प्रिय पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू,
तपाईलाई एउटा पत्र लेख्ने हुट-हुटिले बिगत लामो समय देखि घच-घचाई रहदा पनि लेख्न सकिन। जब म लेख्न सुरु गर्दछु तव तपाईलाई “पुष्पकमल दाहाल” कि “प्रचण्ड” के नामले सम्बोधन गरौ सुरुमै अड्किन्थे। प्रचण्डको नाममा सम्बोधन गरौ भने तपाई जनताले बिगतमा चिनेको, बुझेको र भरोसा गरेको प्रचण्ड रहनु भएन र पुष्पकमल दाहालको नाममा सम्बोधन गरौ त्यो पत्र तपाईलाई नै लेखिएको हो भनेर कसरी थाहा पाउनु हुन्छ किनकी नेपालमा पुष्पकमल दाहाल नाम गरेका सयौ वा हजारौ मानिसहरु छन् र कुन पुष्पकमल दाहाललाई लेखिएको हो अन्यौल भै मेरो पत्र बेवारिसे हुन्छ। त्यसैले मैले तपाईको बिगत र वर्तमानको चिनारीको लागि तपाईको नाम पुष्पकमल दाहालको पछाडी “प्रचण्ड” लेखेको छु, आशा छ मैले लेखेको यो पत्र तपाईको हातसम्म पुग्ने छ । तपाईको नाममा धेरै मानिसहरुलाई अन्यौल भएको हुदा कृपया आफ्नो नामको निर्क्योल गर्नु होला ।
मैले तपाईको नामको निर्क्योल गरिसके पछि पनि मेरो यो पत्र फेरी अगाडी बढन सकेन कारण थियो तपाईलाई के शव्दले अभिवादन गरौ? यदी “लाल सलाम” भनौ भने एकातिर गतिशील समाजमा भएको परिवर्तनबाट म आफु पुरै अनविज्ञ भै जडसुत्रवादी करार हुने डर र अर्को तिर तपाईको पुष्पकमलको व्यक्तित्व रिसाउदछ कि भन्ने डर। “नमस्कार” शव्दले अभिवादन गरौ भने “प्रचण्ड” लाई नमिठो लाग्न सक्दछ किनभने आज तपाई जुन अवस्थामा आईपुग्नु भएको छ त्यो त्यही प्रचण्डको योगदानको राप र तापको परिणामले गर्दा हो । त्यस कारण माफ गर्नुहोला मैले अभिवादन गर्ने सब्द छनौट गर्न सकिन र अभिवादन बिना नै यो पत्र लेख्दै छु। तपाईलाई कुन सब्दले सम्बोधन गर्ने आफै छनोट गर्दिनु होला।
तपाईको नाम र अभिवादनको टुङ्गो लगाउदा लगाउदै फेरी मलाई अर्को समस्या आयो त्यो हो तपाईको ठेगाना। तपाईको वास्तविक ठेगाना कहा हो निर्क्योल नै गर्नै सकिन। मैले धेरै मानिसहरुलाई सोधे, कसैले तपाइको ठेगाना धुम्बाराही हो भने त कसैले पेरिसडाडा हो भने। तपाईलाई खोज्दै धुम्बाराही पनि गए तर त्यता तिरका धेरै मानिसले तपाईलाई चिन्दा रहेनछन । केहि मानिसहरुले त तपाई प्राय प्रधानमन्त्री निवास बालुवाटारमै घुमिरहेको देखिन्छ त्यसैले तेतै तिर होला भने। अझ कसै कसैले त व्यंग गरेर गरिव, निमुखा किसान मजदुरको नेता हो कुनै ठूलो ठेकदारको घर खोज्नुहोस त्यहा पक्का भेट्नुहुन्छ समेत भने। म चखित छु ठेगाना नै नभएर पनि तपाई नेता रहिरहनु भएकोमा । मलाइ आशा छ तपाईले आफ्नो ठेगाना छिट्टै टुंगो लगाउनु हुने छ ।
सकेसम्म तपाईलाई भेटेरै बिन्ति बिसाउन मन थियो तर तपाई सयौ सुरक्षा घेराभित्र आलिसान महलमा बस्ने मानिस, म भूईमान्छे यो सम्भव हुने कुरो भएन।
पत्र त लेख्ने तर पठाउने तपाईको एकिन ठेगाना नै थाहा नभएको हुदा यो खुला पत्र पठाएको छु। हुन त तपाईले पनि आफै पार्टी अधक्ष्य भएको पार्टी सरकार त्यसमा पनि आफ्नै गृह-मंत्री हुदा हालसालै आफ्नै पार्टी कार्यकर्ताको हत्या हुदा जाहेरी दर्ता गरि पाऊ भनि सार्वजनिक बक्तब्य मार्फत कार्वाहीको माग गर्नु भएको देखेर यो खुला पत्र लेखेको छु र मलाई आशा छ तपाईले अन्यथा लिनु हुने छैन।
