुपडीको घरकर बाट हुने आम्दानीमा हुने भ्रष्ट्राचारले देश आक्रान्त छ ।

मेरो अनुभवमा मेरो नगरपालिकाको वार्ड कार्यालय बाहेक अनेत्र बिचौलिया बिनाको कुनै सरकारी अड्डा देखेकै छैन।

भ्रष्ट्राचारको कुरो थाहा पाउन कुनै अनुसन्धान र विश्लेषण गरि रहनु पर्दैन। तपाई हामीले कुनै सरकारी काम गराउदा मात्र होईन सरकारलाई कर तिर्दा सम्म के कस्तो सास्ती, हैरानी र बिचौलियाहरुको बिगबिगी भोगेकै छौ त्यो सर्व बिधितै छ । मेरो अनुभवमा मेरो नगरपालिकाको वार्ड कार्यालय बाहेक अनेत्र बिचौलिया बिनाको कुनै सरकारी अड्डा देखेकै छैन।

नेपालमा युगान्तकारी राजनीतिक परिवर्तन भयो भनियो, जनताको छोरी वा छोरा (वा तेस्रो लिंगी) देशको शासन सत्ताको मियोमा पुग्ने र पुगेका छन् तर पनि नेपाल किन भ्रष्ट्राचारमुक्त हुन् सकेन? किन पात्र मात्र परिवर्तन भए प्रवृति उही पुरानै रह्यो र भस्ट्राचार मौलायो? हिजो पटपटि फुटेका कुर्कुच्चा लिएर फित्तावाल चप्पलले सडक नाप्दै र धुलो उडाउदै राजनीति गरी हिड्नेहरु आज कहा बाट कहा पुगे ? तिनको आर्थिक श्रोत के हो ? अब समिक्षा गर्ने ढिला भैसकेको छ ।

भ्रष्ट्राचारको मामलामा सबै सत्ता राजनीतिक दल वा चलन चल्तीका नेतामा समानता पाईन्छ । कुनै लाभको अवसरमा यिनीहरुमा चोचो-मोचो ट्याक्क मिल्दछ। भ्रष्ट्राचारको सवालमा सत्तापक्ष वा प्रतिपक्ष, एक नम्वरी होस् वा दुई नम्वरी अध्यक्ष मानौ ती दुई पैसाको एउटा सिक्काका दुई पाटा गाई कि त्रिसुल जस्ता भएका छन् । गाई पट्टि वा त्रिसुल पट्टि जुन पाटो परे पनि त्यो दुई पैसाको सिक्काको मुल्यमा केहि फरक हुदैन । सबै नीतिहरुको मूल निती राजनिती हो । जव मुलनै धमिलो र फोहोर हुन्छ त्यसबाट प्रवाह हुने पानी संग्लो र स्वाथ्य हुने कुरै भएन । राजनीतिमा राजनितीक आदर्श, मूल्य र मान्यतामा बिचलननै भ्रष्ट्राचारको मूल कारक हो । हामीले देख्दै र भोग्दै आएको प्रचण्डको वर्गीय प्रेम, ओलीको कम्युनिजम, देउपाको प्रजातन्त्र, हुदाहुदै बामदेवको त्याग, बिष्णु पौडेलको इमान्दारिता, बर्षमान पुनको सर्वहाराकरण आदि ईत्यादिले पनि त्यो दुई पैसे सिक्काको मुल्यमा केहि फरक पारेको छैन।

हिजो पटपटि फुटेका कुर्कुच्चा लिएर फित्तावाल चप्पलले सडक नाप्दै र धुलो उडाउदै राजनीति गरी हिड्नेहरु आज कहा बाट कहा पुगे ? तिनको आर्थिक श्रोत के हो ?

कस्तो बिडम्वना हाम्रो देशमा घुस वा कमिसनको मामिलामा पक्राउ परेको भ्रष्ट्राचारी पनि घुस वा कमिसन ख्याएरै छुटकारा पाउदछ। पुच्छर देखि टाउको सम्मैको यो दुस्चक्रले एउटा तकियाको खोलको रु २८७६.३५ असुली गर्ने वडा अध्यक्ष देखि ९ अर्ब भ्रष्ट्राचारको आरोप लागेका दलका मुखियाहरु बाटै हामी शासित हुदै आएका छौ। प्रधानमन्त्री भै सकेको व्यक्तिले आफुसंग प्रमाण छन् छानविन होस् भन्दा समेत टाउकोमा खोईरोलेउडाएको चाया जस्तो उडाउने महासयहरुबाट के नै अपेक्षा गर्नु?

