अन्तर्रास्ट्रिय गैरसरकारी संस्था र डलर खेती

“उ आयो डलरको खेती गर्ने मान्छे” मलाई देखाउदै साउतीको स्वरमा एउटा साथीले अर्को साथीलाई चिनायो। अर्को साथीले आफ्नो मुख बिगार्यो मानौ मैले ठूलै अपराध गरेको छु। प्राय अन्तरास्ट्रिय गैह्र सरकारी सस्थामा काम गर्ने कर्मचारी लाई भनिने वाक्य हो- डलरको खेतीवाला। अन्तरास्ट्रिय गैह्र सरकारी सस्था र स्थानीय गैह्र सरकारी सस्था बिच “साझेदारी” हुदै गर्दा आजकल स्थानीय गैह्र सरकारी सस्थामा काम गर्ने कर्मचारीहरुलाई समेत “डलरको खेती” गर्ने शब्दले विभूषित गर्ने गरिन्छ । गैह्र सरकारी सस्थामा काम गर्ने ९९% व्यक्तिहरुले न त तलव भत्ता डलरमा खान्छन, न उनीहरुले जिन्दगीभर डलर को त के कुरा पेनी सम्म देखेका हुन्छन।

के साच्चिकै रास्ट्रिय वा अन्तरास्ट्रिय गैह्र सरकारी बिकासे संघ सस्थामा काम गर्नेहरु सबैले डलरको खेती गर्दछन र डलरकै फसल भित्र्याउदछन ? किन उनीहरुलाई डलरवादी भनिन्छ ? जसले जिन्दगीभर डलर कस्तो हुन्छ देखेकासम्म छैनन् तिनीहरु कसरी डलरवादी भए ? आम जन-समुदायमा बिकासे गैह्र सरकारी सस्थामा काम गर्ने प्रति किन यस्तो धारणा बिकास भयो ? के यो जन-धारणा गलत हो ? के सबै गैह्र सरकारी बिकासकर्मी डलरकै पछि कुदिरहेका छन ? यी र यस्ता प्रश्नहरु निरुत्तरित भै रहदा पवित्र सेवा भावले काम गर्नेहरु प्रति अन्याय हुने गर्दछ।

अन्तरास्ट्रिय गैह्र सरकारी बिकासे सस्थामा लामो अनुभवी कामदारको हैसियतले माथि उल्लेखित प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरेको छु। व्यक्तिगतरुपमा म रास्ट्रिय/अन्तरास्ट्रिय गैह्र सरकारी सस्था प्रति कृतज्ञ छु किनकी मेरो जीवन गुजारामा रास्ट्रिय/ अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाको ठूलो योगदान छ । आफुले जागिर हुदा सम्म सबै ठिक र जागिर छोडे पछि सबै बेठिक जस्तो आग्रह र पूर्वाग्रहबाट स्वतन्त्र रही बहसको लागि आफ्ना केही अनुभवहरु मात्र उल्लेख गर्न अनुमति चाहन्छु। उल्लेख गर्नै पर्ने कुरो के छ भने कतिपय रास्ट्रिय/अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाहरु बाट निकै राम्रा र प्रभावकारी कामहरु भएका छन् भने कतिपय रास्ट्रिय/अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाहरु कुराहरुको खेतीमा मात्र लागेको पाईन्छ। यो लेखमा मूलत अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाको बारेमा केन्द्रित छ।

