ताजा समाचार

वैशाख ३१ गते २०७६

जनशक्ति र पूर्वाधार बिनै ए ग्रेडको ल्याब

पोखराको न्युरोडमा रहेको लाइफ केयर डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर (एलसिडी)को अघि गण्डकी प्रदेशकै पहिलो ए ग्रेडको प्रयोगशाला लेखिएको छ । २०७४ चैत ५ मा ए ग्रेडको अनुमति पाएको एलसिडीले यसका लागि आवश्यक मापदण्ड भने पूरा गरेको छैन ।

ए समूहका प्रयोगशाला कमसेकम २ हजार वर्ग फिटमा हुनुपर्छ । यस्तै स्याम्पल कलेक्सन, रिसेप्सन, रिर्पो्िटङ कक्ष, क्युसी युनिट, पुस्तकालय, बैठक कक्ष र कार्यालयका लागि पनि आवश्यक ठाउँ पनि उपलब्ध हुनुपर्छ । कमसेकम २४ जना जनशक्ति चाहिने स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिकामा उल्लेख छ । विभिन्न विभाग सञ्चालन गरेको भए हरेक विभागमा सम्बन्धित विषयमा कमसेकम १ स्नातकोत्तर र आधा जनशक्ति स्नातक गरेको हुनुपर्ने प्रावधान छ । १ विभागमा कमसेकम ६ जना जनशक्ति हुनुपर्छ ।

एलसिडीको क्षेत्रफल मुस्किलले १ हजार वर्ग फिट छ । यसलाई प्रमाणपत्र दिएका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. राजकुमार महतोले आवश्यक क्षेत्रफल र जनशक्ति भएको कागजात र फिल्डमा हेरेरै अनुमति दिइएको दाबी गरे ।

हाल जनकपुरमा रहेका उनले भने, ‘सटर भएको पूरै फ्लोर र अन्डर ग्राउन्डसमेत ल्याब रहेको र २४ जना जनशक्तिसमेत देखिएको थियो ।’ डा. महतोले अनुमति लिइसकेपछि ठाउँ अरुलाई भाडामा दिएको हुनसक्ने र फर्जी जनशक्ति देखाएको हुनसक्ने बताए । उनले भने, ‘अब जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्ला । पछि बेइमानी गर्नेलाई कारवाही होला ।’

ल्याबको क्षेत्रफल २ हजार वर्ग फिट र २४ जना कर्मचारीको नक्कली कागजात बुझाएर अनुमति

स्वास्थ्य प्रयोगशालालाई सामान्यतया १ वर्षको अनुमति दिने गरेकोमा डा महतोले एलसिडीलाई ३ वर्षको अनुमति दिएका थिए । एकै पटक ३ वर्षको अनुमति दिनुमा आर्थिक चलखेल भएको जनस्वास्थ्य प्रयोगशालाकै १ कर्मचारी बताउँछन् । काठमाडौं बाहिर वीरगञ्ज र बुटवलका १ १ ल्याबले मात्र ए ग्रेडको अनुमति पाएका छन् ।

एलसिडीले अगाडिका २ सटर र भित्रका केही कोठा प्रयोग गरेको छ । जनस्वास्थ्य प्रयोगशालालाई देखाइएको पछिल्तिरको भागमा अन्य बिजनेस फर्म छन् भने अन्डर ग्राउन्डमा अर्कै स्वास्थ्य संस्था छ ।

नेपालदुत प्रतिनिधि एलसिडीमा पुग्दा ३ कर्मचारीमात्र भेटिए । विभिन्न विज्ञ र चिकित्सकको नेमप्लेट त्यहाँ राखिएको भए पनि उनीहरु त्यहाँ कार्यरत छैनन् । ल्याब सञ्चालक डा. अमर नागिला आफैं पोखरा विश्वविद्यालयका पूर्णकालीन प्राध्यापक हुन् ।

सञ्चालक नागिलाले मापदण्डबारे प्रतिक्रिया दिन मानेनन् । उनले कर्मचारी थोरै र क्षेत्रफल कम भएको भने नकारेनन् । नागिलाले आफनो नकारात्मक पक्ष खोजेको भन्दै चेतावनी र धम्कीपूर्ण भाषामा जेसुकै लेख्न र सके ए ग्रेड हटाउन चुनौती दिए । उनले भने, ‘तपाई सबै कुरा झिक्नोस्, झिकिसकेपछि तपाई पनि यही समाजमा हो, म पनि यही समाजमा हो ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा अनुमति लिएर मापदण्ड पूरा नगर्ने प्रयोगशालामाथि कारवाही हुने बताउँछिन् । उनले भनिन्, ‘म मिति नै त तोक्दिनँ, चाडै नै देशभरका ए र बि क्लासका ल्याब अवलोकन गर्छाैं ।’ २०७४ मा ए ग्रेडको अनुमति पाएको भएपछि २०७५ को अन्त्यसम्म पनि जनस्वास्थ्य प्रयोगशालाले आफ्नो वेबसाइटमा ए ग्रेडको सूचीमा एलसिडीको नाम राखेको थिएन । आवश्यक मापदण्ड पूरा नभएकैले एलसिडीको नाम सार्वजनिक नगरेको त्यो बेला स्रोतले जनायो ।

जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने प्रयोगशालामै यस्तो लापरवाही देखिएको छ । यसको मारमा सर्वसाधारण परेका छन् । उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला मापदण्ड र नियमन गर्ने काम सम्बन्धित निकायले नगरे किन गर्दैनन् भनी आफूहरुले प्रश्न गर्ने दायित्व भएको बताए । उनले भने, ‘मापदण्ड नपुगेका ल्याबका कारण उपभोक्ताको ज्यानैसम्म जान सक्छ । यो गैरकानुनीमात्र होइन, अपराधिक काम हो ।’ ल्याब रोगहरुको निदान गर्ने ठाउँ भएकाले स्थान, विज्ञ, जनशक्ति पुगे नपुगेको र कसरी चलिरहेका छन् भनी नियमन गर्ने दायित्व सम्बन्धित निकायले पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।