सकेसम्म तपाईलाई भेटेरै बिन्ति बिसाउन मन थियो तर तपाई सयौ सुरक्षा घेराभित्र आलिसान महलमा बस्ने मानिस, म भूईमान्छे यो सम्भव हुने कुरो भएन। बरु पंचायत कालका राजाहरुलाई भेट्न जति सहज थियो आज तपाईलाई मात्र होईन तपाईले घेरामा राखेका हनुमानहरुलाई भेट्न त्यो भन्दा कयौ गुणा कठिन छ। अत: मैले यो खुला पत्र लेख्नु बाहेक अरु विकल्प नै पाईन। कृपया मेरो बाध्यतालाई बुझि दिनु होला।
मेरो यो पत्र तपाईलाई होच्याउने वा खुईलाउने मनसायले लेखेको होइन। जोसंग मानिसको आशा भरोसा हुन्छ र जसलाई बढि माया हुन्छ प्राय उसैको बढी सम्झना हुन्छ। म अनुमान गर्न सक्दछु आजकल तपाईलाई जनताको सम्झनाले बाडुल्कि लाग्दैन किनकी तपाई यति व्यस्त हुनुहुन्छ कि भुईमान्छे र सामान्य जनताको बारेमा सोच्ने तपाईलाई फुर्सद नै हुदैन होला ।
आजकल तपाईलाई जनताको सम्झनाले बाडुल्की लाग्दैन किनकी तपाई यति व्यस्त हुनुहुन्छ कि भूईमान्छेबारे सोच्ने फुर्सद नै हुदैन ।
मानौ कथमकथाचित भेट भैहाल्यो भने पनि मैले तपाईको भाषा बोल्न जान्दिन किनकि तपाईको यात्रा आजकल सवारी भएको छ, खाना भूजामा रुपान्तरित भएको छ र कोठामा सुत्न छोडेर शयन कक्षमा सुक्ला गर्न थाल्नु भएको छ रे । मैले तपाईलेनै सिकाएकै भाषा बोले भने पनि सायद अब तपाईले पनि बुझ्नु हुदैन होला किनकी तपाईका शव्दकोषबाट दलाल, बर्गीय मुक्ति, विस्तारवाद, नोकरसाह जस्ता शव्दहरु हराई सकेको भान हुन्छ । गोरखपुरको रातो तरवार प्रेसमा छापिने शव्दहरु त सबै बिर्सनु भयो होला। वर्ग अनुसार भाषामा पनि फरक हुदो रहेछ ।
अब अलिकति मेरो व्यक्तिगत चिन्ता र चासोको कुरो लेख्दछु । पहिलो कुरा त सर्वहारा जीवनशैलीबाट राजशी ठाट्मा रुपान्तरण हुन र आफुलाई सोहि अनुसार समायोजन गर्न तपाईलाई कति कठिन भयो होला । दोर्स्रो पक्ष, तपाईको त्यो राजशी जीवनशैली कसरी धान्नु भएको छ? आफ्नो घर-परिवार र नाता सम्वन्धको खर्च-पानीको जोहो गर्न तपाईले धेरै कुराहरु त्याग गर्नु पर्यो । साच्चै भन्नु पर्दा तपाई “त्याग”को प्रर्यावाचीनै बन्नु भएको छ । मलाई विस्वास छ गरिव, मजदुर, किसान र तल्लो वर्गका पार्टी कार्यकर्ताबाट उठाईएको लेवीमा त पक्कै जिउनु भएको छैन होला।
तपाईले जनताको कर तिरोबाट जम्मा भएको सरकारी कोषको दुरुपयोग गर्नु भयो होला भन्ने पनि लाग्दैन। कति मानिसहरु सत्तामा पुगेपछि घर घडेरी मात्र होईन ठुला-ठुला मल, टावर, मेडिकल कलेज, ब्यापार र बिदेशमा समेत रकम जम्मा गर्दछन भन्ने सुनेको छु । कतिले आफु सत्ता र शक्तिमा हुदा आफ्ना छोरी, बुहारी, भान्जा-भान्जी, भतिज, ज्वाई सबैलाई कतै न कतै लाभको पद दिने, नियुक्ति गरि जीविकोपार्जनको ब्यबस्था गर्दछन रे तर तपाईले त् त्यसो पनि गरेको देखिएन । तपाई आफुनै ठेकेदारको घरमा आश्रय लिई रहनु भएको छ । चितवनको एक कठ्ठा जमिन र तिन तोला सुनले मात्र तपाईको भविश्य खै कसरी गुजारा होला? मलाई बारम्वार त्यही चिन्ताले सताई रहन्छ।
