शिलाजित (पाठकीय धारणा )

लगभग एक वर्ष पहिला रिडर्स कर्नरमा स्रष्ठा अम्बिका भण्डारीले आफ्नो चौथो कृति भनेर एउटा मुक्तक संग्रह मेरो हातमा राखिदिएकी थिइन् । मैले धन्यवाद सहित शुभकामना व्यक्त पनि गरें । कृतिको पत्रपत्रिकामा पनि राम्रै चर्चा भएको थियो ।

लगभग पैसठ्ठी सालतिरको कुरा हो, साहित्य श्रृंखलाले नवीन मा.वि.मा मासिक कविता वाचन कार्यक्रम गर्दथ्यो र हामी साथीहरु सो कार्यक्रममा सहभागिता जनाउँथ्यौं । नवीन मा.वि.को कम्पाउण्ड बाहिर चिया पसल संचालन गरेकी अम्बिका भण्डारीले चिया ल्याउने क्रममा ‘ आफुले कविता वाचन गर्न पाउँछु ?’ भनेर सोधेकी र आयोजकले ‘ हुन्छ नि’ भनेपछि चिया ल्याएको ट्रे बाहिरै राखेर अगाडि गई मिठो स्वरमा कविता वाचन गरेर साहित्यिक फाँटमा पदार्पण गरेकी थिइन् । तेहाँबाट आजसम्म उनको यात्रा देखेर म अचम्मित भएको छु ।” मुस्किल नहीं कुछ भी अगर ठान लिजिए” यस्तै बोल भएको गीत कता कता सुनेजस्तो लाग्छ । यो गीत सायद अम्बिका जस्तै उत्साही मान्छेलाई हेरेर लेखिए होला ।

६७, ६८,६९ र ७५ सालमा काव्यकृति प्रकाशित गर्नुका साथै दर्जनका हाराहारीमा गीति एल्बमहरु निकाल्नु र आधा दर्जनभन्दा बढी संस्थामा आबद्ध हुनु, दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गर्नु ठूल्ठूला मान्छेका लागि पनि चानेचुनै कुरा हैन, कमसेकम अम्बिका भण्डारीका लागि ठूलो उपलब्धी हो र यो उनको मेहनत, लगन र उत्साहको परिणाम हो । उनको स्वरमा पनि माधुर्यता प्रचुर मात्रामा छ ।

दुईटा कविता संग्रह र एउटा खण्डकाव्यपछिको यो मुक्तक संग्रहको नाम ‘शिलाजित’ राखिएको छ । शिलाजित एक प्रकारको बलविर्यबर्धक औषधिको रुपमा चिनिन्छ ।शब्दकोशमा यसलाई “सूर्यको रापले तातेको विशेष किसिमको ढुँगाबाट निस्कने कालो पग्लिएको पदार्थ” भनिएको छ । तेस्तै राप र तापको परिमाण यो मुक्तक संग्रह होला ।

मुक्तक ‘मुक्त’ शब्दमा ‘कन्’ प्रत्यय लागेर बनेको शब्द हो । मुक्त भनेको स्वतंत्र हो । यो काव्यको लघु तथा पूर्ण स्वरुप हो । यसलाई फुटकर कविता भन्न पनि सकिन्छ । एक पंक्तिदेखि सात पंक्तिसम्ममा लेखिन सकिने भए पनि अहिले चार पंक्तिमा लेखिने परम्पराले मान्यता पाएको छ । मुक्तक सम्बन्धि पोखरा घोषणापत्रले पनि चतुष्पदी रुवाई शैलीमा लेखिने विधा भनि उल्लेख गरेको छ । तेसैले मुक्तक भन्नाले सुक्तिमय, सांकेतिक एवं प्रतिकात्मक हुने र एक आवृत्तिमा भाव सम्प्रेषण गर्न सक्ने लघुकाव्यविधा भन्न सकिन्छ । मुक्तकलाई चतुष्पदी, चौपाई तथा रुवाई पनि भनिन्छ ।
अन्यायको विरुद्धमा चल्छ मेरो कलम
हिमालको बुटी बनी फल्छ मेरो कलम
सक्दिन म कोही पनि हेपिएको हेर्न
विद्रोहको आवाज भरी बल्छ मेरो कलम ।

यस्तो उद्घोष गरी प्रारंभ भएको मुक्तकहरुको मालामा ८२ वटा मुक्तकहरु गाँसिएका छन् । न्यायपूर्ण समाजको चाहना हुनु स्वभाविकै हो । फट्याइँ, जालसाज़ी, अन्याय, अत्याचार, सरकारका अकर्मण्यता, घुसखोरी, द्वन्द, झैझगडा, कुण्ठाका विषयलाई चोटिलो पाराले अभिव्यक्त गरिएको छ । तेसैगरी सुन्दर संसारको र सुन्दर समाजको सिर्जना सबै स्रष्ठाहरुको साझा सपना हो र यो सपना अम्बिकाले पनि पालेकी छिन् । अम्बिकाले देशलाई माया गर्छिन्, दु:खेकालाई माया गर्छिन् , सिर्जनालाई माया गर्छिन् र कर्तव्यपथमा डटिरहन्छिन् । अम्बिका महिला भएकोले महिलाको बोली पनि आइहाल्छ । ठाउँ ठाउँमा माइतघर छोड्नुको पीडा, घरको अर्थाभावों विरुद्ध गर्नु परेको संघर्ष लगायत महिलाले भोग्नुपरेका पीडाहरु मुखरित भएका छन् । यसरी बिभिन्न विषयवस्तुलाई समेटेर लेखिएका मुक्तकहरु एक बसाइँको लागि चोपिलो खुराक बन्न सफल छन् । दामोदर पुडासेनी प्रतिभा पुरस्कार कोषले प्रकाशन गरेको प्रस्तुत कृतिको मुखपृष्ठ कलाकार पुरु लम्सालको कलाकारिताले सजिएको छ ।

स्रष्ठा अम्बिका भण्डारीका आगामी कृतिहरु परिष्कृत अझै परिष्कृत हुँदै जाउन् , शुभकामना !
अस्तु