लेखको बिषय बस्तुमा प्रवेश गर्नु अगाडि मेरो एउटा ब्यवहारिक अनुभव बताउदछु। मेरो क्याम्पसको पढाई तानसेनबाट सुरु भएको थियो । बाग्लुंगको गल्कोटबाट तानसेन सम्म कम्तिमा दुई दिन हिडेरै जानु पर्दथ्यो र बिचमा कम्तिमा एक रात बाटोमै बास बस्नु पर्दथ्यो । त्यो समयमा बास बस्ने भनेको बाटोमा हुने भट्टी पसलहरु मात्र हुन्थे। प्राय खोला किनारा नजिक भुई तल्ले एक -पाखे खरले छाएका कटेरा हुन्थे ती पनि कुनै निश्चित स्थान र दुरीमा मात्र। भट्टी साहुका पहिलो प्राथमिकता भारतबाट आउने जड्याहा लाहुरे, दोस्रोमा हामी जस्ता बिद्यार्थी र तेस्रोमा भरिया र ढाक्रेहरु। बिद्यार्थीहरु भट्टी साहुका प्राथमिकताका ग्राहक हुदैनथे ।

भरिया र ढाक्रेहरु धरै भात खाने तर अरु खर्च नगर्ने, जड्याहा लाहुरेहरु रक्सि मासु खाने र मनग्य खर्च गर्ने। कति जड्याहा लाहुरेहरुले त आफुले भारतमा काम गरि जोगाएको सबै पैसा घर फर्किदा फर्किदै बाटोमै सिध्याएर घरै नपुगी भारत फर्कन्थे। जव हामी बास बसेको भट्टीमा जड्याहा लाहुरे बास बस्न आउथे अनि हामी प्रति कुनै वास्ता हुदैनथ्यो र हाम्रो ओछ्यान जाडोमा अगेना नजिकबाट बाहिर तिर सर्दै जान्थ्यो भने गर्मीमा बाहिर ढोका नजिक बाट अगेना तिर धकेलिन्थ्यो। यदि जड्याहा लाहुरेहरु बढिनै आए भने हामी छाप्रो बाहिरै पुग्दथ्यौ। त्यहा बास बस्ने हामी बिधार्थी मात्र होईन शिक्षक, प्राध्यापक, विज्ञ आदि सबैको सालिनता र विध्यता जड्याहाले खर्च गर्ने रक्सीका बोतल र कुखुराका टाउकासंग निरह र लाचार हुन्थे।

गैरसरकार संस्थामा काम गर्ने ९९ % ले न त तलव, भत्ता डलरमा खान्छन्, न उनीहरुले जिन्दगीभर डलर को त के कुरा पेनीसम्म देखेका हुन्छन् ।

नव उदारवाद अर्थ ब्यबस्थामा धन र पैसाले समाजमा कस्तो प्रभाव पार्दछ र यदि उपलब्ध श्रोत र साधनको यथोचित उपयोग भएन भने त्यसले पार्ने प्रभाव माथिको प्रसंगबाट प्रस्ट हुन्छ। पैसा र पैसा संगै आउने निहित उदेश्य, सस्कार र सस्कृतिले गर्दा सामान्य जन-सामुदायमा सकरात्मक वा नकरात्मक प्रभाव पार्दछ र सोहि अनुसारको धारणा निर्माण हुने गर्दछ। अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाको बारेमा पनि यदि मनस्थितिले काम गरेको हुन्छ।

मूलत अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाको आर्थिक श्रोत तीन तरिकाले आउने गर्दछ। पहिलो विकसित रास्ट्र वा संघको अनुदान, दोस्रो सस्थागत वा कर्पोरेटहरुको अनुदान र तेस्रो हो आर्थिकरुपमा विकसित देशका जनताहरु बाट प्राप्त दान। ख्याल गर्नु पर्ने कुरा के छ भने बाहिरबाट आउने कुनै पनि अनुदान र दान शर्तहरुले लपेटिएर आउने गर्दछ। जनस्तरबाट आउने दान सकेसम्म लाभग्राहिको हितमा अधिकतम उपयोग होस् भन्ने चाहना हुन्छ भने सरकारी र कर्पोरेटबाट आउने अनुदानमा आफ्ना एजेण्डाहरु समेत घोलित हुने गर्दछन। ती एजेन्डाहरु मध्ये कतिपय जनहितमा हुन्छन भने कतिपय माओबादी जनयुद्दको बेलामा “अपरेसन मुस्ताङ्ग” जस्ता हुने गर्दछन। अत हामीले लिने दान वा अनुदानको मिहिन विश्लेषण गरि “डलरको खेती” वा “विकासमा साझेदारी” के हो निर्क्यौल गर्नु पर्दछ।

