कविता : अभिशप्त अहम !

विज्ञानले दृस्टीदोषको उपचार पत्ता लगायो
नजिकको देख्ने- टाढाको नदेख्ने
टाढाको देख्ने – नजिकको नदेख्ने
सबै सबै आँखाहरुको लागि
अलग अलग लेन्सको आविस्कार गर्यो
कमजोर दृस्टीहरुलाई बलियो बनायो
अदुरलाई दुर गरायो,
दुरलाई सुदुर गरायो
विडम्बना,
वस्तुहरु देख्न थालेपछि,
व्यक्तिलाई पनि वस्तु देख्न थालेका छौं हामी
र ग्रशीत छौं
एउटा अदृस्य रोगले
पैसा र पावरको उन्मादले मातिएका हामी
अहमको पर्दाले ढाकिएका छौं
संगै ढाकिएको छ – हाम्रो चेतना पनि
र ढाकिएको छ हाम्रो बचेखुचेको बिबेक पनि

आफ़्नाहरुकै अस्तित्व मेटाएर
आफुलाई अग्लो बनाउने होडमा
अहंकार डकार्दै,
इर्स्याको बाक्लो च्यादर ओढेर
उन्मुख छौं हामी विलयतिर
विश्मृतिको अनन्त गर्ततिर
कतै निदाइरहेका छौं,
एकलासमा एउटा कुम्भकर्ण निद्रा
चाहे देशको सवालमा होस्,
चाहे समाजको सवालमा होस्
वा परिवार-बन्धुवान्धबकै सवालमा किन नहोस्
झन्डै आधा शताब्दी पहिले
कवि भूपीले चित्रण गरेको हामी
र, हामीमा कुनै भिन्नता छैन
बिल्कुल उस्तै छौं
विल्कुल अपरिवर्तित छौं
हामी- बस हामी छौं, आज पनि !

सृष्टिचक्र जस्तो थियो
उस्तै छ र उस्तै रहनेछ
युगयुगसम्म
घाम-जुन उसै गरि उदाउनेछ
अस्ताउनेछन उस्तै गरि
बतास चलिरहनेछ
नदीहरु बगिरहनेछन
फ़ुलिरहनेछन फूलहरु
अनन्त कालसम्म,
अनवरत – अनवरत
ठिक उसैगरि,
हाम्रा चेतनाको आँखाहरु पनि
नखुलिरहनेछन्
नितान्त उस्तै रहनेछन
र रहनेछन् उस्तै
रोग बोकेर बाँच्न अभिशप्त
हामी जस्तै हाम्रो बेवकुफ अहमहरु पनि
जो धकेलिरहने छन,
एकअर्कादेखि परपर
घोर अन्धकारतिर
हामी जस्तै कैयौ हामीहरुलाई
युगौंयुगसम्म !!