लाइफ केयर डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर (एलसिडी) गण्डकी प्रदेशमा कोरोना जाँच गर्ने एकमात्र निजी ल्याब हो । एलसिडीले सुरक्षा सतर्कता नअपनाउँदा टोलबासी र सोही भवनमा रहेका अन्य व्यवसायी र ग्राहकसमेत जोखिममा परेका छन् ।
पोखराको न्युरोडमा रहेको एलसिडीको अगाडि मूल सडक छ भने उत्तरतिर नयाँबजार निस्कने बाटो छ । पूर्व र दक्षिणतिर भवन नै छन् । आफ्नै खाली ठाउँ नभएको एलसिडीले सडकमै रिपोर्ट वितरण गर्ने गरेको छ । स्वाब दिन र रिपोर्ट लिन आउनेको दैनिक भीड लाग्छ ।
सोही भवनमा व्यवसाय सञ्चालन गर्नेहरु र स्थानीय एलसिडीको व्यवहारबाट आजित छन् । एलसिडीकै कारणले २ वटा पसलसमेत बन्द भएका छन् । परिचय सहकारी, क्लासिक टेक (इन्टरनेट कम्पनी), क्रिस्टिना ब्युटी पार्लर, प्रिमियर इन्स्योरेन्स जस्ता सर्वसाधारणको बढी जावतजावत हुने कार्यालय पनि सोही भवनमा छन् ।
प्रिमियर इन्स्योरेन्सका प्रबन्धक रामविक्रम अधिकारी कोरोना जाँच गर्नु प्रशंसनीय भए पनि भवनको प्रवेशद्वारमै कोरोना जाँच्न आउनेको भीड जम्मा हुँदा जोखिम बढेको बताउँछन् । उनले भने, ‘एक दिन हामीलाई पनि संक्रमण हुन सक्छ । व्यवस्थित र सुरक्षित गर्न अनुरोध गर्दछौं ।’
एलसिडी वरपरका स्थानीय सुरक्षा सावधानी अपनाएर जाँच गर्नुपर्नेमा जोड दिन्छन् । स्थानीय माधव सुवेदी ल्याबको यस्तो लापरवाहीले कोरोनाको जोखिम बढेको बताउँछन् । उनले सडक सानो, पार्किङ त्यही, सेवाग्राहीको लाइन हुँदा टोलबासी र त्यहाँ व्यवसायी पनि असुरक्षित बनेको बताए । उनले भने, ‘सुरक्षित तवरले स्वाब संकलन र रिपोर्ट वितरण गर्न हामीले बारम्बार आग्रह ग¥यौं ।’
एलसिडीका प्रबन्ध निर्देशक शुक्रराज कँडेलले बुधबारदेखि नै त्यहाँ स्वाब संकलन र रिपोर्ट वितरण बन्द गरिएको दाबी गरे । उनले भने, ‘आजबाट त्यहाँ गर्दैनौं । महानगरसँग अन्य स्थान माग गरिरहेका छौं ।’
एलसिडी गण्डकी प्रदेशकै पहिलो र एकमात्र क वर्गको प्रयोगशाला हो । मापदण्ड पूरा नगरी क वर्गको अनुमति पाएको एलसिडीले आवश्यक पूर्वाधार र सुरक्षा सतर्कता ग्यारेन्टीबिना नै कोरोना जाँचको अनुमति पाएको छ ।
एलसिडीको कोरोना जाँचको रिपोर्ट पनि सरकारी ल्याबभन्दा फरक आउने गरेको छ । एलसिडीमा कोभिड १९ नेगेटिभ आएका तर गण्डकी प्रदेशको ल्याबमा पोजेटिभ आएका रिपोर्टसमेत नेपालदुतले प्राप्त गरेको छ ।
होम आइसोलेसनमा बसेका एक बिरामीले कात्तिक १४ गते तेस्रो पटक एलसिडीमा जाँच गर्दा रिपोर्ट नेगेटिभ आयो । उनी खुसी भए तर आफ्ना २ साथीको फरक रिपोर्ट आएको थाहा पाएका उनको मन मानेन । फेरि पश्चिमाञ्चल अस्पतालको प्रयोगशालामा गएर स्वाब दिए । भोलिपल्ट रिपोर्ट त आयो तर पोजेटिभ ।
प्रदेश स्वास्थ्य निर्देशनालय, आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माले राम्रोसँग स्वाब लिन नजाने कोरोना संक्रमण भए पनि रिपोर्ट नेगेटिभ आउने बताए । उनले भने, ‘बिग्रेका प्रमाणहरु दिनुस् । क्वालिटी निश्चित गर्ने काम एनपिएचएलले गर्छ ।’

व्यवस्थित गर्न अनुरोध गर्दा दादागिरी देखाउँछन् नागिला
स्वाब संकलन र रिपोर्ट वितरणलाई व्यवस्थित गर्न स्थानीय र सोही भवनमा रहेका व्यवसायीले बारम्बार अनुरोध गर्ने गरेका छन् । आफूहरुको अनुरोधलाई बेवास्ता गर्दै एलसिडीका सञ्चालक अमर नागिलाले दादागिरी देखाउने गरेको उनीहरुको गुनासो छ ।
नागिलाले स्थानीयलाई धम्की दिने, प्रहरी बोलाएर कारवाही गर्ने धम्की दिने गरेका छन् । ल्याबले सुरक्षा सतर्कता नअपनाई अरुलाई अमानवीय नबन्न भन्दै नागिलाले इमोसनल ब्लाकमेलिङसमेत गर्ने गरेका छन् ।