सामान्य समुदायले केही अन्तरास्ट्रिय गैह्र सरकारी सस्थालाई डलरको खेती देख्नु स्वाभाविक छ। प्राय सबै अन्तरास्ट्रिय विकासे गैह्र सरकारी सस्थाहरुले समुदायमा विभेद र विपन्नताको दुस्चक्रले पिल्सिएर किनारा पारिएका, गरिवी, अभाव, रोग र भोकले थिलो थिलो भएका जनताको हित र उन्नतिको कुरा गर्दछन। तन्नम गरिवी र विभेदका कुरा गर्ने हामी अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाका विशेषगरी काठमाण्डौ कार्यालयका सहकर्मीहरु महँगो हवाई जहाजमा यात्रा गरी, सबभन्दा सुविधा सम्पन्न होटल वा रिसोर्टमा बास बस्दछौ र समुदायमा जादा ब्राण्डेट कपडामा महँगो मोटर चडी कालो चस्मा टाउकोमा राखेर बासनादार पर्फ्युम र बडि स्प्रेले आफुलाई सुद्द पारि गरिवीको अनुभूति गरे जस्तो गरी सहानुभूति दिने गर्दछौ। सशक्तिकरण, जन-वकालत र पैरवीका पक्षमा थोरै नेपाली र बाकि अंग्रेजीमा दमदार उपदेश दिन्छौ।

शेवा-सुविधामा हुने असमानता, निर्णय क्षेत्र र पहुचले गर्दा अगैससलाई हेर्ने दृष्टिकोण डलरको खेति गर्ने भन्दा फरक कसरी देख्न सक्दछ ?

सशक्तिकरणका “प्रोसेस”, “ईन्पुट”, “आउट्पुट”, आउटकम” र “इन्प्याट” को ब्याख्या गर्दछौ। हामीले दिने थ्यौरी अफ चेन्ज (Theory of change) ले न जनताको चुलो बल्छ न चुहिने छानो नै टालीन्छ। हामीले समुदायमा संचालन गर्ने कार्यक्रम र हाम्रो जीवनशैलीको दुरीले समुदायको भनाईलाई पुष्टि गर्दैन र ? उपलब्ध भएकामध्ये सबभन्दा खर्चिला होटल, रिसोर्ट र रेस्टुरेण्टमा बसेर सिमान्तकृत समुदायको उत्थानको योजना तर्जुमा डलर खेतीको ब्याड हो। कुनै सहर वा जिल्ला सदरमुकाममा ठूलो र सुविधा सम्पन्न घर बन्यो भने घर धनीले घर भाडामा लगाउन कि त कुनै नाम चलेको बाणिज्य बैक खोज्दछन कि कुनै अन्तरास्ट्रिय गैसस। तपाई आफै बिचार गर्नुहोस के बाणिज्य बैक र अन्तरास्ट्रिय गैह्र सरकारी सस्था एउटै प्रक्र्तिका सस्था हुन? एउटा घर धनीले सस्थालाई कसरी बुझ्यो तपाईले सहजै अनुमान गर्न सक्नु हुन्छ।

नेपालको प्रचलित कानुन अनुसार सामान्यतया अन्तरास्ट्रिय गैह्र सरकारी सस्था (अगैसस) हरुले स्थानीय गैह्र सरकारी सस्थाहरुसंग साझेदारीमा काम गर्दछन। एउटा गैह्र सरकारी सस्थाका कर्मचारी पुर्णकालिन कार्यकता जस्तै साझ बिहान नभनी दिनको १८ घण्टा काम गर्दछ तर पनि स्थानीय गैससको हैसियत मध्यस्थता जस्तो मात्र हुने गर्दछ। “दिने” र “लिने” बिचको सम्वन्ध सामान्यतया साझेदारी हुदैन त्यसकारण समाजशास्त्रमा स्नातकोत्तर र बर्षौको अनुभवी गैससको कर्मचारी भन्दा प्राईभेट क्याम्पसको स्नातक अगैससको नया कर्मचारीको चुरीफुरी सव्यसाची जस्तो हुने गर्दछ। शेवा-सुविधामा हुने असमानता, निर्णय क्षेत्र र पहुचले गर्दा अगैससलाई हेर्ने दृष्टिकोण डलरको खेति गर्ने भन्दा फरक कसरी देख्न सक्दछ ?