अझ दुखदायी तर रोचक प्रसंग त् के छ भने सत्ताधारी पार्टीका नम्वरी अध्यक्षहरुले एक अर्कालाई भ्रस्ट्राचारी करार गर्दछन तर एकताको लागि रोईलो पनि गर्दछन। हालै बाद प्रतिवाद गरिएका लेखौटहरुमा ओलीले निस्पक्ष छानविनको चुनौती दिएका छन्। यो दाहालको लागि आफु स्वच्छ प्रमाणीत गर्ने अवसर हो तर के दाहालले छानविनको हिक्मत देखाउन सक्छन ? यी सबै सार्वजनिक उपभोगका लागि जनतालाई उल्लु र बेकम्फुस बनाउने तर्कमा मात्र सिमित हुनेछन । आज देशका चलन चल्तीका सत्तासिन नेताहरुबाट भन्दा ज्ञानेंद्र र पारस शाहहरु बाट शुसासन हुन्छ की भन्ने मानिसहरुको जमात देखिन थाले । प्रायोजित नै भएपनि यो गणतन्त्रको लागि कलंक हो । फेरी ज्ञानेंद्र वा पारस शाहहरु बाट राज्य सत्ताको बारेमा सोच्न समेत “पाप” हो।

नेताहरुले म, मेरो, आफ्नो, मेरा, आफन्त भनी राजनीतिलाई निहित व्यक्ति वा समुहको लागि निजीकरण गरिनु र कार्यकर्ताहरुले मेरो पार्टी, मेरो नेता, मेरो आफन्त भनि भ्रस्ट्रिकरणलाई स्वीकार्नु, एकदिन झर्ला र खाउला भनी स्वयम हनुमानकरण गर्दा भ्रस्ट्राचार झन् प्रवर्धन भएको छ। अहिलेको सरकारी नेकपाको घरेलु झगडा पनि व्यक्ति स्वार्थमा टकरावले उत्पन्न भएको हो। हिजो ओलीलाई सत्तामा जान र दाहाललाई टाउको लुकाउन पार्टी एकता आवश्यक थियो। आज बिधि र प्रक्रियाको कुरो गर्नेहरु हिजो कथित पार्टी एकता गर्दा तिम्रा बिधि र प्रक्रिया कहा थिए? मुखियाले जसको खेतमा हलो जोत्न जा भन्छ उसैको खेतमा जोत्न जाने दोस्रो, तेस्रो दर्जाका “नेताहरु” ग्रहको फन्को मार्ने पिण्ड भन्दा के फरक छन्? स्वार्थमा मेल भएमा आरोप -प्रत्यारोप फिर्ता लिदा हुने यो कस्तो बिधि र प्रक्रिया हो? के राजनीति महासचिव कमरेडले बालुवाटारमा किनेको घडेरी जस्तो हो फिर्ता गर्दा हुने ? नेपालको राज्यसत्ताको स्रोत बैठकमा काटिएको केक जस्तो हो, बाडिचुडि भाग-शान्ति खाने र मुख मिठ्याउने?

स्वार्थमा मेल भएमा आरोप -प्रत्यारोप फिर्ता लिदा हुने यो कस्तो बिधि र प्रक्रिया हो? के राजनीति महासचिव कमरेडले बालुवाटारमा किनेको घडेरी जस्तो हो फिर्ता गर्दा हुने ?

भ्रष्ट्राचार ठूलो अपराध हो अत जुनसुकै राजनीतिक आवरणका भ्रस्ट्रहरुलाई सामाजिक बहिस्कार गरौ, पारदर्शिता र सूचनाको हकलाई प्रवर्द्धन गर्ने पहल गरौ, आफ्नो काम गर्न र गराउन कुनै पनि अनैतिक र अनुचित कार्य नगरौ र भ्रष्ट्राचार बिरुद्द डटेर मुकाविला गरौ ।

जसरी कालो ढाडे बिरालोले बाटो काड्दा अशुभ हुन्छ, त्यसरीनै यी भ्रष्ट्रहरुको अनुहार देख्दा पनि अशुभ हुन्छ। बिरालोले बाटो काट्दाको अशुभ अन्धबिश्वास हो भने भ्रष्ट्रहरुको अनुहार देख्दाको अशुभ यथार्थता हो।