चितवनको १ कठ्ठा जमिन र ३ तोला सुनले तपाईको कसरी गुजारा होला ? मलाई बारम्वार त्यही चिन्ताले सताइरहन्छ।
प्रिय पुष्पकमल दहाल (प्रचण्ड),
जनताहरु तपाईलाई अनेकन आरोपहरु लगाउँदा मेरो मन ज्यादै खिन्न हुने गर्दछ। हुन त तपाईको जनतासंग सम्वन्ध टुटिसकेको हुदा जनताको आरोपसंग तपाईको खासै सरोकार र चिन्ता त हुदैन होला। तपाईलाई जनता चाहिने भनेको चुनावको बेलामा मात्र हो र चुनावको लागि जो संग मिल्दा जितिन्छ उसैसंग मिलाउनु हुन्छ नै। अर्को कुरो तपाईको हिजोको हिक्मत, हुती, साहस र चातुर्यता सबै कता हराए? आज तपाई निरह र लाचार भै “ताक परे बालुवाटार नत्र भने कोटेश्वर”को फन्को मार्दैमा जीवन बिताउने हुनु भयो। कहिले काही तपाई ज्यादै निरह भएको महसुस हुदो हो र किरण र विप्लपहरु सम्झने गर्नु हुन्छ र जातीय र वर्गीय मुक्तिको कुरो पनि उठाउनु हुन्छ ।
तपाईले आफै देशको प्रमुख कार्यकारी पद मात्र होईन अरु कसैलाई सो पदमा पुर्याउने हैसियत राख्नु भयो। आफ्नो मान-सम्मान, बैभव, प्रतिष्ठा सबै भोग गर्नु भयो। सत्ता र सक्तिको जलले आफ्ना सबैलाई अभिषेख पनि गर्नु भयो र आवस्यकता अनुसार छिमेकि र पराईलाई समेत आरति उतार्न कतै बाकि राख्नु भएन तर आज आएर तपाई साउनमा फालेको हलो जस्तो देख्दा मलाई खल्लो लाग्दछ। जिवन्त पार्टीलाई बिसर्जनमा पुर्याउनु भयो। आफ्नो सबै श्री-सम्पति साहुलाई रजिस्ट्रेसन पास गरि उनै साहुको घरमा हली बसे जस्तोको स्थितिले कति दिन सुखी र खुशी रहन सकिन्छ?
एक वारको जिन्दगीमा तपाईले नेपालीको औषत उमेरको झन्डै दुई-तिहाई भन्दा बढी उमेर बिताई सक्नु भयो र जीवनका हरेक पाटोहरुको राम्रै अनुभव गर्ने अवसर पनि प्राप्त गर्नु भयो। अब त आफ्ना चाहनाहरुलाई फेरी सामुहिक चाहनामा बदल्न्ने बेला भएन र ? हुन त तपाई भैसी पूजा गरे पनि भौतिकवादी नै हुनुहुन्छ होला र परलोकको डर हुने कुरै भएन तर पनि आत्म-सन्तोषको लागि भने पनि एक पटक आत्म-समिक्षा गरे कसो होला ?
आफ्नो सबै श्रीसम्पति साहुलाई पास गरी उनैको घरमा हली बसे जस्तो स्थितिले कति दिन सुखी र खुशी रहन सकिन्छ ?
तपाईका सार्वजनिक जीवनका सहयात्रीहरु, तपाई बास बसेका झुपडी र बस्तीहरु, आफ्नो गास कटाएर खाना खुवाउने आमा, दिदि-बैनीहरु, तपाई हिडेका गल्ली र घुम्तीहरु, तपाईको सुरक्षाको खातिर जीवन उत्सर्ग गर्ने सहिद र तिनका परिवारहरु सबै सबैलाई चटक्कै बिर्सने त्यो के जादु रहेछ हाम्रो शासन सत्तामा कृपया एक पटक बताई दिनुहोस् न ?
तपाईले काम्लोमा सातु त पोखाई हाल्नु भयो अब जिन्दगी भरि काम्लामा पोखिएको सातु टिप्ने वा काम्लो नै फेर्ने त्यो तपाईकै रोजाई हो। तपाईलाई मास्री चामलको भूजा र भुटेका मकैका ठेला दुबैको स्वाद राम्रो संग थाहा छ। तपाईले नै दिएको चेतना अनुसार जनता नै ईतिहासका निर्माता हुन। आगे आफ्नै जो बिचार।
यो पत्रको उत्तर दिन मन लागे मेरो पुरानै ठेगानामा पठाउनु होला किनकी अहिलेसम्म मैले आफ्नो ठेगाना परिवर्तन गर्ने अवसर नै पाएको छैन।