अन्तरास्ट्रिय गैससको जटिल संरचना हुन्छ र सामान्य मानिसलाई बुझ्न कठिन हुन्छ। मानौ दुर्गम जिल्लाको एउटा बस्तीमा १० घरधुरिको जीविकोपार्जनलागि १० वटा बाख्राका पाठा बितरण गरियो। यो परियोजनाको अनुगमन गर्ने स्थानीय सहजकर्ता चाहियो, जिल्लामा समन्वय र सहजीकरण गर्न जिल्लामा मान्छे चाहियो, प्रदेश स्तरमा पनि सोहि प्रकृतिको कर्मचारी र केन्द्रमा ब्यबस्थापकीय, प्रसाशकीय, प्राविधिक, लेखा, अनुगमन मुल्यांकन गर्ने, साझेदारी ब्यबस्थापन, सुचना एव प्रविधि, सुरक्षा, प्रकाशन एव जनसम्पर्क, मानव श्रोत ब्यबस्थापन, डोनरलाई समन्वय गर्ने जस्ता कर्मचारी चाहियो।

अन्तरास्ट्रिय गैससको जटिल संरचना हुन्छ र सामान्य मानिसलाई बुझ्न कठिन हुन्छ।

यसरी सबै जोड्दा बितरण गरिएका बाख्राका पाठाको सख्या भन्दा कर्मचारी कयौ गुणा धेरै हुने गर्दछन। एउटा बाख्राको पाठा पाएको किसानले प्रत्येक हप्ता जस्तो फरक फरक अनुहारका सुकिला-मुकिला मानिसहरु आएर “अन्तरक्रिया” र “अनुगमन” को नाममा केरकार गरी उत्तम अभ्यास (Best Practice) को खोजि गर्न सोधिने प्रश्नहरु जस्तै एउटा बाख्राको पाठो पालेर जीवनस्तरमा के परिवर्तन भयो ? लैंगिक विभेदमा के कति सुधार आयो ? बाल-बालिकाको शिक्षामा के कस्तो प्रभाव पार्यो ? आर्थिक अवसर र पहुचमा कति बृद्दी भयो? सशक्तिकरण र नेतृत्व विकासमा के कति टेवा पुग्यो ? सामाजिक प्रतिष्ठामा के कति सकारात्मक फरक पार्यो जस्ता प्रश्नहरुको उत्तर दिदै गर्दा त्यो किसानले अगैससलाई कसरी बुझ्ने ?

अगैसस भित्र काम गर्ने हरुको आफ्नै दुख हुन्छ। नेतृत्व वा केन्द्रिय रणनीतिमा परिवर्तन हुदासाथ परिवर्तन हुने संरचनाले जागिरलाई सधै धरापमा पार्ने गर्दछ। एउटै जिम्मेवारी स्तरको काममा निरन्तरताको लागि पटक पटक गरी चार पटक सम्म छनौट प्रक्रियामा समावेस भएका साथीहरु पनि भेटेको छु। कुनै पनि दिन हाकिमले “थ्याङ्क्यु फर योर वर्क सो फार” (Thank you for your work, so far) भन्यो भने जाने जागिर, आफुले मिहेनतले गरेको कामको बखान गर्न सुपरिवेक्षकहरु महिनाको दुई पटकसम्म विदेश जाने तर आफु आफ्नो कार्यक्षेत्रको पालिकाबाट बाहिर जान नपाउदाको पिडा, आफ्नै भाषामा लेख्न र बोल्नेलाई विदेशी भाषा बोल्ने र लेख्नेको हेपाई, भविस्य प्रतिको अनिश्चितता, आफ्नो भनाई कुनै सुनुवाई नहुने र लगाए अराएको मात्र काम गर्नु पर्ने “कामदार” वर्गको एउटा कर्मचारीले आफ्नै ब्यबस्थापक र रणनीतिक नेतृत्वलाई के भनेर सोच्दो होला सहजै अनुमान गर्न सकिन्छ।

एउटै जिम्मेवारी र पदमा काम गर्ने विदेशी भए अन्तराष्ट्रिय तलव स्केल र नेपाली भए दसौ गुणा कम तलव सुबिधा, कुनै खास भौगोलिक क्षेत्र वा राहधानी बाहक र आफु बिच हुने विभेदको पिडा बोकी समाजमा बिध्यमान विभेदको निराकरणको लागि काम गर्ने कर्मचारीले के सोच्दो हो ? अझ कति अगैससमा त सस्थाको निर्देशक नेपाली हुन नपाउने व्यवस्थाले सस्थाको नियतिमा समेत प्रश्न खडा गर्दछ।

आफ्नै मेनु बोकेर आउने, सफ्टवेयरको गित गाउने, हार्डवेयर नजर अन्दाज गर्ने र आफुलाई समानान्तर सरकारको कोटिमा राख्ने अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाहरुलाई निगरानी र नियन्त्रण गर्नु पर्दछ।

एउटा सस्थाको निर्देशक नेपालमा काम गर्दा सम्म लागत प्रभावकारिता (Cost Effectiveness) र लागत दक्षता (cost efficiency) को निकै गफ छाटे जव उनि नेपालबाट बढुवा भै युरोप सरुवा भए र जाने बेलामा नेपालमा रहदा उनले किनेका ढुंगाको झातो, लोहोरो र सिलौटो समेत नेपालको सम्झना (memory of Nepal) भनि हवाई कार्गो गरी युरोप लगे र त्यसको खर्च पनि नेपालको विकासमा जोडियो। त्यो कार्गोको बन्दोबस्तो मिलाउने कर्मचारीले सस्थालाई डलरको खेति भन्दा अरु के नै देख्न सक्दछ ?

हो अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाले डलर मात्र होइन पाउण्ड, युरो, भारु, युआन लगायतका मुद्राहरुको खेती गर्नु पर्दछ तर लक्षित प्राथमिक सरोकारहरुको बृहत हित र उन्नतिको लागि। नेपालमा अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाको औचित्य प्राकृतिक बिपतमा मात्र होईन, विकास साझेदारीमा समेत आवस्यक छ। आफ्नै मेनु बोकेर आउने, सफ्टवेयरको गित गाउने, हार्डवेयर नजर अन्दाज गर्ने र आफुलाई समानान्तर सरकारको कोटिमा राख्ने अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाहरुलाई निगरानी र नियन्त्रण गर्नु पर्दछ। संघीय सरकारको नीतिगत परिधि भित्र रही सरकारले तोकेको भैगोलिक क्षेत्र, कार्यक्रम क्षेत्र र स्थानीय सरकारको मातहतमा रही आर्थिक र प्राविधिक सहयोग लिनु पर्दछ। अन्तरास्ट्रिय गैह्र सरकारी सस्था दाता (डोनर) प्रति पनि जवाफदेही हुनु पर्ने हुदा सो हद सम्म मात्र भूमिका रहनु पर्दछ।

सरकार, अन्तरास्ट्रिय गैह्र सरकारी सस्था, दाता र समुदायको साझेदारीमा डलरको खेति गरौ र डलरको खेतीबाट उत्पादन भएको उब्जनीले प्राथमिक सरोकारवालाहरुको भकारी भरौ।

विकास, स्वयंसेवक र विदेशी विज्ञ